दुई सेकेन्डको चेतना…

७ चैत्र २०७७, शनिबार मा प्रकाशित

खै किन हो मेरो मनमा केही दिनदेखि धेरै नराम्रा कुरा खेलिरहेको छ । भनौं मलाई गाली गर्लान् नभनौं मनभित्रको बेचैनताले भित्र–भित्र आँधी उठाएको छ । सायद भने भने सबैले मलाई जिस्केको यो भन्लान् वा पागल भन्लान् वा त्यस्तो पनि हुन्छ भन्लान् । नभनौं र केही गलत कदम उठाए भनेपछि बिचरा उसले त भन्दै थियो हामीले बुझेनौं भन्लान् ।
यो समाज नै त्यस्तै छ । अवसरवादीको समाज, महत्वकांक्षीको समाज र परस्परवादीको समाज । बाचुञ्जेल सराप्छन्, पागल भन्छन्, रिसाउँछन्, बैरागी भन्छन् । अनि केही गलत कदम उठाएपछि त्यस्तो गर्नु पहिले हामी थियौं नि हामीसँग परामर्श गर्नु, कुरा सेयर गर्नु, सल्लाह लिनु पथ्र्याे नि भन्छन् । म दोधारमा परेको छु खै भनौं कि नभनौं, कुरा श्यर गरौं कि नगरौं, परामर्श लिउ कि नलिउ ?

आफ्ना मान्यजनलाई वा ठूलालाई सुनाएँ भने ‘जे पायो त्यही नगर÷नभन’ भनी हप्काउलान् । आफ्नो दाजुभाइ वा दिदीबहिनीलाई भन्यो भने ‘त पागल कुरा नगर’ भन्लान् । साथीभाइलाई भन्दा हाँसोमा उडाउलान् भन्ने डर, नबुझ्ने डर, जिस्काउलान् कि भन्ने डर । यो भिडको बीचमा खुलेर हाँस्न आजकल ऐठन हुन थाली सक्यो ।
मेरो हाँसो बिलाउँदै छ, मेरो खुशी रङ्गविहीन भएको महशुस हुन थालेको छ । यस्तो लाग्छ कि मलाई सबैले छाडी सके । मलाई मेरो जन्म हँुदादेखिको छाँयाले पनि साथ छोडे झैं लाग्न थालेको छ । म अदृश्य बने कि जस्तो लाग्न थालेको छ । आखिर मेरो अन्तरहृदयको सम्बन्ध मात्र बाँकी छ कि जस्तो लाग्न थालेको छ ।

हेर–हेर गोधुली साँझले राताम्मे बनाएको आकाश बिस्तारै कालरात्रिमा परिवर्तन हँुदैछ । रातको १० बजे म त्यही अन्धकारमा निस्केर आफ्नो बाटो पहिल्याउन खोज्छु ।

हरेक रात अनकन्टार अँध्यारोमा जुनकिरीको उज्यालोसँगै आशाको दियो बलेको देख्छु । हतार–हतारमा म त्यस दियो भेटाउन दौडिन्छु । चारैतिरको अन्धकारले मलाई थिच्छ, मलाई चपेटामा पार्छ र म एउटा ढुङ्गामा ठेस लागेर लड्न पुग्छु । शिरमा टनटन हुँदै दुख्छ, रिंगटा लागे झं हुन्छ, दाहिने हातमा हलचल गर्दा भारी दुखाई हुन्छ, मेरो दुई केजीको साना हातलाई ७० केजीको विशाल शरीरले थिचेको हुँदा मलाई निकै सकस हुन्छ । शिरबाट रगत अलि–अलि बग्न थाल्छ । मनभित्रको अन्तरद्वन्द्वले मलाई आजित पारिसकेको छ । म पुनश्चः उठ्न खोज्छु र त्यो जुनकिरीको धिपधिपे उज्यालोमा आफ्ना रङ्गिन सपनालाई साकार पार्न सफल बन्छु कि भनी दौडन्छु । अह् जुनकिरी म नजिकै पुग्न लाग्दा फिरफिर गर्दै अन्तै उड्छे । म निराश बन्छु र पुनः नैरश्यतावादी सोचमा डुब्छु ।

आखिर दिनको उज्यालोमा पनि साथ नदिने मेरा आफन्तहरुले, साथीभाइहरु अनि दिदीभाइ दाजुबहिनीहरुसँग मात्र कति निराश बन्नु । हेर त यो सानो फटिचर जुनकिरीले पनि मलाई साथ दिएन । म त प्रकाश खोज्न लाग्दा पनि बिलिन हुँदै गएको पाउँछु । आखिर किन ? म यतिसम्म एक्लो महशुस गरिरहेको छु ? म हार खाँदै गएको छु । मेरो सानो सपना पनि पूरा गर्न ठूला–ठूला अवरोध देख्छु ।

जाउ कता जाउ शिरको दुखाई अझ कम भएको छैन । म कोठामा फर्कन्छु अनि कोठाको बत्ती बालेर उज्यालो छततिर हेर्छु । म त त्यहाँ झुन्डिएको पंखा मात्र देख्दैछु । आहा ! यो निर्जिव पंखालाई त्यहाँ झुन्डिएर बस्न कति मजा आउँदो हो । म भित्र अर्कै मानवको प्रवेश भएको हुनुपर्छ । मलाई त्यहाँ झुन्डिएर बस्न पाए यो मानसिक तनाब त नहुने थियो भन्ने लाग्न थालेको छ ।

निस्सासिएर श्वास फेर्न गाह्रो भए झैं लाग्दैछ । म त एकोहोरो बनी त्यही धरातलमा उभिएको छु । म बाहिर लुगा सुकाउने डोरी लिन जाने सोच गरेँ । अनि हतारमा बाहिर निस्किएँ ।
‘आफ्नो जीवनदेखि किन

लाग्दै छ झर्को
मुटु भारी बनाई बाँच्न
खोज्दैछु अर्को
चुरोटको मजा झैं
लिउ कि म एक सर्को
यो जुनि हाँस्न सकिनँ
लिन्छु म अर्को’

यही गीत गुनगुनाउँदै मैले हतार–हतार डोरी बोकेर भित्र ल्याएर पंखामा झुन्ड्याएँ । आखिर म यसरी निस्सासिनु र एक्लै हुनुमा कसको दोष ? मैले किन एक्लोपन कसैसँग बाड्न सकिनँ ? किन मलाई कसैले साथ दिन चाहेन ? मलाई किन सबैले हाँसोको पात्र बनाए ? मलाई कसैले किन सान्त्वना दिन चाहेन ? आखिर मेरो को रहेछ आफ्नो ?
मेरा समस्याले मात्र मलाई थिचेर यो देहसँग बाँधी राख्न अवश्य सक्दैन । मेरो जीवनको सप्तरङ्गी खुशी र ओठका मुस्कान अब कहिले किन आउन सक्दैन ? म किन आफूलाई सबैको विपरीत पाए झैं लाग्दैछ ? आखिर यो सबै कुरामा दोष कसको हो ?

मैले बिस्तारै पासो बनाएको डोरीलाई एउटा टेबलमा चढेर घाँटीमा हालेँ । एकछिन आँखा चिम्लिएर आफ्नो जीवन सम्झिन थालेँ । मेरो मन डराएको थिएन, आँखाबाट थोपो पश्चतापको आँशु आएको थिएन । घाँटीमा थापेको पासो र मेरो जीवनको सास जानलाई दुई सेकेन्डको मात्र फरक होला । आँखा चिम्लिएर मैले आमा–बाबा सम्झिएँ, परिवार सम्झिएँ, आफन्त सम्झिएँ अनि मेरो कर्म सम्झिएँ ।

मलाई एक किसिमको ऐठन भए जस्तै भयो । मनमा चिसो पसे जस्तै भयो । अनि आँखाबाट तररर… आँशु आयो । म झस्किएँ । बल्ल मलाई होस आए जस्तो भयो । ओहो ! यो के गल्ती गर्न लागेछु मैले । यति ठूलो पाप कसरी गर्न लागे ? मेरो सानो गलत कदमले मेरो परिवारको खुशी किन मास्न लागे ? घाँटी छामे, अहो ! यो के गर्न लागेछु मैले ?
म आफूलाई त्यहाँ झुन्डिएको कल्पना गर्न थाले । मलाई देखेर आमाको मुटु छिया–छिया हुन लागेको पाएँ । कठै मेरो आमा प्रसव पीडामा छट्पटाएको जस्तो सम्झिएँ । बोली सुकेको र निकै बिरक्तिनुभएको सम्झिएँ । म आमाको आशाको केन्द्रबिन्दु थिएँ । आमाले मलाई भन्ने गर्नुहुन्थ्यो– ‘मलाई बुढेसकालमा सहारा दिने र तीर्थ गराउने तेरै आशा लिएको छु बाबु ।’

अर्कातिर बाबा मेरा सपना साकार पारेपछि बुढेसकालमा सुख दिएला भन्ने छोरो झुन्डिएको देखेर मुर्छा परी लड्नु भएको सम्झिएँ । मैले सहज स्थिती उत्पन्न गरिनँ भन्ने लाग्यो र मेरो एउटा गलत कदमले मेरो बाबा–आमाको बिचल्ली भएको पाएँ ।

दिदीबहिनी एकातिर भाइटिकामा निधार खाली हुने प¥यो भनी बिरक्तिएको सम्झिएँ । दाजुभाइको प्रेम सम्झिएँ । साथीभाइहरुको माया सम्झिएँ । यी सबै सम्झनाले मलाई आत्महत्या गर्न रोक्यो । दुई सेकेन्डले मलाई ठूलो हुरीले निभाउन लागेको दियोलाई सानो आशाको त्यान्द्रोले दियो बलिरहन मद्दत जसरी गर्छ त्यसरी नै मेरो जीवनको श्वास सकिन लाग्दा आएको चेतले आत्मा देहबाट टाढिन पाएन ।

म तल ओर्लिएर पश्चातापको आँशु खसाउँदो हुन पुगेँ । आमाको कोखबाट जन्म लिनुअघि मैले नौ महिना मेरो आमालाई कष्ट दिएको थिए । बिचरा कति मानसिक, शारीरिक, आर्थिक तनावको बाबजुत पनि मलाई साहस साथ धैर्यताका साथ जन्म दिनुभयो । मेरो जन्मपश्चात् पनि मलाई लालनपालनमा कुनै कमी आउन नदिन बाबाले गरेको अथक परिश्रम सम्झिएँ । आमा–बाबा सम्झेर म अति भावुक बन्न पुगेछु ।

आत्मग्लानी हुन पुग्यो मलाई अनि आफैंलाई धिक्कारे । कस्तो सस्तो तरिकाले प्राण त्याग्न चाहेको मैले दुई सेकेन्डले मेरो चेत खुल्यो नभए म परलोक पुगिसक्थेँ । अब जीवन नयाँ कलाले बाँच्ने अठोट लिएको छु । दुःखमा सुख खोज्नेछु र पीडामा सहज यात्रा गर्नेछु । तर, म आत्महत्या कदापी गर्ने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here