जनस्वास्थ्यमाथि खेलबाड नगर

0
990

मानवसिर्जित वायु प्रदूषणका कारण विश्वमा कूल मृत्युको दुई तिहाई मृत्यु हुने गरेको एक अनुसन्धानले देखाएको छ । वायु प्रदूषणबाट उत्पन्न समस्याको असरमध्ये मानवसिर्जित प्रदूषणले निम्त्याएको यो अवस्था मानिसकै चेतना र सकारात्मक प्रयासले मात्रै कम गर्न सक्छ । यसबेला विश्वव्यापीरुपमा बढ्दै गरेको वायु प्रदूषण धुमधामभन्दा पनि खतरनाक रहेको अनुसन्धाताहरुले औंल्याएका छन् । वायु प्रदूषणको असर विश्वभरि नै पर्ने भएकाले कुनै अवरोधले नछेकिने यो समस्याको न्यूनीकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट अग्रसरता देखाउनै पर्छ । वायु प्रदूषणको असर रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका र वृद्धवृद्धामा बढी पर्ने भएकाले यसलाई कम गर्नुपर्ने चुनौति थपिएको छ ।

प्रदुषणका कारण विभिन्न रोग लागेर मृत्यु हुनेमध्ये पचहत्तर प्रतिशत मानिस ६० वर्षभन्दा माथि छन् । बालबालिकाको समस्या पनि त्यस्तै छ । वायु प्रदूषणले फोक्सो र मुटुमा समस्या ल्याउने र क्यान्सर, मस्तिष्कघात, छाला सम्बन्धी रोग निम्त्याउने विज्ञहरुको भनाइ छ । यसबेला मानवसिर्जित अनेक भौतिक संरचना, उपलब्धी र खोजको परीक्षण, प्रयोग तथा दुरुपयोगले वातावरण असन्तुलित मात्र प्रतिकूल बन्दै गइरहेको छ । कोभिड–१९ को महामारीसँग लडिरहेको विश्वका सामू वातावरणीय प्रदूषण अर्को समस्या र पीडा भएर उभिएको छ । अदृष्य वायु प्रदूषणले काठमाडौं लगायत देशभरको जनजीवन कष्टकर बनाएको छ । गत शुक्रबार काठमाडौंको वायुको गुणस्तर विश्वको सबभन्दा खराब देखाएको थियो ।

जल तथा मौसम विभागले देशका अधिकांश भागलाई केही दिनदेखि तुँवालोले ढाकेको र यो अवस्था अझै केही दिन रहने जनाएको छ । वातावरणमा उत्पन्न यो प्रदूषणले श्वासप्रश्वासमा, आँखामा मुटुमा समस्या ल्याउने भन्दै स्वास्थ्यविद्हरुले बाहिर ननिस्कन सुझाएका छन् । वातावरणविद् समेतको सुझावलाई मध्यनजर गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २० गतेसम्म बालबालिकादेखि धेरै हुने ठाउँलाई जोखिमयुक्त भन्दै शिक्षण संस्था बन्दै गर्ने निर्णय ग¥यो । तर, झापा लगायतका केही जिल्ला र केही पालिकाहरुले आफ्नो क्षेत्रमा वातावरणीय प्रदूषण नरहेको दाबी गर्दै सरकारको निर्देशनको अवज्ञा गरे । जानकारहरुले हावा आउँदा र ठूलै पानी पर्दा मात्रै विद्यमान प्रदूषण हट्ने बताइरहँदा पालिकाले माथिल्लो निकायको आदेशको पालना नगरेर अराजकतालाई ‘मलजल’ गरेको टिप्पणी भएको छ । जिल्ला प्रशासन र सम्बद्ध माथिल्लो तहको निर्देशन समेत अवज्ञा गर्ने वैज्ञानिक, कानूनी र नैतिक आधार नै नभएका स्थानीय र प्रदेश सरकारले प्रदूषणको स्तर मापन गर्ने विज्ञ र उपकरण कहिलेदेखि व्यवस्थापन गरे खोजीको विषय भएको छ । माथिको आदेश मान्नु नपर्ने स्वायत्तताले कुनै दुर्घटना ननिम्तियोस् यसतर्फ सजगताको खाँचो छ । देश डढेलो, सवारी र कारखानाबाट निस्किने धुँवा र धुलोले वातावरणीय संकट व्यहोरिरहेको छ । यसको प्रत्यक्ष असर जनताको स्वास्थ्य र जीवनसँग पर्ने भएकाले सुझबुझपूर्ण निर्णय गर्नु स्थानीय सरकारको दायित्व हुनुपर्छ । ‘म नै सरकार हुँ र सम्पूर्ण हुँ’ भन्ने दम्भले सम्भावित दुर्घटनालाई टार्न नसक्ने हुँदा सम्बद्ध निकाय गम्भीर हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here