बिनोद पाण्डे,
चारपाने।

झापाको गौरादहमा आयोजित एक कार्यक्रममा गौरादह बनाउन सामाजिक योगदान गर्नेहरु डिठ्ठा नरबहादुर बस्नेत र देवीप्रसाद काफ्लेलाई मरणोपरान्त नागरिक अभिनन्दन गरिएको छ ।
स्वर्गीय बस्नेतको अभिनन्दन उनकी श्रीमती कमला बस्नेत र स्वर्गीय काफ्लेको अभिन्नदन पत्र उनकी श्रीमती नर्बदा काफ्लेलाई संविधानसभा सदस्य नेता दीपक कार्कीले समर्पण गरेका थिए ।
गौरादह–विराटनगर सम्पर्क समाजको आयोजनामा आयोजित सोही अवसरमा सञ्चालित स्वास्थ्य शिविरमा सयांैले स्वास्थ्य सेवा लिएको आयोजक समितिका संयोजक दिलीप भण्डारीले जानकारी दिए । आइतबार जनता माध्यमिक विद्यालयको प्राङ्गणमा समाजका अध्यक्ष इन्द्र न्यौपानेको अध्यक्षता र प्रदेश १ प्रमुख सोमनाथ प्यासी अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
स्वास्थ्य शिविर सम्पन्न गर्न गौरादह वडा नम्बर १को कार्यालय, शुभलक्ष्मी सहकारी संस्था, नमस्ते बचत तथा ऋण सहकारी, पूर्वनेपाल सहकारी, सप्तकोशी विकास बैंक, एनएमसी सहकारी, न्यूपब्लिक कृषि सहकारी, मेडिम्याक्त अस्पताल, धिमिधिमे युवा क्लव लगायतका संस्थाहरुको भूमिका रहेको थियो ।
गौरादह झापाको पुरानो बजार भए पनि स्वास्थ्य सेवाको हिसावमा अझै पनि सहज वातावरण बनी सकेको छैन् । सामान्य जीवनयापन गर्दै आउनेहरुका लागि समाजले आयोजना गरेको स्वास्थ्य शिविर निकै लाभदायी बनेको सेवाग्राहीहरुले बताएका छन् ।
निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरुको समूहले विधागत स्वास्थ्य जाँच गरेका थिए । शिविरमा जेनरल मेडिसिन तथा मुटुरोग, प्रसूति तथा स्त्री, बाल, शल्यक्रिया, मानसिक तथा नशा, हाडजोर्नी, छाला तथा यौन, नाक, कान, घाँटी, आँखा रोगको परीक्षण गरिएको थियो ।
शिविरमा चश्मा खरिदमा ५० प्रतिशत छुट, दन्त सेवा, न्यूरो सर्जरी, भिडियो एक्स–रे, इसीजी र ल्याव सेवा उपलब्ध गराइएको थियो । स्वास्थ्य शिविरमा १५ सय भन्दा धेरैले स्वास्थ्य सेवा लिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
त्यस अवसरमा प्रमुख अतिथि प्यासी, विशेष अतिथि कार्की, गौरादह नगरपालिकाका प्रमुख रोहित साह, गौरादह नगरपालिका–१का वडाध्यक्ष नगेन्द्र भण्डारी लगायतले बोलेका थिए ।






























