झापा।

झापामा हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत आमऔषधि वितरण कार्यक्रम सञ्चालन हुने भएको छ । अभियानका लागि जनस्वास्थ्य कार्यालय झापाले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
चैत्र २० गतेदेखि चैत्र मसान्तसम्म झापाका १५ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी पूरा गरेको बुधवार बिर्तामोडमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै जानकारी दिइएको हो । औषधि वितरण अभियानका लागि जिल्लामा ६ सय जना स्वयम्सेवक र ६ जना स्वास्थ्यकर्मी परिचालन गर्ने जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन (कार्यक्रम संयोजक) जीवन चम्लागाँईले जानकारी दिए ।
झापामा रहेका ९ लाख ३३ हजार ७ सय ७८ जनसंख्यामध्ये ८ लाख ४ हजार ५७ जनालाई औषधि खुवाइने कार्यक्रम रहेको संयोजक चम्लागाँईले बताए । झापामा आर्थिक बर्ष २०७६मा ५ सय ५४ जना हात्तीपाइलेका रोगी भेटिएको उनले बताए । ती मध्ये हाइड्रोसिल भएका ३ सय ७२ जना, हात र स्तनमा भएका १ सय १० जना र खुट्टा सुन्निएका ७२ जना भेटिएका कार्यक्रम संयोजक चम्लागाँईले बताए ।
कार्यक्रमको उद्देश्य तथा औचित्यमाथि स्वास्थ्य कार्यालय झापाका कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेलले प्रकाश पारेका थिए । उनले १०आंै चरणको हात्तीपाइले औषधि वितरण अभियान भएको बताउँदै नेपाल सरकारले सन् २०२६ सम्ममा निवारण गर्ने उद्देश्य राखेको बताए । क्यान्सरभन्दा घातक रोग हात्तीपाइले भएकाले सवैले औषधि खानु पर्नेमा उनले जोड दिए । हात्तीपाइलेले अशक्त, असमर्थ तथा अपाङ्गता बनाउने, रोग लागेको व्यक्ति सामाजिक तिरस्कारमा पर्ने भएकाले पनि औषधि सेवन गर्नुपर्ने उनले बताए ।
हात्तीपाइले एक प्रकारको परजिवी जुकाबाट हुने र लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । हात्तीपाइले रोगको औषधि नगरपालिका तथा गाउँपालिकाका सवै वडाहरु, स्वास्थ्य संस्थाहरु तथा टोलटोलमा सञ्चालन हुने जनाइएको छ । दुई बर्षमुनिका बालबालिका, गर्भवती तथा ७ दिनसम्मका सुत्केरी बाहेक सवैले औषधि खाना मिल्ने बताइएको छ ।































