अनलाइन शिक्षा निल्नु न ओकल्नु: सिँढीमै सिकाइ

१६ बैशाख २०७८, बिहीबार मा प्रकाशित
  • 2.9K
  •  
  •  
  •  
  •  
  •  
    2.9K
    Shares

सुरेन्द्र भण्डारी

झापा,
झापाको बिर्तामोड–१का मनिष ठाकुर कक्षा सातमा पढ्छन् । चिल्डे«न इन्भारोन्मेन्ट इङ्लिस स्कूलमा अध्ययनरत् उनी पढाइमा अब्बल छन् । परीक्षा नजिकिएसँगै उनको ध्यान पढाइमा केन्द्रित छ ।
बैशाख २० गतेदेखि हुने भनिएको वार्षिक परीक्षाले अहिले उनलाई गाँजेको छ । तर, केही समयदेखि विद्यालय बन्द छ । कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि अनलाइन कक्षा लिनुको विकल्प छैन उनीसँग । विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपछि उनी अहिले अनलाइन कक्षा लिँदै परीक्षाको तयारी गरिरहेका छन् ।


तर, उनलाई अनलाइन कक्षा लिन सहज छैन । अनलाइन कक्षा लिनका लागि मनिषको घरमा न मोवाइल छ, न त इन्टरनेट नै । कोभिड १९को संक्रमण बढ्दै गएपछि झापासहित देशभरका विद्यालय बन्द हुँदा चिल्डे«न इन्भारोन्मेन्ट विद्यालयको पनि पठनपाठन बन्द छ ।
विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन बन्द भएपनि विद्यालयले वैकल्पिक माध्यमद्वारा पठनपाठन गराइरहेको छ । विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपछि मनिषले रोइ कराई गर्दै बुवाको मोवाइल त हात पारे तर, घरमा इन्टरनेट नहुँदा उनको पढाइमा देखिएको समस्या हल हुन सकेको छैन ।
डाटा प्याक लिउँ मोवाइलमा रिचार्ज गर्ने पैसा छैन, नलिउँ अनलाइन कक्षा लिनु छ– मनिषले भने– रिचार्जका लागि वुवासंग पैसा माग्दा वुवाले पनि दिन सक्ने अवस्था छैन । ‘घर बस्दा अनलाइन कक्षा लिन समस्या हुन्छ’– उनले भने– ‘वुवाको सैलुन नजिकै इन्टरनेट छ, त्यहीं गएर पढ्छु भन्दै यहाँ आएको हुँ ।’ बुधवार पूर्वाञ्चल दैनिक नजिकै सिँढीमुनि बसेर अनलाइन कक्षा लिँदै गरेका मनिषको एक हातमा मोवाइन थियो त अर्काे हातमा कलम ।
घुँडामा कपी राखेर ध्यानपूर्वक पढिरहेका मनिष बसेको सिँढीको माथिल्लो फ्ल्याटमा मेनपावरको अफिस भएकाले सोही सिँढी प्रयोग गर्दै हिँड्नेले उनको पढाइमा वारम्वार डिस्टव गरिरहेका हुन्थे । तर, उनी कोही कसैको पर्वाह नगरी अनलाइन कक्षा लिएको देख्दा लाग्यो ‘हुने विरुवाको चिल्लो पात’ भनेको यही हो । अभावका वीच अध्ययन गर्दै गरेका मनिषको पढाइप्रतिको रुची देखेपछि सिँढीमा ओहोरदोहोर गर्नेले पनि भन्दै थिए– हेर हाम्रा चाहिँ छोराछोरी पढ भन्दा पढ्दैनन् यो नानी कति मेहनती रहेछ, यस्तामा बसेर पनि पढ्दैछ ।
हुन पनि हो उनी चिसो भुइँमा बसेर घँुडामा कपी राखेर एक हातमा मोवाइल त अर्काे हातमा कलम लिएर सिकाएको कुरा खुरुखुरु लेखिरहेका थिए । स्वास्थ्यप्रति समेत सजग देखिएका मनिषले मास्क भने लगाएका थिए । १०देखि १२ वजेसम्म कक्षा सञ्चालन हुँदोरहेछ मनिषको । दुई घण्टासम्म सोही सिँढीमा बसेर उनले अनलाइन कक्षा लिएका थिए । अनलाइन कक्षा सकिए लगत्तै पूर्वाञ्चलकर्मीसंग कुराकानी गर्दै उनले भने– घरमा वावाको एउटा मात्रै मोवाइल छ ।
आज मैले त्यही मोवाइल लिएर यहाँ आएको हुँ । एक्जामको लागि रिभिजन गर्ने भन्नु भाछ मिसले । त्यही भएर नेट भएको ठाउँमा आएको हुँ । घरमा बहिनी र भाइको पनि यही समयमा कक्षा सञ्चालन हुन्छ । उनीहरुको कक्षा छुट्यो । मनिषको भाइ सचिन सोही विद्यालयमा कक्षा ५मा पढ्छन् । उनकी बहिनी मनिषा कक्षा ८मा पढ्छिन् । उनीहरुका लागि अनलाइन कक्षा लिन मोवाइल नभएका कारण दिनैपिच्छे कक्षा छुट्छ– मनिषले भने – मेरो पनि प्रायः कक्षा छुट्छ । पैसा हुँदा डाटा लिन्छु । नहुँदा कहाँ जाँदा नेट हुन्छ त्यहीँ पुगेर भए पनि पढ्ने गरेको छु ।
कुनै–कुनै दिन वुवाले मोवाइलमा ५० रुपैयाँ दिनुहुन्छ, त्यही पैसाले रिचार्ज गर्छु, ४२ रुपैयाँको डाटा प्याक लिन्छु । ८०० सय एमबी आउँछ । त्यही डाटाले पढ्ने गरेको छु । तर, दिनहुँ ५० रुपैयाँ रिचार्ज गरेर पढ्न सक्ने अवस्था छैन– मनिषले भने– हाम्रो घरमा तीन जना पढ्ने छौं, मोवाइल एउटा मात्रै । आलो–पालो पढ्नुको विकल्प छैन । पढिएन भने दुःख पाइन्छ– मनिषले भने– अहिले पढ्न पाए भने पछि ठूलो मान्छे हुन्छु भन्ने सोच राखेको छु । बुवाले जस्तो दुःख गर्न नपरोस् भनेर मेहनत गरिरहेको छु– मनिषले भने ।
मनिषका बुवा पेशाले सैलुन व्यवसायी हुन् । यही व्यवसाय सञ्चालन गरेर जसोतसो आफ्ना तीन सन्तानलाई निजी विद्यालयमा अध्ययन गराउँदै आएका उनका लागि अहिले समस्याले गाँजेको छ । गत वर्षको चैत महिनाबाट देखिएको कोभिडको समस्याले उनको व्यवसाय समेत धरापमा छ । यस्तो अवस्थामा आफ्नो परिवार सञ्चालन गर्नु र शिक्षा दिक्षा दिनु उनका लागि चुनौति छँदैछ तर, कोभिडका कारण व्यवसाय नै धरापमा परेपछि छोराछोरीको पढाइको कुरा त परै जाओस् घर व्यवहार चलाउन समेत समस्या भएको बाबु सन्तोषको भनाइ छ ।
मनिषको परिवारमा मात्र होइन अहिले अधिकांश विद्यार्थीलाई अध्ययनमा समस्या छ । अझ विपन्नता भएका परिवारका लागि अनलाइन शिक्षा खर्चिलो र महंगो छ । जसका कारण चाहेर पनि विद्यार्थी अनलाइन शिक्षा लिन सकिरहेका छैनन् । विद्यालय पठनपाठनमा समस्याका चाङैचाङ लागिरहेका बेला फेरि कोरोनाको महामारीले बन्दाबन्दीमा पु¥याएको छ । पूरै मानव
समाज बन्दाबन्दीमा पुगेको छ । बिद्यालयहरु ठप्प छन् । शिशु कक्षा (प्ले ग्रुप) देखि १२ कक्षासम्म देशभरि करिब ७५ लाख केटाकेटी विद्यालय जाने गरेको शिक्षा विभागको तथ्याङ्कमा उल्लेख छ । कोरोना कै कारण सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने अभिभावकहरु गुणस्तर कमजोर हुने भयले चिन्तित छन् भने निजीमा पढाउनेहरु महंगो शुल्कका कारण थप मर्कामा छन् । गरीब र धनी दुवैथरी अभिभावकहरु कोभिडको भयसँगै सन्तानको भविष्यबारे चिन्तित छन् ।
ठाकुरको परिवार मात्र होइन अहिले कोभिडको त्रास बढ्दै गएपछि आफ्ना सन्ततिलाई अनलाइन पठनपाठन गराउनैपर्ने सबै अभिभावकलाई बाध्यता छ । अधिकांश अभिभावक जसको आफ्नो बस्ने बास समेत छैन, तिनले छोराछोरीलाई मोबाइल र ल्यापटप कसरी जुटाउने ? छोराछोरीलाई ती ग्याजेट चलाउन कसरी मद्दत गर्ने ? जसको आफ्नैसमेत प्रविधिमा पहुँच छैन र भए पनि राम्ररी चलाउन जानेका छैनन् । गाउँ र शहरको शिक्षणमा विद्यमान विभेदः चाहे निजी हुन् या सरकारी गाउँ र शहरको शिक्षणविधि र सुविधामा आकाश–जमिनको फरक छ । क्षमतावान् शिक्षकहरु धेरै शहरमै हुन्छन् । यस्तो विभेद विद्यमान रहेका बेला झन् प्रविधिमार्फत अनलाइन शिक्षण गर्दा हालत कस्तो होला अभिभावकको चिन्ताको विषय बनेको छ अहिले ।
सिकाइ गुणस्तरको खाडल कति बढ्ला, विद्यार्थीको हातहातमा मोबाइल र अनलिमिटेड इन्टरनेट भएपछि त्यसले निम्त्याउने विकृति कस्तो होला ? यो अर्को प्रमुख चुनौति एकातिर छँदैछ अर्काेतिर निम्न आय भएका मनिसका लागि अनलाइन शिक्षा निल्नु न ओकल्नु भएको देखिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here