शिशुपाल बध र ओलीका गाली

५ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

महाभारत कथा पूर्वीय दर्शन, समाज, संस्कृति र सभ्यताको अनुपम कृति हो । महाकाव्यको रुपमा महर्षी वेदव्यासले लेखेको यो महाभारत कथाका पात्रमध्ये एक हुन् शिशुपाल । शिशुपाल छेदीका महाराज दमघोषका छोरा अर्थात् युवराज थिए । उनी कृष्णका बाबु बासुदेवकी बहिनीका छोरा अर्थात् भगवान कृष्णका फुपुका छोरा थिए । नाताले भाइ पर्ने शिशुपाल जन्मिँदा तीन वटा आँखा र चार हात लिएर जन्मिए । उनको यस्तो जन्मलाई अस्वभाविक र अद्भूत मानियो ।

उनका माता पिता चिन्तित भए । समाजमा यस्तो बालक देख्दा उनलाई राक्षस भन्लान् र घृणा गर्लान् भनेर चिन्ता गर्दै बालकलाई त्याग गर्ने विचारमा पुगे । यस्तैमा आकाशवाणी भयो । आकाशवाणीमा भनियो एकदिन यस्तो समय आउँछ यस बालकका अतिरिक्त अङ्ग अर्थात् दुई हात र एउटा आँखा गायव हुन्छन् । विधिको विधान अनुसार यो बालक आफन्तभित्रै जसको काखमा बसाउँदा उसका हात र आँखा गायव हुन्छन्, उसकै हातबाट यसको मृत्यु पनि हुन्छ । उसको तेश्रो आँखा र दुई हात गायव गराउनका लागि शिशुपालका आमाबाबु र परिवारहरुले उपाय खोज्न थाले । तब त्यसबेलाको प्रचलन र परम्परा अनुसार ज्योतिषी पनि हेराइयो । ज्योतिषीहरुले पनि आकशवाणीले भनेकै कुरा बताए ।

तब शिशुपालकी आमाले पालैपालो यो बालकलाई आफन्तको काखमा राख्दै गइन् । भगवान कृष्णको काखमा राखेपछि शिशुपालको निधारबीचको तेश्रो आँखा र दुबै हात गायव भए । तब आफ्ना भदालाई फुपुले भनिन्– हे कृष्ण तिमीले मेरो छोरा जो तिम्रो भाइ पनि हो नमार्नु है । फुपुको अनुनय विनयपछि कृष्णले भने हे फुपु तपाईको छोराका सय गाली म सहन्छु । मार्दिन । जब गाली एक सय एक पुग्छ तब उसलाई मैले मृत्युदण्ड दिनै पर्छ ।
छोराको एक सय गाली सहने अभयदान पाएर आमा ढुक्क भएर घर फर्किन् । बालक शिशुपाल हुर्कंदै गए । सानो छँदा उनले कृष्णलाई गाली गर्नु पनि थिएन र गाली गर्नुपर्ने कारण पनि थिएन । जब शिशुपाल ठूलो हुँदै गए तब उनलाई कृष्ण देख्यो कि रिस उठ्न थाल्यो । तब उनी जहाँ–जहाँ कृष्णलाई भेट्थे गाली गरिहाल्थे । फुपु–मामाका छोराहरु भएर नाताले दाजुभाइको सम्बन्ध भएकोले विभिन्न कार्यक्रम, उत्सव, पूजाआजा आदिमा दुबैको भेटघाट भइरहन्थ्यो । जहाँ भेट्यो शिशुपालले कृष्णलाई तथानाम गाली गरिहाल्थे ।

महाभारत कथामै वर्णित पाण्डवहरु जो कृष्णकी अर्की फुपु कुन्तीका छोराहरु थिए । उनीहरुको राज्याभिषेकमा राजसूय यज्ञको आयोजना गरिएको थियो । त्यसको मुख्य आराध्यदेव अर्थात् प्रमुख अतिथि कसलाई बनाउने भन्ने कुराकानी भयो । अन्तिममा भगवान कृष्ण स्वयम् हुँदाहुँदै यज्ञको आराध्यदेव कृष्णलाई बनाउने सहमति भयो । यज्ञको व्यापक तयारी भइरहेको थियो । त्यसैबेला निम्तो मान्न शिशुपाल पनि पुगे । कृष्णलाई यज्ञको आराध्यदेव बनाउने कुरामा उनले असहमति व्यक्त गरे । उनले कृष्णलाई मामुली ग्वालालाई किन यज्ञको प्रमुख अतिथि बनाएर किन सम्मान गर्ने भनेर तथानाम गाली गरे । कृष्णले शिशुपाललाई सम्झाए । तर, शिशुपालका गाली थपिँदै गए । जब गाली एक सय एक भयो तब कृष्णले आफ्नो सुदर्शन चक्रले शिशुपालको हत्या गरे । महाभारत कथाका शिशुपाल नामक पात्रको अन्त्य भयो ।

यस कथाका माध्यमबाट महाभारतले समाजमा अति भयो भने खति हुन्छ । त्यो गर्नुहुँदैन भन्ने शिक्षा दिन्छ भने सहनशील हुनुपर्छ किनकि कृष्णले आफूभन्दा ठूली फुपुको सम्मान गरेर उनको छोराका एक सय गाली सहने बचन दिएर ठूला बडाको सम्मान गर्ने शिक्षा पनि दिए ।

अहिले नेपालमा ओली नामक शासक सत्तासीन छन् । उनको शासन सत्ता तीन बर्षको भएको छ । उनको काम गराई शिशुपालकै जस्तो छ । उनी सत्तामा बसेसँगै आफ्ना सबै भाषणहरु अरुलाई गाली गर्नमै खर्च गर्छन् । पत्रकारहरुलाई गाली गर्नबाट शुरु भएको उनका कटु बचन तुक्कामा होस् या व्यंग्य सबैमा तीखा गालीले भरीभराउ हुन्छ । अहिले उनका गालीका पर्राहरु आफ्नै वर्गका नेताहरुमा लक्षित छ । उनका सय गाली सहने वचन गाली खानेहरुले देशलाई दिएका छन् । देशमा ओलीजीका सय गाली गर्दासम्म सहने । तर, त्यो भन्दा बढी भयो भने अति हुने भएकोले नसहने अवस्था छ ।

अझ पुस ५ गते जन निर्वाचित संस्था प्रतिनिधि सभा विघटन गरेर जनतालाई गाली गरेका ओलीजीले अहिले दैनिकजसो आफ्नै दाजुभाइ अर्थात् पार्टीका आफन्त नै रहेका प्रचण्ड नेपाल पक्षलाई गाली गर्नमै खर्च गरिरहेका छन् । ती गाली पर्रा छुटे झैं दैनिक दुईदेखि तीनवटा देखिन्छन् । शिशुपालले पनि आफ्नै मामाका छोरालाई तथानाम गाली गर्थे । ओलीजीका गाली यसरी नै बढ्दै गएर एक सय एक पुगेका दिन कतै उनको अन्त्य त हुने होइन ।

पंक्तिकार हिंसामा विश्वास गर्दैन । कसैको अस्वभाविक अन्त्य हिंसाबाट मात्र हुने भएकोले त्यो पंक्तिकारको सिद्धान्त विपरीत हो । त्यसैले ओलीजीले आफ्ना गालीलाई नियन्त्रणमा राखेर अब एक सय एक पुग्न दिनु हुँदैन । अझै सय गाली पुगिहालेका छैनन् । त्यसअघि नै सर्वोच्चले गाली गर्ने आधार सच्याओस भन्ने पंक्तिकारको उत्कट चाहना हो । सर्वे भवतु कल्याणम् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here