सर्वसत्ताधिकार निम्ति राष्ट्रिय राजनीतिक स्वामित्वको बलि नचढाइयोस्

0
774

उहिले–उहिलेकै लय र छन्दसँग प्रकारान्तरले मिल्दोजुल्दो सत्ताशक्तिको क्रूर दम्भी प्रकोपमा परी जीवन दैनिकीको चालू अवस्था भिमलाउने त्रास कतै र कतै आफूमा निहित स्वार्थ उकासिने आशले जन–समाजलाई ‘चूपचाप बाह«आना–हल्ला गरे चारआना’ उखानको गर्तबाट उक्सिन नदिएको हुन सक्तछ । यो नेपाली मान्छेको वंशानुगत मनोविज्ञान, त्यसबाट पूर्णतः प्रभावित प्रवृत्ति र समय (time)–को सर्बव्यापी स्वभाव पनि हो । र, यस्तै परम्परागत कुल्चाइ भोग्दै आएको नेपाल भूमिमाथि उभिने हरेक ‘सत्ता’–ले भरिसक्के ‘सर्वसत्ता’–को माखेसाङ्लो उपस्थापना गर्न प्रेरित हुनपर्दो हो । त्यसो भए अहिले नेपाललाई जता लगिँदैछ यसलाई अनौठो मान्नुभन्दा पूर्वदीप्ति (flash back)–मा मनन गर्ने हो भने, अनौठो नमान्न र ‘नौलो’नठान्न सकिन्छ ।

वर्तमान नेपाली इतिहासको दुत्कार्य पृष्ठ बनेको राणाकालका शासक श्री ३ हरुमध्ये अधिकांशले आफ्ना आशे–पासे–कराँसेमध्येका चाकरीबाज, चुक्लीबाज, नैतिक चरित्रहीन–स्वाभिमानहीन, पट्टावाल अन्धभक्त, कमाउकान्ते चारित्रिक मनुवाहरुलाई मात्र भारदार–आठपहरियामा दर्ज गरेका हुन्थे र तिनका स्वामी–भक्तिलाई नै स्वामी श्री ३ हरु आफ्नो शासकीय ‘सर्वतोमुखी सफलता’ मान्थे । शासकले देश–दुनियाँका अवस्था–दुरावस्थाका प्रति ध्यान दिने, न्याय–अन्याय र होचो–अर्घेलोको निष्पक्ष निदान गरी समाधान दिने अभिभावकीय कत्र्तव्य निर्वाह गर्नु पर्दछ भन्ने श्री ३ हरूमध्ये कसैलाई पनि जानकारी नै थिएन । यो नेपाली इतिहासको त्यस कालखण्डको वयाननिश्रित तथ्य नै हो ।
राणा शासनकालको एउटा
यस्तो प्रतिनिधि–कथा नै पनि छ :
एउटा कुनै श्री ३ आफ्ना भारदार–आठपहरियाहरूको लावालस्करका साथ राजधानी आसपासको कुनै जंगलमा शिकार खेल्न गएको थियो अरे । त्यहाँ उसका आँखा एउटा काङ्लाङकुङ्लुङ बाङ्गो रूखमा परेछ र भनेछ— ‘हेर त कति सोझो रूख । हाम्रो राज्यमा यस्ता सोझा रूख पनि छन् भने हामीले कति समृद्धि ल्याएका रहेछौं, तिमीहरू नै भन त ।’ भारदारहरूले उछिन्–पाछिन् गर्दै भने— ‘मुनासिब हुकुम भो प्रभु ! प्रभुबाट हुकुम भएपछि पो हाम्रा आँखाले यो रूखलाई उधुमै सोझो देखे । प्रभुका नजर सरह दिव्य दृष्टिशक्ति भएका नजर संसारमा अरु कसैको छैन प्रभु !’…. अर्थात्, अहिले नेपालको कार्यकारी शासकीय शिविर उल्लेखित कथा पुनरावृत्त गर्दै त्यही गन्तव्य तय गर्नतिर लक्षित छ कि भन्ने आधारभूत शंका दैनन्दिन उपस्थापित भइरहेका घटनावलीका दृश्य–परिदृश्यहरूले जन्माइरहेका छन् !
हुन त अशोभनीय आत्मश्लाघी, अहंकारी , छद्मजाली, खुराफाती, सक्कली सामन्ती अवधारणाले निर्देशित, सत्ताधिकारमा जाने शून्य कोशे ढुङ्गोमा उभिएका बेला आफूले अख्तियार गरिराखेको शासकीय राजनीतिक दर्शन अनुकूल कत्र्तव्य निर्वाह गरेर देशलाई समृद्ध र देशवासीलाई सुखी बनाउने किरिया खाई बाचा गर्ने अनि सत्ताधिकार हत्याइसकेपछि त्यही सत्ताधिकारको मातको दुव्र्यसनी बनी दम्भले अन्धाधुन्ध देश र देशवासीका प्रति निस्पृह भई ‘सर्वसत्ता’–को पूर्वाधार तैयारीमा आफू र आफ्ना बाहेक देश–दुनियाँ खौरिने राष्ट्रिय अगुवा नेपालमा मात्र थिए र छन् भन्ने होइन । बीसौं शताब्दीको मध्यकालयता नै दादा इदी अमीन (युगाण्डा), निकोलाई चाउचेस्कु (रुमनियाँ), सद्दाम हुसेन (इराक), परवेज मुसर्रफ (पाकिस्तान)प्रभृत्ति इतिहासका दुर्भाग्यपूर्ण पानामा आकृत छन् । साम्यवादको बर्को ओडेर सर्वसत्ताको अभ्यासमा २४ वर्षसम्म एकलौटी रुमानियाँको राष्ट्रपति पद कब्जा गरी जहानियाँ (?—नेपाली राणा शासक झैं !!) कम्युनिस्ट शासन हाँक्ने चाउचेस्कुको त नामसम्म लिन अहिले कम्यूनिस्ट वंशीय धर्म र आदर्शका प्रति आत्मनिवेदित पंक्तिका महामान्य कमरेडहरु घिनाउँछन् भनिन्छ । अतः विश्व–इतिहासमा पुराना–नयाँ थुप्रै एकाधिपत्य शासन गर्ने पात्रहरु हुँदाहुँदै नेपाली राणा शासकका चरित्र, सोच र शासकीय शैलीलाई प्राथमिकतामा किन ल्याइयो भने त्यो प्रवृत्तिलाई वर्तमान नेपालका कार्यकारी शासकहरूका चलखेलमा ‘सक्कल बमोजिम नक्कल’ पुनरावृत्त हुन गइरहेको त होइन ? भन्ने आधारभूत आशंकाले आकार लिँदै गएको छ । सत्ताशक्तिको पृष्ठपोषणमा विधि–विधान छलेर ऊर्जा थपिइँदै गएका नाङ्गा दृश्यहरुले के बताइरहेका छन् भने— अब सिंहदरवारबाट ‘सिंहमेव जयते’–को राष्ट्रिय नीति–परिचायक नारा नै गर्जेर देशवासीतिर प्रक्षेपण गर्ने दुर्भाग्यका दिन आए पनि देशवासीले कुनै तातोपानी लाउनसक्ने आधार यो वर्तमानले कहीँ–कतै दिने आशा गर्नु व्यर्थ छ । त्यसो त तातोपानीले आगोले जत्ति नै पोल्छ, आगोबाल्न सक्ने त होइन नि !

किनभने-

‘जनता’ कहीँका पनि आफू संगठित हुँदैनन् । तिनलाई सम्बन्धित पार्टीहरूले अवस्था–अवस्थामा संगठित गरी राज्यको अर्घेल्याइँहरू विरुद्ध खबरदारीमा उपयोग गर्नुपर्ने क्षमता राजनीति–शास्त्रकै अपेक्षा हो । तर, नेपाली राजनीतिक पार्टीमा जेठो, वर्तमान संसदीय पार्टीको वरीयतामा दोस्रो ठूलो पार्टी मात्र होइन, देशको इतिहासका स्तुत्य पन्नामा लेखिएका अनेक परिवर्तनकारी घटनामा अग्रणी नेतृत्वदायी पार्टी नेपाली कांग्रेस अहिलेको राजनीतिक अभ्यासको समग्रतामा एउटा बुख्याँचाभन्दा जीवित अवस्थामा आँक्न लायक नै नरहेको यथार्थ लुकाएर लुक्तैन । बुख्याँचा (scarecrow) जो बालीनालीको बचाउ गर्न चराचुरुङ्गी तर्साउने प्रयोजनमा राखिन्छ, तर त्यही बाली खाएर अघाएका चराचुरुङ्गी त्यसकै टाउकोमा बस्छन् र बिस्ट्याउँछन् । उपल्लो नेतृत्वको कलहकै कारण अहिलेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उसले तर्साउनुपर्ने पक्षको छायाँमा, तर्साउन असमर्थ परम्परागत विश्वासको, बुख्याँचा बनेको छ ।

अर्को माओवादी केन्द्र नामक टुट्ता–टुट्ता अब प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’–का निम्ति अंशभाग लागेको टुक्रो मानों प्राइभेट लिमिटेडको रूपमा अस्तित्वमा छ— अस्ति फागुन ११ गते यता ! यो केन्द्र समेत सगोल नेपाल कम्युनिस्ट पार्टी (माओवादी)–ले शासन पद्धतिमा समूल परिवर्तन ल्याउने नाममा २०५१ सालदेखि लगभग ११ वर्ष नारेको जनयुद्धको आतंकी मनोविज्ञानले बिथोलेको जन–भावभूमि सङ्लो पार्न सकेको छैन । त्यति मात्र होइन, परापूर्वकालदेखि नेपाली जनमनले अटुट र स्निग्ध विश्वास गर्दै आएको नेपाली सेनासँग, आफू प्रधानमन्त्रीको शक्तिमा आसीन हुँदा, ‘प्रचण्ड’–ले सिङ जोड्ने दुस्साहस गरेको घटना नेपाली जनताले पटक्कै ठीक मानेका थिएनन् र त्यो घटनाबाट खुद उनी (प्रचण्ड) र उनले नेतृत्व गरेको पार्टीका प्रतिको नकारात्मकताको खाटा नेपाली मन–मस्तिष्कमा मेटिएको छैन । यसबाट पार्टीलाई भएको घाटालाई साख गिर्नुको अर्थमा लिन सकिने अवस्थामा छँदैछ ।
मधेसमार्गी पार्टी–संगठनहरु उनका वृत्तका जन–समाजका सतहमा कतै आलोच्य छैनन्, भलै उनीहरूको भाषा–भूषा र जीवनशैली नेपाली सनातनी मौलिकताको सहधर्मी नहुनुमा देखिने जातीय वैभिन्न्यलाई राजनीतिक र सामाजिक धरातलमा समेत अन्यथा ठान्ने अन्याय हुँदै आएको छ । यसरी जातीय र क्षेत्रीय पूर्वाग्रहको प्रकोप सँधै खप्नुपरे तापनि भर–अभरमा उपयोग हुने अतिरिक्त बाध्यताबाट मुक्त छैनन् मधेसमार्गी पार्टी तथा संगठनहरू । ‘अतिरिक्त बाध्यता’ के मानेमा भने उनले अख्तियार गरिराखेको वृत्त त्यसमा अँटाएका जनमनको अपेक्षाले अनुबन्धित छ उनको राजनीति, जुन स्वाभाविक हो । र, त्यो जन–अपेक्षा पूरा गर्नु उनीहरूको थप अतिरिक्त बाध्यता बोकेका छन् उनीहरूले । यस भनाइका पृष्ठपोषक प्रकरीहरू निकै छन् । त्यसैकारण मधेस–मुद्दा बाहिरका विषयमा मधेसमार्गी पार्टी–संगठनहरूको ताउरमाउन मनग्गे नदेखिनु अन्ततः उनीहरूको रणनीतिक खुम्च्याइ नै हो । जम्मैमा, सोझो भाषाले भन्ने हो भने, मधिसे जात–जातिले पुस्तैनी भोगिआएका राजनीतिक र सामाजिक कोप–भाजनको पीडा शमन गर्ने नै मधेस–राजनीतिको मुख्य लक्ष्य रहिआएको बुझिन्छ भनेर स्पष्ट नभन्नु न्यायसंगत हुँदैन ।

अर्को चर्चामा अस्तित्व स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टीले आँकिरहेको उद्देश्यलाई खोला, नदी, सागर इत्यादि हुँदै महासागरमा समाहित पहाडी झरनाको पानी पुनः झरनामै फर्काउने दुष्प्रयासको संज्ञा दिनु यो वर्तमानमा उपयुक्त नठहर्ला भन्न सन्देह राख्नुपर्ने देखिँदैन । यसबेला संघीय लोकतान्त्रिक गणतन्त्ररूपी नौका विहारलाई निर्विकल्प सुखदायी मानिरहेका विभिन्न पार्टीभित्रको ठुस्काठुस्की–तनाउ र अन्तरपार्टी कलहले सबै वर्गका नेपालीमा असन्तोष मात्र बढाएको छैन, जीवन–दैनिकी दैनन्दिन झनझन कष्टकर बन्दै गएको छ । र, यसरी उत्सर्जित असन्तोषलाई आफ्नो पार्टीको पक्षमा ल्याउन बिर्सिसकेको विगत हुकुमीकालको मशाने सन्नाटासँग जोखेर हिंड्नुमै राप्रपाले अधिक समय खर्चिरहेको देखिन्छ । यस्तो निस्पन्द विकल्पका कुरा युगान्तक परिवर्तनले हाँकिरहेको यो समय–सन्दर्भमा सार्थक प्रभावीरूपमा स्थापित हुन संभव हुने आशा साह«ै झीनो ठहर हुन्छ । यस अर्थमा यो पार्टीले पनि राष्ट्रिय स्तरको निर्णयमा अहम् भूमिका राख्ने कुरा स्वयम् झीनो छ— कतै साक्षीसम्ममा पत्याइए धन्य भन्नुपर्दो हो ।

अतः मोटामोटी उपर्युक्त अवस्थाले वर्तमान राज्यसत्ताका कार्यकारीलाई स्वेच्छाचारी हुने मार्ग प्रशस्त (traffic clear) गरेको हुन सक्तछ, जुन मार्गमा निर्बाध हिंड्न पाउँदा ऊ सर्वसत्ताधारी गन्तव्य तय गर्न समेत प्रेरित होस् । राज्यसत्ताको कार्यकारीले स्वेच्छाचारी हुन पाएपछि त्यो हैसियत बँचाइ राख्न बाह्य शक्तिको चलखेलले सहाराको रूपमा स्वागत पाउनु ठूलो आश्चर्यको विषय नै होइन । यसै पनि नेपाल ठूल्ठूला छिमेकी देशका भूगोलले बाँधिएको ‘मध्यवर्ती राज्य’ (buffer state) त हुँदै हो भने सहयोगापेक्षु अवस्थाबाट स्वावलम्बी नबनेसम्म धनी राष्ट्रहरुका प्रभावबाट मुक्त पनि छैन । यस्तो अक्करिलो भू–राजनीतिका अतिरिक्त थप आफ्नो गरिबी र पछौटेपनले दपेटेको निउँमा देशको कार्यकारी अख्तियारशालीले सर्बसत्ताको स्वाद र स्वार्थमा मोहित हुँदा नै राजनीतिक स्वामित्वको सवाल अन्योलग्रस्त भएका घटना अनेक छन् । अहिले देशभक्त नेपालीमा त्यस्तो अनपेक्षित भविष्यको चिन्ता टुसाउन थालेको छ । चेतना भया ।….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here