बिर्तामोड।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले बौद्धिक अपाङ्गता भएकी पूर्णिमा गुरुङलाई ह्वीलचेयर प्रदान गरेको छ ।

कनकाई –१ जामुनवारीस्थित सुस्त मनस्थिति सरोकार समाज नेपालको बालआवास गृहमा रहेकी बौद्धिक अपाङ्गता भएकी पूर्णिमा गुरुङलाई इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु बंशल, एडीडर जुनु विमली उप्रेती , वोर्ड मेम्वर लुना वस्नेत ,रेनु गोयल, वर्षा राजभण्डारीलगायतले ह्वीलचेयर प्रदान गरेका थिए ।
ह्वीलचेयरको अभावमा कष्टपूर्ण जीवन गुजार्दै आएकी गुरुङको अवस्थालाई मध्यनजर गर्दै ह्वीलचेयर प्रदान गरिएको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु बंशलले बताइन् । वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीले प्रदान गरेको ह्वीलचेयर हस्तान्तरण गरेको उनले बताइन् ।
नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमलीको आतिथ्यमा भएको कार्यक्रममा सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष भागिरथा चापागाईँ पोखरेलले बौद्धिक अपाङ्गता भएकी गुरुङलाई ह्वीलचेयर प्रदान गरेर इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले ठूलो गुन लगाएको बताइन् ।
२०६८ सालमा सुस्त मनस्थिति सरोकार समाज नेपाल नामक संस्था स्थापना गरेर २०७१ सालदेखि कनकाई नगरपालिकाको कार्यालय नजिकै घर भाडामा लिएर झापा, इलाम , मोरङ , सुनसरी जिल्लाका अत्यन्तै न्यून आय भएका वा अभिभावक नै नभएर वेवारिसे अवस्थाका बौद्धिक अपाङ्गता भएका १६ जना बालबालिकाको स्याहारसुसार गरिँदै आएको उनले बताइन् ।






























