सिद्धान्तहीन राजनीति र दिशाविहीन युवा

0
1430

हरेक चीजको एउटा आफ्नै निश्चित सिद्धान्त र नियम हुन्छ । जुन सिद्धान्त र नियमको परिधिभित्र रहेर यो ब्रम्हाण्ड, प्रकृति, वनस्पति र यस धर्तीका सजीव प्राणीहरूले आफ्नो दैनिक गतिविधि सञ्चालन गर्दै, आफूलाई थप उन्नत र विकसित रुप दिन हरसम्भव प्रयत्नशील रहँदै आएका छन् । किनकि यो नै स्वभाविक प्रक्रिया पनि हो । तर, जसले आफूलाई प्राकृतिक नियमभन्दा बाहिर रहेर आफ्नो गतिविधि सञ्चालन गर्ने कोशिस गर्छ, उसको अन्त्य पनि त्यहीँ रुपमा अत्यन्त दर्दनाक र कारूणिक ढंगबाट हुने गर्छ ।

खासगरी यो ब्रम्हाण्डका सजीव प्राणीमध्ये मानव जातिभित्र अहिले विकास भइरहेको अत्यन्त निर्लज्ज व्यक्तिवादी र स्वार्थ केन्द्रित सोच र व्यवहारले यो धर्तीको सबैभन्दा ‘विवेकशील र सचेत प्राणी’को विशाल परिचयलाई नै खुम्च्याउने कार्य स्वयम् मानव जातिबाट नै भइरहेको छ । यसरी जुन व्यक्ति वा समाजले आफू जस्तै अर्को व्यक्ति र समाज पनि छ र हामी सबैको आवश्यकता र अभावको पीडा पनि उस्तै हो’ भन्ने कुरालाई हृदयंगमन नगरी ‘मै खाऊँ, मै लाऊँ र मै मात्र बाँचु’ भन्ने तरिकाबाट सोच्न थाल्छ भने त्यो व्यक्ति वा समाजको पतन ढिलो–चाँडो निश्चित छ । आज नेपालका ठूला राजनीतिक दल र तिनका नेताहरू यहीँ दर्दनाक र कारूणिक पतनको यात्रामा होमिएका छन् ।

‘राजनीति भनेको पेसा नभई सेवा हो’ भन्ने सामान्य ज्ञानको समेत हेक्का राख्न नसक्दा आज नेपालको राजनीति अत्यन्त सिद्धान्तहीन रुपमा शक्ति आर्जन गर्ने पेसामा परिणत हुन पुगेको छ । जब देशको विकास र कानून बनाउने राजनीति नै यसरी सौदाबाजी गर्ने थलो बनेपछि, त्यस राजनीति र प्रणालीले जनताको आधारभूत आवश्यकताको परिपूर्ति गर्दै, देश र समाजलाई उन्नति र प्रगतिको बाटोतर्फ उन्मुख गराउँछ भनेर सोच्नु आफ्नो मस्तिष्कले आफैंलाई धोका दिनु हो ।

पार्टी संगठनको जन्म देश, काल, समय, परिस्थिति र आवश्यकताले हुने गर्छ । र, त्यस पार्टी संगठनको जन्मसँगै उनीहरूको एउटा निश्चित सिद्धान्त र लक्ष्य पनि रहेको हुन्छ । त्यो लक्ष्य र सिद्धान्त भनेको एउटा सही विचारको धरातलमा उभिएर देशको समृद्धिमा कायापलट गर्नु नै हो । तर, आज नेपालका खास ठूला राजनीतिक पार्टीहरूको उद्देश्य चुनाव जित्नु र देशको शासन सत्तामा रजाइँ गर्नु बाहेक अरू खासै केही देखिँदैन । जसका कारण आज के कांग्रेस, के कम्युनिस्ट, के राप्रपा, जोसुकैसँग पनि चुनाव जित्नका लागि साँठगाँठ गर्ने गरिन्छ । यस्तो अप्राकृतिक साँठगाँठले व्यक्ति होस् वा पार्टी, जसलाई पनि सिद्धान्त च्यूत गराउँदै आफ्नो स्वार्थको निम्ति सम्झौतापरस्त नीति अवलम्बन गर्न नै बढी मद्दत गर्ने काम गर्छ । सिद्धान्तहीन राजनीतिको दुष्परिणामहरू समाजमा कुन रुपमा प्रकट हुन्छन् भन्ने कुरा अहिले नेपाली राजनीतिमा छरपस्ट देखिएका छन् ।

एउटा सही सिद्धान्तको अभावमा मानिसले आफ्नो सही लक्ष्य निर्धारण गर्न सक्दैन । यदि जीवनमा कुनै लक्ष्य नलिने र त्यसलाई प्राप्त गर्न संकल्प नगर्ने हो भने निश्चित छ जीवन दिशाविहीन बन्नेछ । दिशा विहीनताले मानिसलाई कता पु¥याउँछ ? अहिले यसै भन्न सकिँदैन । आज हाम्रो नेपाली राजनीतिमा जुन प्रकारको गैरजिम्मेवार र भ्रष्ट प्रवृत्ति मौलाउँदै गइरहेको छ र जिम्मेवार निकायमा बसेका नेताहरूले जन चाहनाविरुद्ध राजनीतिको रङ्ग दिएर जुन प्रकारको अनैतिक र अस्वाभाविक गतिविधि गरिरहेका छन्, जसका कारण देशका कर्णधार युवाशक्तिहरूको मनमा फेरि अन्यौलता, अनिश्चितता र दिशा विहीनताले घर जमाउने खतरा बढेर गएको छ ।

किनकि जोश, जाँगर र उत्साहले भरिएको एउटा युवाको जिम्मेवारी केवल आफ्नो व्यक्तिगत जीवन धान्ने मात्र हुँदैन । ऊ सँग आफ्नो व्यक्तिगत जीवन र परिवार हुँदै, समाजलाई गतिशील बनाउन र अग्रगामी परिवर्तनको आकांक्षालाई लक्ष्यसम्म पु¥याउने समेत अभिभारा रहेको हुन्छ । यस्तो एउटा ऐतिहासिक जिम्मेवारी बोकेको युवा शक्तिलाई राजनीतिक नेतृत्व तहमा बस्ने नेताहरूले आफू सत्तामा चढ्ने भ¥याङको रुपमा मात्र प्रयोग गर्नाले, युवाहरूमा भविष्यप्रति निराशा र आफ्नै जीवनप्रति वैराग जाग्न थालेको देखिन्छ । तसर्थ, आज कतिपय ऊर्जावान युवाशक्तिहरू दिशाहीनता र गन्तव्यविहीन भएर कुलतको सहारा समेत लिन पुगिरहेका छन् । यो मूलतः राजनीतिक नेतृत्वको कुकर्मको फल र युवाहरूमा समेत विद्यमान देखिएको वैचारिक संकटकै परिणाम हो ।

त्यसैले आज संख्यामा थोरै होला, तर सचेत युवाशक्तिहरूले समाजमा झन् धेरै जिम्मेवारी वहन गर्नैपर्ने अवस्था आइलागेको छ । ती जिम्मेवारीहरू मध्ये वैचारिक स्पष्टताको अभावमा दिशाविहीन भई एउटा राजनीतिक (बधुँवा) मजदुरको रुपमा परिणत हुन पुगेका युवाहरूको बीचमा व्यापक वैचारिक अभियान सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

यसरी वैचारिक जागरण अभियान सँगसँगै आर्थिक समानता, सामाजिक न्याय र रुढीबादी अन्धविश्वासमा आधारित कयौं सांस्कृतिक परिवर्तनहरूको पहलकद्मी लिनु वा जिम्मा लिनु नै आजका २१औं शताब्दीका सचेत युवाहरूको मुख्य जिम्मेवारी हो । यदि यो ऐतिहासिक जिम्मेवारीबाट भाग्ने र वहन नगर्ने हो भने एउटा युवा हुनुको नाताले यो समाजका सचेत युवाहरूलाई भोलि आउने पिँढीले धिक्कार्ने छन् ।

(रोशन : भविष्यप्रति आशावादी बन्दै, क्षितिजपारी रहेको समृद्धि र समानताको ढोका एकदिन अवस्य खोल्ने संकल्पसहित, अहिले अटो (टेम्पो) चालकको रुपमा नेपालको सुदुर पूर्वमा कार्यरत छन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here