बस्नेत जग्गा प्रकरण :१० पक्राउ, ६ जना फरार

१० बैशाख २०७८, शुक्रबार मा प्रकाशित

झापा।

तीन वर्षदेखि योजना बनाएर बिर्तामोडका टुङ्गबहादुर बस्नेतको नामको करोडौँ मूल्य पर्ने जग्गा अधिकृत वारेसनामासहित किर्ते कागजात बनाएर बिक्री गरेको आरोपमा झापा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न ६ जना अझै फरार रहेको प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

उनीहरूलाई प्रहरी कार्यालय झापाले बिहीबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वारेसनामा आफ्नो नाममा ल्याउने बाह्रदशी गाउँपालिका–३, हाल बिर्तामोड–२ चैतुवारी बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशी, नक्कली जग्गाधनी बनेका बिर्तामोड–१० हाल कोटीहोम सुरुङ्गामा बस्ने ७१ वर्षीय देवीप्रसाद पाण्डे, जग्गा खरिद गर्ने बिर्तामोड नगरपालिका–४ बस्ने ३३ बर्षीया रञ्जु राई, उनका श्रीमान् दोभान कन्स्ट्रक्सन कम्पनी बिर्तामोडका सञ्चालक ३४ वर्षीय गोविन्द बान्तवा (मिलन), नापी कार्यालयका पूर्व कर्मचारी तथा नमस्ते होटेल चन्द्रगढीका सञ्चालक भद्रपुर–७ बस्ने ५२ वर्षीय नवीन कोइराला, बाह्रदशी गाउँपालिका–५ बस्ने ५० वर्षीय लीलाधर राजवंशी, भोजपुर जिल्ला तिवारी भञ्ज्याङ्ग–२ हाल गौरीगञ्ज गाउँपालिका–१ बस्ने ३७ वर्षीय बलराम विश्वकर्मा (सुशील), नेपाल विद्युत् प्राधिकरण फिक्कल शाखाका कर्मचारी शिवसताक्षी नगरपालिका–८ बस्ने ४२ वर्षीय भूपदेव कटुवाल, बिर्तामोडका ट्याक्टर शोरुम सञ्चालक तथा जग्गा किनबेच गर्ने अजर्नुधारा नगरपालिका–५ बस्ने ५३ वर्षीय लेखनाथ खनाल र मोरङ जिल्ला उर्लाबारी–४ बस्ने ४८ वर्षीय राजन विश्वकर्मा रहेको डीएसपी थापाले जानकारी दिए । उनीहरूलाई विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ गरी ठगी, सरकारी छाप दस्तखत किर्ते, आपराधिक लाभ तथा सङ्गठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।

जग्गा हडप्ने योजनामा कसको भूमिका के ?

बस्नेतबाट वारेसनामा जारी गरेका मङ्गलसिंह राजवंशीले बलराम विश्वकर्मा र लीलाधर राजवंशीसँग मिलेर सुरुङ्गाको कोटीहोमस्थित धर्मशालामा बसोबास गर्ने ७१ वर्षीय देवीप्रसाद पाण्डेलाई पाँच लाख रुपैयाँ दिने प्रलोभन देखाई नक्कली टुङ्गबहादुर बस्नेतको रुपमा खडा गराएको साथै राजवंशीलाई धर्मपुत्रको रुपमा भूमिका खेलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि नक्कली टुङ्गबहादुर बस्नेतबाट काठमाडौँ जिल्ला अदालतमा जग्गा बेचबिखन गर्न पाउने गरी अधिकृत वारेसनामा लिई सो जग्गा रञ्जु राईको नाममा मालपोत कार्यालय झापाबाट राजीनामा पास गराएको डीएसपी थापाले बताए ।

त्यस्तै नक्कली जग्गाधनी (टुङ्गबहादुर बस्नेत) बनेका देवीप्रसाद पाण्डेले मङ्गलसिंह राजवंशीलाई अधिकृत वारेसनामा बनाइदिन भूमिकामा खेलेका थिए । जग्गा खरिद गर्ने रञ्जु राईले श्रीमान् गोविन्द बान्तवा लगायत अन्य योजनाकारहरूको सहमतिमा बस्नेतको जग्गा राजवंशीले पाएको अधिकृत वारेसनामामार्फत बेचबिखन गर्न असहज हुने देखिएकोले उनको नाममा राजीनामा पास गराएको अनुसन्धानबाट खुलेको डीएसपी थापाले बताए ।

त्यसैगरी बान्तवाले उनकी श्रीमती रञ्जुको नाममा राजीनामा पास गराउन भूमिका खेल्नुका साथै योजनालाई सफल बनाउन आवश्यक रकमको बन्दोबस्तमा जुटेका थिए । नापी कार्यालयका पूर्वकर्मचारी कोइराला बस्नेतको जग्गा हडप्ने योजनामा शुरुदेखि संलग्न भएको अनुसन्धानबाट खुलेको छ । उनले बस्नेतको नाममा रहेको जग्गा पत्ता लगाउने, धनीपूर्जा किर्ते गर्ने र बस्नेतको नागरिकताको विवरण इलामसम्म गई पत्ता लगाई किर्ते गरी नागरिकता बनाउने कार्यमा गिरोहलाई सहयोग गरेको र विभिन्न समयमा उक्त काम गरे बापत गोविन्द बान्तवासँग १४ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै लीलाधर राजवंशीले नक्कली जग्गाधनी खडा गर्ने क्रममा उपयुक्त व्यक्ति पहिचान गरी योजनामा सरसहयोग गरेको र मङ्गलसिंह राजवंशीलाई ठूलो रकम फाइदा हुने प्रलोभन देखाइ धर्मपुत्रको रुपमा कार्य गर्न प्रेरित गरेको अनुसन्धानबाट खुलेको छ । उनले नै सुरुङ्गाको कोटीहोममा बसोबास गर्ने देवीप्रसाद पाण्डेको पहिचान गरी योजनालाई सकारात्मक बनाउन बलराम विश्वकर्मा र मङ्गलसिंह राजवंशीसँग पटक–पटक भेटघाट गराएको र अधिकृत वारेसनामा कार्यको लागि काठमाडौँ पठाउने क्रममा पाण्डेलाई आफ्नो मोटरसाइकलमा चढाएर चारपानेसम्म लगी हुलिया परिवर्तन गराई राजन विश्वकर्माले चलाउने गरेको स्कर्पियो गाडीमा चढाएर पठाएको डीएसपी थापाले बताए ।

त्यसैगरी बलराम विश्वकर्माले लेखनाथ खनाल, प्रकाश कार्की, नवीन कोइराला, भूपदेव कटुवाल, गोविन्द बान्तवासँग मिलेर बस्नेतको जग्गा हत्याउने योजना बनाएका थिए । उनले नै गौरादह नगरपालिका–७का वडाध्यक्ष बलराम खरेल (हाल फरार) लाई काठमाडौँसम्म लगी अधिकृत वारेसनामा बनाउने कार्यमा मुख्य भूमिका खेल्नुका साथै भूपदेव कटुवालसँग मिलेर बस्नेतको नागरिकतामा भएको विवरण समावेश गरी देवीप्रसाद पाण्डेको फोटो टाँसेर नक्कली नागरिकता बनाएको र मालपोतमा राजीनामा पास गराएको लिखत कागजातमा समेत साक्षी बसेको डीएसपी थापाले बताए । साथै उनले मालपोत कार्यालयबाट जग्गा पास गर्नको लागि आवश्यक हुने घर बाटो सिफारिस, तिरो तिरेको रसिद गौरादहका वडाध्यक्ष बलराम खरेलसँग मिलेर किर्ते कागजात बनाएका थिए । भूपदेव कटुवालले बस्नेतको नक्कली नागरिकता प्रतिलिपि बनाएको र अधिकृत वारेसनामा गर्ने कार्यको लागि काठमाडौँसम्म गई प्रतिवादी देवबहादुर विष्ट (हाल फरार)लाई सहमत गराई अनुकूल वातावरण बनाई बलराम विश्वकर्मा, मङ्गलसिंह राजवंशी, बलराम खरेल र देवीप्रसाद पाण्डेलाई काठमाडौँ बोलाएका थिए ।

त्यस्तै योजनामा शुरुदेखि संलग्न लेखनाथ खनालले जग्गालाई बेचबिखन गरी सल्टाउने कार्यमा गोविन्द बान्तवालाई सामेल गराएको र यसका लागि आवश्यक पर्ने रकमको बन्दोबस्त गर्ने काममा मध्यस्त भूमिकामा बान्तवाबाट पैसा लिएर गिरोहलाई सरसहयोग गरेका थिए । साथै मालपोतका कर्मचारीसँग सहज रुपमा काम गराउने वातावरण मिलाएको र राजीनामा लिखतमा समेत साक्षी बसेको डीएसपी थापाले बताए । अधिकृत वारेसनामा बनाउने क्रममा राजन विश्वकर्माले आफ्नो गाडी प्रयोग गरेको र अन्य प्रतिवादीहरूको अनुरोधमा विभिन्न सिम कार्ड निकाल्न सहयोग गरेको अनुसन्धानबाट खुलेको डिएसपी थापाको भनाइ छ ।

६ जना अझै फरार

बस्नेत जग्गा प्रकरणमा संलग्न भएका ६ जना अझै फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा वडा अध्यक्ष, मालपोत अधिकृत, कर्मचारीदेखि साक्षी बसेका व्यक्तिहरू अझै फरार रहेको डीएसपी राकेश थापाले जानकारी दिए ।

किर्ते कागजात तयार गर्न सरसहयोग गरेको, अधिकृत वारेसनामा गर्ने कार्यको लागि अन्य प्रतिवादीहरुसंगै काठमाडौँ जिल्ला अदालतसम्म गई समन्वयात्मक भूमिका खेलेको तथा अन्य प्रतिवादीहरूलाई भगाउने कार्यमा संलग्न भएका गौरादह नगरपालिका–१का वडाध्यक्ष बलराम खरेल, बैंकिङ्ग कारोबार लगायतका प्रक्रिया नपुग्दै राजीनामा पास गर्नको लागि लिखत पारित गरिदिएका भूमिसुधार तथा मालपोत कार्यालय झापाका अधिकृत चेतन अधिकारी, सक्कली बस्नेतको जग्गा धनीपूर्जामा भएको फोटो र नक्कली बस्नेतको फोटो भएको धनीपुर्जालाई रुजु नगरी मोठ भिडाएको मालपोतका तत्कालीन नायव सुब्बा हरि तिवारी, अदालतको अधिकृत वारेसनामामा साक्षी बसेका जिल्ला ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–७ बस्ने ५६ वर्षीय वेगप्रसाद कोइराला, अधिकृत वारेसनामाको लिखत प्रक्रियाको लागि कानून व्यवसायीलाई मिलाएर लिखतमा साक्षी बसेका जिल्ला खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका–११ स्थायी ठेगाना भई हाल काँडाघारी, काठमाडौँ बस्ने ३२ वर्षीय देवबहादुर विष्ट र अधिकृत वारेसनामा तथा जग्गा पास गर्ने कार्यको लागि सहज वातावरण मिलाइदिने र बस्नेतको स्रेस्तामा कायम रहेका जग्गा सम्बन्धी सूचना सङ्कलन गरी गिरोहलाई उपलब्ध गराउने भद्रपुर–७ बस्ने ५३ वर्षीय प्रकाश कार्की फरार रहेको डीएसपी थापाले बताए । उनीहरूको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।

के भएको थियो घटना

साबिक चारपाने गाविस–१ हाल बिर्तामोड नगरपालिका–१ अन्धुवा पुलस्थित पूर्व–पश्चिम राजमार्ग नजिकै स्वर्गीय टुङ्गबहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को एक कठ्ठा पौने १४ धुर जमिन बिर्तामोड नगरपालिका–७ निवासी रञ्जु राईको नाममा रजिस्ट्रेशन पास भएको छ । २०७७ साल माघ २१ गते राईको नाममा रजिष्ट्रेशन पास भएको हो । तर, जग्गाधनी बस्नेतको २०७६ साल साउन २४ गते नै मृत्यु भइसकेको थियो ।

जग्गाधनीको मृत्यु भएको एक वर्ष दुई महिना ४ दिनपछि नक्कली जग्गाधनी बनेकाले ७१ वर्षको उमेर खुलाएर काठमाडौँ जिल्ला अदालतमा गएर अधिकृत वारेसनामा बनाएका उनले २०७६ असोज २८ गते बाह्रदशी गाउँपालिका–३ डाँगीवारी बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशीको नाममा वारेसनामा बनाएको र राजवंशीले राईलाई सो जमिन ८४ लाख ३७ हजार ५ सय रुपैयाँमा बिक्री गरेको मालपोतको स्रेस्तामा देखिन्छ । सो जग्गाको बजार मूल्य १० करोड हाराहारी रहेको बुझिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here