जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र झापाले होली पर्व भीडभाडरहीत मनाउन निर्देशन दिएको छ । सांस्कृतिक पर्व होली तराईको ठूलो पर्वमध्ये एक हो । तर, पछिल्लो समय होली सांस्कृतिकभन्दा बढी अनुकरण, उच्छृंखल बन्दै सामाजिक मर्यादा उल्लंघन गर्ने अवसरका रुपमा स्थापित हुन थालेको छ । यसको सांस्कृतिक पक्ष र महत्वसँग अनभिज्ञ नयाँ पुस्ताले यसलाई मनोरञ्जन र मर्यादाको सीमाबाट मुक्त, स्वच्छन्द र भद्दा प्रदर्शनको विषय बनाउन थालेको छ । यद्यपि प्रत्येक होली पर्वअघि स्थानीय प्रशासनले मर्यादा उल्लंघन नगर्न सचेत गर्ने गरेको छ, तर यसकै निहुँमा वादविवाद मात्र होइन हिंसात्मक गतिविधि पनि हुने गरेका छन् । तर, यसपटकको परिवेश र परिस्थिति भिन्न छ अर्थात् एक वर्षअघि वैश्विक महामारी कोभिड–१९ को कारण सरकारले बन्दाबन्दी घोषणा गर्दै अकाल मृत्युको जोखिमबाट मुक्त रहन, स्वास्थ्य मापदण्डको पालना गर्न प्रहरी नै परिचालन गरेको थियो ।

विगत एक वर्षदेखिको आतंक केही मत्थर हुँदै जाँदा नेपाली जीवन लयमा फर्किन थालेको थियो । लामो समयदेखि बन्द रहेको औद्योगिक, शैक्षिक, व्यवसायिक तथा व्यापारिक प्रतिष्ठानहरु सुचारु पनि भएका छन् । स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्यविद्हरुले जोखिम निर्मूल भएको नठान्न चेतावनी दिँदादिँदै पनि सरकारले नै मापदण्डको अवज्ञा गर्दै ठूला–ठूला सभा सम्मेलन र भेलाको आयोजना गर्न थालेपछि आम नागरिकको बुझाइमा कोभिड–१९ निर्मूल भयो । प्रत्येक दिन घट्दै गएको संक्रमणको तथ्यांकले पनि अब कोभिड–१९ को त्रासदी सकिएको देखाउँदै थियो । तर, यही समय छिमेकी देश भारतमा कोभिड–१९ को दोस्रो लहर शुरु भएको छ । दुई महिनाअघि कूल संक्रमित दश हजारमा झरेको भारतमा अहिले झन्डै पचास हजार दैनिक संक्रमित हुन थालेका छन् । त्यसकै कारण भारतका केही राज्यको सीमावर्ती क्षेत्रमा आवागमनमा कडाइ गर्न थालिएको छ ।
भारतको बढ्दो संक्रमणबाट डराइहाल्नु पर्ने अवस्था नभए पनि सजग र सचेत रहन भने जरुरी छ । किनकि घट्दो संक्रमणको दर फेरि उकालो चढ्न थालेको छ । हात धुने, मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने अवस्थाप्रति बेखबर बन्नु प्रत्युत्पादक हुन्छ । हाम्रो असावधानीले आफू मात्र होइन समाज, समाजको जीवन, जनजीविका र देशको अर्थतन्त्र थप प्रभावित बन्न सक्छ । त्यसैले सार्वजनिक स्थल, सभा–समारोह, भीडभाड हुने कुनै पनि प्रकारका गतिविधिहरुलाई बन्देज लगाउनु पर्दछ । जनस्वास्थ्यको मापदण्ड पहिले आफ्ना लागि हो, त्यसपछि परिवार, समाज र राष्ट्रका निम्ति भन्ने हेक्का राख्ने हो भने कोभिड–१९ र यसबाहेकका विपदाहरुबाट मुक्त हुन सकिन्छ । सानो लापरवाहीले संक्रमण अनियन्त्रित हुनसक्छ त्यसैले जिल्ला प्रशासनको निर्देशनको कडाइका साथ पालना गरौं, निगरानी र नियन्त्रण गर्नेतर्फ सजग रहौं ।



























