‘देश र आमा’

७ चैत्र २०७७, शनिबार मा प्रकाशित

नेपाली साहित्य भण्डारमा एउटा अर्को सुन्दर काव्य कृति थपिएको छ । त्यो कृति हो साहित्यकार ‘भगवती ढुङ्गेल’को कविता संग्रह ‘देश र आमा’ । यस कृतिमा ‘आमा’, ‘मेरो देश’, ‘छोरी’, ‘शहर’, ‘निमन्त्रणा’ शीर्षकका कवितासँगै ३९ वटा छोटा–छोटा कविताहरु प्रकाशित छन् । त्यसैगरी ताजपुरिया भाषामा दुईवटा कविता, १० वटा गीत र अन्त्यमा मुक्तक प्रकाशित भएका छन् ।

संग्रहभित्रको ‘मेरो देश’ कविताको केही पंक्ति पढौं ः
‘संसारमा जहाँ गए नि गर्व लाग्ने,
कति सुन्दर छ है मेरो देश,
भेषभुषा जातजाति संस्कृतिले,
सजिएको प्यारो मेरो देश ।’

देशभक्तिले भरिएको कविताको यी लाइनबाटै आंकलन गर्न सकिन्छ कि स्रष्टा ढुंगेलका रचनाहरु कति गहन र स्तरीय छन् ? अनि कृतिमा ताजपुरिया भाषामा दुई कविता समेटिएबाट ढुंगेल विभिन्न स्थानीय भाषाको अध्ययेता भएको प्रमाणित हुन्छ । कृतिभित्रका रचनाहरु काव्यिक गुण, लयात्मकता, सुरिलो ध्वनियुक्त र माधुर्यताले सजिएका रसिला र मीठासपूर्ण छन् । कविता संग्रहका रचनाहरुबारे अग्रज साहित्यकारहरुका उद्गारहरु प्रकाशित छन् ।

‘कविता, कविको विभिन्न घटना, अनुभव र अध्ययनबाट सिर्जित ज्ञानको लयात्मक प्रस्तुति वा अभिव्यक्ति हो । सर्जक ढुंगेलका कविताहरुमा देश र जन्मभूमिप्रति मोह, राष्ट्रभक्तिको भावना, जीवनवादी दृष्टिकोण, ईश्वरप्रतिको आस्था, महिला हिंसा र उत्पीडनप्रति संवेदनशीलता, प्रेमिल भाव र प्राकृतिक सौन्दर्यको सुमधुर चित्रण रहेको पाइन्छ । पृथ्वीनारायण शाहको वीरताको इतिहासदेखि वर्तमान समयमा विश्वलाई आक्रान्त पार्ने कोरोना भाइरससम्मको विषयवस्तुहरु यस संग्रहमा समेटिएका छन् ।

विभिन्न भावभूमिमा रचना गरिएका कविताहरु प्रायः गद्यात्मक शैलीमा रचना गरिएको पाइन्छ । यस संग्रहभित्र रहेका दश वटा गीतहरुमा प्रेमिल भाव, जीवन निस्सारताको भावना र नारीको वेदनालाई समेटिएको पाइन्छ । संग्रहका अन्तिमका मुक्तकहरुले प्रेम वियोग र संयोगको भावनालाई बडो राम्ररी प्रस्तुत गरेका छन् । नेपाली आख्यान विधामा आफ्नो पदचिन्ह छाडिसकेकी उपन्यासकार भगवती ढुंगेलले नेपाली काव्य विधामा पनि पाइला उचाल्नु नेपाली र झापाली काव्य क्षेत्रका सर्जक र अध्येताहरुका लागि गौरवको कुरा हो । साहित्यकार ‘विनोद खनाल’का यी उद्गारबाटै पनि स्रष्टा ढुंगेलका सिर्जनाहरु गहन रहेका जान्न सकिन्छ ।

‘कवि, गीतकार, उपन्यासकार तथा कलाकार भगवती ढुंगेलको देश र आमा कविता संग्रहको पाण्डुलिपी पढिसक्दा यस्तो लाग्यो, देशभक्ति, मातृभक्ति अनि प्रेमका थुँगाहरु उनेर बनाइएको पूmलको माला जुन भाइटीकाको दीन चेलीबेटीले माइतीलाई लगाई दिन्छिन् । त्यस्तै यो बडो मेहनत गरेर उनेको माला सबै पाठकवृन्दका हातहातमा राखी बाँधिदिएर लेखकले ठूलो गुन लगाए जस्तो मलाई लाग्छ । यस संग्रहको नामले नै सम्पूर्ण नेपाल आमाका सन्तानहरुको मन छुन्छ र अन्तरआत्मासम्म देशप्रेमको भाव जागृत गराउँछ । नाकले मुरली बजाउने लोककलाकार तथा लोक साहित्यकार मातृकाप्रसाद संग्रौलाका यी शब्दहरुबाट थाहा हुन्छ कि, स्रष्टा ढुंगेलका रचनाहरुले जीवनजगतका रहस्यहरु र विविध पक्षहरु उजागर गर्दछन् ।

देश र आमा कृतिबारे प्राज्ञ शुभद्रा भट्टराईका विचार निकै मननीय छन्– एउटी महिलाले आफ्ना हजारौँ जिम्मेवारीहरुबाट अनुभूति गरेका भावहरु, भोगाइका प्रवृत्तिहरुलाई भाषा, विम्व, प्रतिकको माध्यमबाट आपूm बाँचेको परिवेश, समाज, गाउँठाउँ, प्रकृति, राष्ट्र र प्रवृत्तिको अध्ययनबाट कलात्मक रुपले आफ्ना मनोभावनाहरु अभिव्यक्त गर्नुभएको छ । एउटी महिलाले समाजका हरेक परिवेश, कर्तव्य, परिवन्ध र परिस्थितिलाई एकापट्टि पन्छाएर पुस्तक प्रकाशन गर्नु भनेको नौ महिना गर्भमा बोकेर सन्तान जन्माउनुभन्दा कम कठिन छैन । त्यसकारण कवि भगवतीले काव्य विधामा कलम चलाउने जुन पहिलो प्रयास गर्नुभएको छ, यो अत्यन्तै सराहनीय विषय छ । बहिनी भगवती ढुंगेल विभिन्न सामाजिक संघ–संस्थामा रही सामाजिक कार्यमा लागेर आपूmले अनुभूति गरेका कुराहरुलाई जस्ताको तस्तै उतार्ने कोशिश गर्नुभएको छ । उहाँ अत्यन्तै ऊर्जाशील बनिरहनुहोस् ।

कुनै पनि विधामा साहित्य सिर्जना गर्नु नै कठिन कार्य हो । उपन्यास, गीत र कवितामा समेत यसरी कमल चलाउनु नेपाली साहित्यकाशमा ठूलो योगदान गर्नु हो । स्रष्टा ढुंगेलबाट बिराट योगदान भएको छ । प्राज्ञ भट्टराईको विचारमा यीनै भावहरु पाइन्छन् । अग्रज साहित्यकारहरुका विचारहरु जस्तै विशेषताका छन् स्रष्टा ढुंगेलका सम्पूर्ण रचनाहरु ।
स्रष्टा ढुंगेल स्वयम्को भनाई चाहिँ के छ त ? मानव जीवन सबैभन्दा महत्वपूर्ण जीवन हो । यही जीवनयात्रासँग जोडिएका अनेकौँ किसिमका कथा व्यथा र भोगाइहरु नै सुन्दर साहित्यको मीठो अध्याय हो । जुन गाउँ समाज हुँदै राष्ट्रको परिवर्तनका लागि प्रस्तुत गरिने कलात्मक शैलीको प्रस्तुति नै कथा, कविता, गीत बन्न पुगेको पाइन्छ । प्रत्येक मान्छेमा आ–आफ्नै प्रकारका कलात्मक विषयहरु धेरै, थोरै रहेकै हुन्छन् । कोही लेखेर प्रस्तुत गर्दछन् भने कोही बोलेर । त्यस्तै कोही चित्र कोरेर आफ्नो कला प्रस्तुत गर्दछन् । प्रस्तुति जुन अवस्थामा गरिए तापनि ती कलाकै रुपमा प्रस्तुत भएका हुन्छन् । त्यसैगरी म भगवती ढुंगेललाई साहित्य जगत्ले एक खुल्ला आकाश प्रदान गरेर एक स्वतन्त्र पन्छी झैं चौतर्फी उडान गर्ने अवसर प्रदान गरेको मान्दछु, जस्तैः म उपन्यासमा बगेँ, कहिले गीतमा गुञ्जीएँ, कहिले कवितामा रमाएँ ।’ स्रष्टा ढुंगेलको भनाई जस्तै रचनाहरु पनि कलाले सजिएका पाइन्छन् ।

बुबा टंकनाथ ढुंगेल, आमा खुमादेवी ढुंगेलका सुपुत्री ओखलढुङ्गा नर्मदेश्वरमा जन्मि हाल बिर्तामोड नगरपालिका वडा नं. १ निवासी भगवती ढुंगेलका यस अघि प्रकाशित कृतिहरु ‘आधा सत्य’ उपन्यास र ‘प्रेमिल’ उपन्यास रहेका छन् भने ‘प्रेमकुण्ड’ उपन्यास प्रकाशोन्मुख रहेको छ । स्रष्टा ढुंगेल एक कुशल गीतकार पनि हुन् । ‘नपिउँ त पिउँ लाग्छ’, ‘मशुशाला बन्यो’, ‘मेरो हृदय’ र ‘हाँसु कसरी’ बोलका गीतहरु रेकर्ड भएका छन् । थुप्रै पुरस्कार र सम्मानहरुबाट पुरस्कृत र सम्मानित कृतिकार ढुंगेल इजरायल, साइप्रस, इजिष्ट, ओमन, कतार र भारत लगायतका देशहरु भ्रमण गरि अनुभवहरु बटुलेकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान)द्वारा प्रकाशित ‘नेपाली बृहत शब्दकोष २०५५’ अनुसार कविता भनेको, ‘कविद्वारा आफ्ना संवेद्य, अनुभूति वा स्पूmर्त भावनालाई छन्द वा लयमा उनिएको साहित्यिक कृति वा रचना, काव्य ।’ गीत भनेको, ‘विशेषतः गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित रचना, गाना, गान ।’ यी सबै परिभाषाले परिपूर्ण छन् उपन्यासकार, गीतकार तथा काव्यकार भगवती ढुंगेलका नयाँ कृति ‘देश र आमा’ ।

पुरु लम्सालको आवरण चित्रकला रहेको वि.सं. २०७७ साउनमा जनक खड्काद्वारा प्रकाशित प्रस्तुत ‘देश र आमा’ कृतिभित्र जीवनका विविध पक्षबारे लेखिएका र देशभक्तिले भरिएका कविताहरु रहेका छन् । त्यस्तै गरी प्रेम र जिन्दगीका गीतहरु रहेका छन् । बौद्धिकता समेत भरिएका सिर्जनाहरु तथा रचनाहरुले पाठकवर्गमा नयाँ सन्देश र चेतना प्रवाह गर्नुका साथै नेपाली साहित्यको काव्य क्षेत्रमा यस कृति निकै गहन स्थान राख्न सफल हुने देखिन्छ । जसले नेपाली भाषाको संरक्षण र विकासमा समेत योगदान गर्ने देखिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here