कर्मचारी नहुँदा भवन निर्माण आयोजनाको काम प्रभावित

0
554

पार्थ मण्डल,
भद्रपुर।

तोकिएको दरबन्दी अनुसारको प्राविधिक कर्मचारी नहुँदा सघन शहरी तथा भवन निर्माण आयोजना झापाको कामकाज प्रभावित बनेको छ ।

साबिक मेची अञ्चलका चार वटा जिल्लामा सञ्चालित योजनाका कामहरूसँगै अनुगमन गर्ने सघन शहरी तथा भवन निर्माण आयोजना झापामा दरबन्दी अनुसारको प्राविधिक कर्मचारी नहुँदा दैनिकी कामकाज प्रभावित बनेको हो । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको आयोजना झापामा एक आयोजना प्रमुख, दुई जना इञ्जिनियर र एक जना सबइञ्जिनियर कार्यरत् रहेका छन् ।

आयोजनाको दरबन्दी अनुसार तीन जना सब–इन्जिनियर र चार जना इञ्जिनियर हुनुपर्ने आयोजना झापाका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए । झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी चार वटा जिल्लामा एक सयभन्दा बढी योजना सञ्चालनमा रहेको छ ।

‘दुई जना इञ्जिनियर र एक जना सब इञ्जिनियर लिएर कता कताको काम हेर्नु कि अनुगमन गर्नु समस्या भइरहेको छ’– आयोजना प्रमुख खतिवडाले भने । उनले भने– ‘त्यसमा पनि एक जना इञ्जिनियर दमक बनिरहेको भ्यु टावर निर्माणमा खटाएका छौँ, एक जना इञ्जिनियर र सब इञ्जिनियरलाई आवश्यक परेको ठाउँका खटाइरहेका छौँ, अनि समस्यासँगै अनुगमनमा आफू दिनरात खटिरहेका छौँ । आयोजना कार्यालय रहेको सदरमुकाम भद्रपुरमै सञ्चालित दुई अर्बको नालासहितको सडक विस्तारको काममा इन्जिनियर खटाउनै समस्या भइरहेको उनले बताए ।

विभागले कम्तीमा दरबन्दी अनुसारको इञ्जिनियर पठाइदिनु प¥यो वा मलाई यहाँबाट सरुवा गरिदिनु प¥यो, कर्मचारी बिनै कसरी काम गर्न सकिन्छ– उनले थपे । ताप्लेजुङ र पाँचथरमा सञ्चालित योजनाको कामहरू हेर्न इन्जिनियर पठाए त्यहाँ गएर फर्किँदा उनीहरूलाई दुई चार दिन त्यसै लागि हाल्ने उनको भनाइ छ । ‘विभागसँग सरुवाको माग राखेपछि दुई जना इन्जिनियर पठाइदिने आश्वासन दिएको छ, तर कहिले पठाउने हो त्यसको भने टुङ्गो लागिसकेको छैन– उनले भने ।

२०७६ साल पुस १८ गतेदेखि आयोजनाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका खतिवडाले चार जिल्लामा अलपत्र छाडिएका १५ वटा योजनाको कामहरूलाई गति दिएको छ । त्यसमा केही योजनाको सम्पन्न भइसकेको छ, भने केही योजनाको काम तीव्र गतिमा भइरहेको उनले बताए ।

भवन, सडक, पुल लगायत योजनाका काममाथि पटक पटक गुणस्तरकै प्रश्न उठ्ने गरेकाले दुई जना ल्याब टेक्निसियनलाई दैनिक ज्यालादारीमा नियुक्ति गरेको उनको भनाई छ । ल्याब टेक्निसियन नियुत्ति गरेपछि पहिलाको भन्दा अहिले कामहरू धेरै सुधार आउन थालेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here