भारतीय सवारीसाधनलाई कार्वाही भएन

0
1230

झापा, वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर डम्बर गिरीले बिना कारबाही भारतीय नम्बर प्लेटका तीन वटा सवारीसाधन त्यत्तिकै छाडेका छन् ।
अख्तियार अनुसन्धान आयोग, केन्द्रीय प्रहरी कार्यालय महाशाखा टंगालमा सरुवा भएका इन्स्पेक्टर गिरीले आइतबार वडा कार्यालयको जिम्मेवारीबाट बिदा लिनु तीन घण्टा अगाडि ती सवारीसाधन बिना कारबाही छाडेका हुन् । इन्स्पेक्टर गिरीले छाडेका सवारीमा दुई वटा मोटरसाइकल र एउटा स्कुटर रहेका छन् ।
उनले छाडेका सवारीसाधन सम्बन्धित व्यक्तिलाई बुझाउँदा समेतको कुनै प्रमाण वडा कार्यालयमा राखेका छैनन् । उनको मौखिक आदेशमा ती सवारीसाधन छाडिएको प्रहरीले स्रोतले जनाएको छ । बुझिलिने भन्ने कुनै कागजातमा प्रहरीले धनीलाई हस्ताक्षर नगराउँदा सवारी नम्बर खुल्न सकेन । १४ महिनादेखि बिना भन्सार सीमावर्ती नेपाली बजारमा खुलेआम भारतीय सवारीसाधन चलिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईको निर्देशनमा ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालयले संयुक्त रुपमा भारतीय सवारीसाधन नियन्त्रणमा लिने अभियान थालेको थियो ।
सोही अभियान बमोजिम वडा प्रहरीले वैशाख १८ गते नगर क्षेत्रबाट ८वटा भारतीय नम्बर प्लेटका दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका ती सवारीसाधन जेठ २ गते बिहान ८ बजेसम्म वडा कार्यालय परिसरमै थियो । तर, भद्रपुर छाडेर जान लागेपछि इन्स्पेक्टर गिरीले दीपेश साहको नम्बर प्लेट समेत नभएको मोटरसाइकल, चन्दन कामतीको मोटरसाइकल र कामतीकै भाउजूको स्कुटर छाडेपछि अहिले व्यापक चर्चाको विषय बनेको छ । अन्य पाँच वटा सवारीसाधन नछाड्ने, तीनवटा मात्रै छाडेपछि अहिले आफ्नो सवारीसाधन नछाडेका व्यक्तिले प्रहरीको कामप्रति आक्रोश पोख्न थालेका छन् ।
प्रहरीले नेपाली नम्बर प्लेटका गाडीलाई नियन्त्रणमा लिएपछि ट्राफिक नियम अनुसार कारबाही गर्नु पर्ने कानुनी प्रावधान छ । तर, भारतीय नम्बरका गाडीलाई त्यत्तिकै छाड्ने इन्स्पेक्टर गिरी आफैले कानूनको उल्लंघन गरेका छन् । अस्थायी ट्राफिक प्रहरी भद्रपुरका इञ्चार्ज दिलीप राईसँग यस विषयमा बुझ्दा उनले भने– ‘सवारीसाधन छाड्दा कुनै जरिवाना नगरेको प्रष्टाए ।’ यता प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले नियन्त्रणमा लिएका सवारीसाधन इन्स्पेक्टर गिरीले छाडेको विषयमा आफूलाई केही जानकारी नभएको बताएका छन् । यस विषयमा आफूले बुझ्ने उनको भनाइ छ ।
त्यस्तै भर्खरै सरुवा भई आजै जिम्मेवारी सम्हालेका वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले यस घटनाको बारेमा केही थाहा नभएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here