कोरोना संक्रमणका कारण झापामा ४७ जनाको मृत्यु

१७ कार्तिक २०७७, सोमबार मा प्रकाशित

झापा ।

कोरोना संक्रमणका कारण झापामा हालसम्म ४७ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार मृत्यु हुनेमा ८ महिला रहेका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुने मध्ये सबैभन्दा बढी दमक नगरपालिकाका १७ जना रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्षन जीवन चम्लगाईका अनुसार मृत्यु हुने मध्ये भद्रपुर र मेचीनगर नगरपालिकामा ३÷३ जना रहेका छन् ।

त्यस्तै बिर्तामोडमा ६, कनकाईमा ४, गौरादहमा ५, शिवसताक्षीमा ३ जना रहेका छन् । त्यसैगरी कमल गाउँपालिकामा ३ , गौरीगञ्ज र झापा गाउँपालिकामा एक ÷ एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यता झापामा कोरोना संक्रमितको संख्या २ हजार ९५ पुगेको छ । जसमध्ये हालसम्म निको भएर घर फर्किनेको संख्या १३ सय ७ जना रहेको ।

कोरोना संक्रमित मध्ये आठ जना पत्रकार समेत रहेका छन् । पत्रकार महासंघ झापाका सभापति तारामणि सापकोटा सहित आठ पत्रकार संक्रमित भएको नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिए ।

रहिनन् स्वास्थ्यकर्मी लमु

कोरोना संक्रमणकै कारण दमकमा एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ । दमक नगरपालिका वडा नं ८ घर भई हाल विराट मेडिकल कलेज विराटनगरमा कार्यरत ६५ वर्षीया स्टाफ नर्स लमु तामाङको मृत्यु भएको हो । यसअघि उनले दमकको आम्दा अस्पतालमा लामो समय काम गरेकी थिईन् ।

उनको हिजो आइतवार बेलुका ८ बजे उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here