भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदान

१९ माघ २०७७, सोमबार मा प्रकाशित

चितवन, 

भरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि महानगरपालिकाले पाँच विद्यालयलाई बस खरीद गर्न रु एक करोड निकासा समेत गरेको छ ।

महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार चालू आर्थिक वर्षमा पाँच विद्यालयलाई बस किन्न एक विद्यालयलाई रु २० लाखका दरले प्रदान गर्न सम्झौता गरिसकिएको छ । कविलाश, नारायणी नमूना, भीमनगर, प्रभात र लक्ष्मी माध्यामिक विद्यालयलाई बस खरिदका लागि रकम विनियोजन गरिएको हो ।

ती विद्यालयले महानगरपालिकासँग सम्झौता गरी बस खरीदका लागि बोलपत्र आह्वान गरेका छन् । उहाँले भन्नुभयो, “हामीले रु २० लाखका दरले रकम दिने गरी सम्झौता गरेका छांै । अपुग भए विद्यालयले थप्नेछन् ।” भन्सार छुट गर्दा रु २२ लाखको हाराहारीमा बस आउने जनाइएको छ ।

प्रमुख पौडेलका अनुसार वाग्मती प्रदेश सरकारको सहयोगमा हिमालय दण्डपाणि विद्यालयले बस खरिद गरेर गत वर्षबाट सञ्चालनमा ल्याएको छ । यसैगरी आन्तरिक स्रोतबाट जानकी, भानु र प्रेमबस्ति माध्यामिक विद्यालयले पनि बस खरिद गरेर सञ्चालन गर्दै आएका छन् ।

बस सञ्चालनका लागि लाग्ने खर्च विद्यार्थीबाट उठाइँदै आएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले धेरै विद्यार्थी भएका, टाढाबाट आउनुपर्ने र प्राविधिक विषयको पढाइ गर्ने विद्यालयलाई पहिलो चरणमा बस दिइएको जानकारी दिनुभयो ।

यसको प्रभावकारिता हेरेर आउँदो वर्ष थप विद्यालयलाई बस किन्न सहयोग गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “महानगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सहयोग गरिँदै आएको छ ।”छात्राहरुलाई साइकलदेखि विपन्न विद्यार्थीलाई न्यानो कपडासमेत बाँड्दै आएको जनाउँदै उहाँले विद्यार्थीको गुणस्तर वृद्धि गर्नका लागि विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

महानगरभित्र १२३ सामुदायिक र ९७ संस्थागत विद्यालय रहेका छन् । सामुदायिकमा ३५ हजार र संस्थागतमा ४० हजार विद्यार्थी अध्ययनरत रहेका छन् । अधिकांश संस्थागत विद्यालयले विद्यार्थी ओसार्न बस प्रयोग गर्दै आएका छन् । नमूना विद्यालयका रुपमा चिनिएको नारायणी नमूना माविका प्राचार्य पूर्णप्रसाद दवाडी महानगरले शैक्षिक गुणस्तर विकासका लागि आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।

कक्षा १२ सम्म र प्राविधिक तर्फ डिप्लोमा इन्फरमेशन एण्ड टेक्नोलोजीको पढाइ गरेको यस विद्यालयमा दुई हजार ५५८ विद्यार्थी छन् । ती विद्यार्थीमध्ये देवघाट, शिवघाट, लामाटोललगायतका क्षेत्रबाट अभिभावकले बस र चारपाङग्रे साधन (म्याजिक) भाडामा लिएर विद्यार्थी पठाउने गरेका छन् । प्राचार्य दवाडी विद्यालयमा रहेका बौद्धिक अपाङ्ग र सवारीसाधन भाडामा लिएर आउने गरेका विद्यार्थीलाई बसले बोक्ने जानकारी दिनुभयो । विद्यालयमा बौद्धिक अपाङ्ग २९ अध्ययनरत छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here