झापा,
देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९२८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ५६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा १२ हजार ५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः चार हजार ८३१ र ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८८८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार १६७ रहेको छ । निको हुने दर भने ८८ दशमलव दुई प्रतिशत रहेको छ ।
अहिले देशभर ३४ हजार ११७ सक्रिय सङ्क्रमित छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पीसीआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २४६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
यसैबीच विर्तामोडका १८ जनासहित झापामा ५० जनामा कोरोना पुष्टि भएको छ । बुधबार पनि जिल्लामा ५० जनामा संक्रमण पुष्टि भएको थियो । आज अर्जुनधारा–६ का एक पुरुषको मृत्यू भएको छ ।
झापामा आज विर्तामोड १८, दमक ६, मेचीनगर १०, भद्रपुर ५, कनकाई २, हल्दिवारी १, अर्जुनधारा २, गौरीगञ्ज ४ र शिवसताक्षीमा १ लाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा संक्रमितको संख्या ४९४५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २८५ पुगेको छ ।































