शुक्लाफाँटा नगरपालिका कोभिड अस्पतालमा चिकित्सकसहितको सेवा

0
761

कञ्चनपुर,

शुक्लाफाँटा नगरपालिकाका कोरोना सङ्क्रमितहरुले गाउँमै चिकित्सकसहितको सेवा र उपचार पाउन थालेका छन । नगरपालिकाले चिकित्सक र अक्सिजन सहितको १५ शय्याको कोभिड १९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएपछि सङ्क्रमितहरुलाई निकै सहज भएको छ ।

अस्पतालमै निःशुल्क रुपमा उपचारसँगै परामर्श दिने कार्य हँुदै आएको छ । गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार समेत हुन थालेको छ । हालसम्म अस्पतालमा कोरोनाको सङ्क्रमणका कारण गम्भीर छ जना बिरामी उपचारका लागि भर्ना भएका छन । अस्पतालमा दुई जना चिकित्सक सहित अन्य आवश्यक स्वास्थ्यकर्मीलाई खटाइएको छ ।
बिरामीहरुलाई पौष्टीक खानासँगै आवश्यक औषधि र भिटामिनहरु अस्पतालबाटै निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । कोरोनाका लक्षण देखिएका व्यक्तिहरुलाई नगरपालिकाले निःशुल्क रुपमा मङ्गलवार र शुक्रवार पिसिआर परिक्षणका लागि नमूना सङ्कलन गर्दै आएको छ ।

कोरोनाका कारण गम्भीर अवस्था भएका व्यक्तिहरुका लागि एन्टीजेनबाट कोभिड अस्पतालमै परीक्षण गर्ने व्यवस्था गरिएको कोभिड अस्पतालका ल्याव शाखाका वसन्त धामीले बताउनु भयो । “कोरोनाका लक्षण देखिएका बिरामीलाई पिसिआर जाँचका लागि महाकाली र सेती प्रादेशिक अस्पताल पठाउनु पर्ने विगतमा बाध्यता थियो”, उहाँले भन्नुभयो, “हाल कोभिड अस्पतालमै पिसिआर जाँचका लागि नमूना लिने कार्य हुदै आएपछि विरामीले घरदैलोमै सेवा पाएका छन ।”

पहिला पिसिआरकै लागि अस्पताल धाउनु पर्ने हुदा धेरै जनाले कोरोनाको लक्षण देखिए पनि परिक्षण नगराई घरेलु औषधिको प्रयोग गरी घरमै बस्ने गरेका थिए । जसका कारण समुदायमा कोरोनाको सङ्क्रमण फैलिन मद्दत पुगेको थियो । हाल कोरोनाको लक्षण देखिने वित्तिकै स्थानीयले कोभिड अस्पतालमा पुगेर पिसिआरका लागि नमूना दिने कार्य गर्दै आएका छन ।
अति गम्भीर प्रकृतिका विरामीलाई मात्रै कोभिड अस्पतालबाट थप उपचारका लागि अन्यत्र रिफर गरिने व्यवस्था गरिएको छ ।

कोरोनाका विरामी बोक्नका लागि नगरपालिकाले निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाएको छ । कोरोनाका कारण मृत्यु भएकाहरुको शव बोक्नका लागि टिप्परलाई प्रयोगमा ल्याइएको छ । कोभिड हेल्थ डेस्क, नगरप्रमुख र उपप्रमुखले चढने गाडी अक्सिजन सिलिण्डर बोक्ने र औषधि, स्वास्थ्यकर्मी बोक्ने कार्यका लागि प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

अस्पताल २४ सै घण्टा सेवा दिने गरी सञ्चालनमा ल्याइएको नगरप्रमुख दिल बहादुर ऐरले बताउनु भयो । “एम्बुलेन्स चालकलाई नगरपालिकाले जोखि भत्ता र आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराउने व्यवस्था मिलाएका छौं”, नगरप्रमुख ऐरले भन्नु भयो, “एम्बुलेन्सको मर्मत र इन्धन खर्च नगरपालिकाले व्यहोर्छ । एम्बुलेन्स प्रयोग गरेवापत पिपलाडी स्वास्थ्य चौकीलाई आगामी आबको बजेटमा रु दुई लाख ५० हजार थप अनुदान रकम उपलव्ध गराईने छ ।”

एम्बुलेन्स सेवा सञ्चालनका लागि वडा नं ४ का वडा अध्यक्ष ज्ञान बहादुर बिष्टलाई फोकल पर्सनका रुपमा तोकेको छ । कोरोनको सङ्क्रमण उच्च रुपमा फैलिएमा शव बाहन तथा सरसफाईमा खटिने कर्मचारीलाई थप जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरिएको उहाँले बताउनु भयो । पिसिआरका लागि नमूना सङकलन गर्ने र भिटीएम पुरयाउने कार्यमा संलग्न कर्मचारीहरुलाई जोखिम भत्ता र आश्यकता अनुसार स्वास्थ्य शुरक्षा सामग्री समेत प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

आवश्यक स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न र पिसिआर गर्न आवश्यक भिटिएम खरिद गर्न रु छ लाख रकम विपद् कोषबाट खर्च गर्ने व्यवस्था मिलाइएको छ । नगरपालिकाका १२ वटै वडामा महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मीसँगै महिला स्वास्थ्य स्वयंसेविकालाई समेत परिचालन गरिएको छ । नगरपालिकामा कोरोनाका कारण नौ जना बढीले ज्यान गुमाइसकेका छन । नगरपालिकामा हाल सम्म चार सय बढी कोरोनाबाट सङ्क्रमित भएका छन जसमध्ये ४५ जना बढी होम आइसोलेसनमा रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here