शिवसताक्षीको प्राथमिकतामा रिङरोड

३० आश्विन २०७७, शुक्रबार मा प्रकाशित

बिनोद सापकोटा / शिवसताक्षी ।

शिवसताक्षी नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरे अनुसार रिङरोड निर्माणको काम शुरु भएको छ । स्थानीय तहको निर्वाचन भएपछि पञ्चवर्षीय योजना अन्तर्गत रिङरोड निर्माण थालिएको नगरपालिकाको सूचना शाखाले जनाएको हो ।

कतिपय स्थानीयले रिङरोड नगर प्रमुखको महत्वाकांक्षी योजना भनेर टिप्पणी गरेका छन् । नगर प्रमुख चन्द्रकुमार सेर्मासहित नगरका सचेतक समेत रहेका वडा नम्बर २ का अध्यक्ष कुलवहादुर बस्नेतले हरेक नागरिकलाई पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोड्न रिङरोडको अवधारणा पहिलो नगर सभाले सर्बसम्मत निर्णय गरेको बताए ।

शिवसताक्षी नगरका नगर गौरबका धेरै योजनाहरू सञ्चालनमा छन् । ती योजनासँंगै रिङ्गरोड पहिलो प्राथमिकतामा रहेको प्रवक्ता नबीन इजमले पूर्वाञ्चललाई जानकारी दिए । उनले भने– ‘आफ्नै बलबुताले रिङरोड नगर गौरबका योजनाको प्राथमिकतामा रहेको र पाँच वर्षमै पूरा गर्ने छौं ।’

मतदाताका घर–घरमा मत माग्न जाँदा तत्कालीन नेकपा एमालेले नगरपालिकामा रिङरोड निर्माण गरेर ग्रामीण क्षेत्रका कृषि उपजलाई बजारसम्म ल्याएर विक्री वितरण गर्ने घोषणा पत्रमै उल्लेख गरेको थियो । नगर प्रमुख सेर्मा तत्कालीन एमालेबाटै शिवसताक्षी नगरको प्रमुखमा निर्वाचित भएका हुन् ।

धरमपुरबाट शुरू भएको रिङरोडको दूरी जनताबजार हुँदै माईधारसम्म ३९ किलोमिटर छ । त्यसमध्ये ९ किलोमिटर माईधारदेखि धरमपुरसम्मको सडक एशियन हाइवे हो । रिङरोडको धरमपुर–चर्चावारी १५ सय मिटर सडक कालोपत्रे भइसकेको छ । यस्तै नगरले अन्य क्षेत्रमा पनि १ किलोमिटर सडक कालोपत्रे गरेको सूचना अधिकारी प्रकाश चौधरीले बताए । यस्तै, शिवगञ्ज नहर चौकसम्मको ६ किलोमिटर सडक पनि यसअघि नै साविकको जिल्ला विकास समितिले निर्माण गरिसकेको छ । अब नगरमा २२.५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

अबको नगरसभाबाट संघीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि नगरलाई दिने बजेटले बाँकी रहेको सडक कालोपत्रे गर्ने शिवसताक्षी नगरपालिकाको योजना छ । चालू आर्थिक वर्षमा नगरसभाले ६ करोड रुपैयाँ रिङरोड कालोपत्रेका लागि छुट्याएको छ । संघीय सरकारको समपूरक ३ करोड र नगर सभाले स्वीकृत गरेको ३ करोड गरेर ६ करोडको लागतमा सडक कालोपत्रे हुने भएको हो ।

नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले शिवगञ्ज बजारदेखि बोलोचोकसम्मको सडक कालोपत्रे हुने बताए । अब निर्माण हुने कालोपत्रे सडक ८ किलोमिटरको हुनेछ । हालसम्म नगरले रिङरोड बनाउन ६ करोड ७४ लाख रुपैयाँ खर्च गरेको आर्थिक प्रशासन शाखाले जनाएको छ । रिङरोडबाट शिवसताक्षी नगरकार्यपालिकाको कार्यालयमा जोडिन ‘ट्रङ्क रोड’ समेत निर्माण भइसकेको छ । ‘ट्रङ्क रोड’ निर्माणका लागि नगरले ४ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । यो खर्च गत आवको असार मसान्त सम्मको हो ।

रिङरोडमा पर्ने ४९ वटा कल्भर्ट र ४ वटा बक्स कल्भर्ट निर्माण सम्पन्न भएको सूचना अधिकारी चौधरीले जानकारी दिए । यो सँंगै ३ वटा पूल पनि निर्माण भएको छ । रिङरोड निर्माणपछि सबै क्षेत्रका बासिन्दालाई सडक सुविधा पुग्ने स्थानीयले बताए । रिङरोड निर्माणपछि पर्यटकीय गन्तव्यका रुपमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत सहज हुने बताइएको छ ।

उक्त रिङरोडलाई दूधे–शिवगञ्ज, झिल्झिले– महाभारा र धरमपुर–पाँचगाछीको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिने स्थानीयले बताएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ४ का वडा अध्यक्ष अधिकचन ताजपुरियाले रिङरोड निर्माण भएपछि गाँउमा उत्पादित कृषिवस्तु महेन्द्र राजमार्गसँंग जोडिएका ठूला बजारसम्म पु¥याउन सकिने बताए ।

‘रिङरोड निर्माण भएपछि किसानको आयस्तर बढ्ने छ । दक्षिणी गौरादह र गौरीगञ्ज संग सीमाना जोडिएको वडा नम्बर ४ र ५ आदिबासी जनजाति समुदायको बाहुल्य रहेको वडा हो । अधिकाँश वडाका बासिन्दा कृषि पेशामा आवद्ध छन् । उनीहरुले उत्पादन गरेका कृषिबस्तु जिल्लाका ठूला बजारसम्म पुग्यो भने आम्दानी बढ्छ,’– वडाध्यक्ष ताजपुरियाले भने ।

वडा नम्बर ५ का वडाध्यक्ष सत्यनारायण राजबंशीले –‘नगर गौरबका योजनामा नगरमा प्रतिनिधित्व गर्ने वडा अध्यक्ष र कार्यपालिकाका बोर्ड सदस्यको बिमति छैन । शिवसताक्षी नगरपालिकाले नगर गौरवका योजना अन्तर्गत दूधे रंगशाला, झिलझिले बसपार्क, रिङरोड निर्माण, सताक्षीधामदेखि दोमुखा जोड्ने फास्ट ट्रयाक र डुँडामारीको सिमसार क्षेत्रलाई अघि सारेको छ । यी सबै योजना तत्कालीन नेकपा एमालेको निर्वाचन घोषणा पत्रमा समाबेस छन् ।

नगरपालिकाले नगर गौरवका योजना अघि सारेपनि शिवसताक्षी नगरबाटै संघ र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदले भने निर्वाचन पूर्वाधार विकास कोषको रकम खर्च गरेका छैनन् । संघीय सांसद एलपी साँवा लिम्बू, प्रदेश सांसदद्वय हिरा थापा र झलकवहादुर दर्लामी मगरले नगरको गौरवका योजनामा निर्वाचन पूर्वाधार विकास कोषको रकम लगानी नगरेको एक वडाध्यक्षले बताए । उनले भने– ‘माननीय ज्यूहरुले आफंैले सिफारिस गर्ने योजनामा नगर गौरवका योजना छनौटमा परेका छैनन् । नगरले आफ्नै बलबुताले केन्द्र सरकारसंँग समन्वय गरेर बजेट ल्याइरहेको छ । त्यसैले नगर गौरबका योजना सञ्चालनमा छन् ।’ उनका अनुसार माननीयज्यूहरु नगर गौरबका योजनामा ‘चुइँक्क’ बोल्नेवाला छैनन् ।

रिङरोड निर्माण भएपछि यातायातको असुविधाले बसाइँ सरेर गएका कतिपय नगरबासी पुनः फर्किएर आएका छन् । वडा नम्बर ३ र वडा नम्बर २ मा १३ घरपरिवार फर्किएको ३ नम्बर वडाका अध्यक्ष पुण्य सापकोटाले बताए । चार चक्के गाडी नकुदेको ठाँउमा १० चक्के गाडी कुदेको देख्दा गाउँले ख्ुसी भएका छन् । स्थानीय रमा न्यौपाने भन्छिन् ‘सरकारले कामै गर्न सकेन, भ्रष्टाचार मात्र गर्यो भनेर सामाजिक सञ्जालमा टीकाटिप्पणी भएको पाइन्छ ।

शिवसताक्षी नगरको बिकास हेर्ने हो भने सामाजिक सञ्जालमा देखिएको आरोप मिथ्या रहेछ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here