झापा ।

बिर्तामोड नगरपालिकाले नगर अस्पतालका लागि बिमा कार्यक्रम अन्तर्गतको फार्मेसी सञ्चालनका लागि प्रक्रिया संगत तरिकाले शिलबन्दी दर भाउ पत्र आव्हान गरेको पाइएको छ ।
नगरपालिकाले २०७८ साल बैशाख २३ गते सार्वजनिक सुचना जारी गर्दै मितिले १६ औँ दिनको १२ बजे भित्र E-Bidding का माध्यमबाट वार्षिक न्युनतम १२,००,००० (मुल्य अभिवृद्वी कर बाहेक) शिलबन्दी दरभाउ पत्र पेश गर्न आव्हान गरेको हो ।
नगरपालिकाको वेबसाइड birtamodmun.gov.np तथा सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित सार्वजनिक सुचनाका आधारमा ५ वटा फर्मले दरभाउ पत्र पेश गरेका छन् । जसमा जनकल्याण फार्मेसी बिर्तामोड ५, अमन फार्मेसी बिर्तामोड ७, कन्काई माई ड्रग हाउस बिर्तामोड ५, पुष्पलता मेडिकल हल बिर्तामोड ४ र कालिमा ड्रग डिष्ट्रव्युटर्स अर्जुनधारा ११ रहेको छ ।

कालिमा ड्रग डिष्ट्रव्युटर्स अर्जुनधारा ११ ले सबैभन्दा बढी ३६ लाख ६० हजार (मुल्य अभिवृद्वी कर बाहेक) शिलबन्दी दर भाउ पत्र पेश गरेको नगरपालिकाको सुचना प्रविधि अधिकृत जयराम चौलागाईले बताउनुभयो । उहाँले अन्य फर्महरुमा जनकल्याण फार्मेसी १२ लाख ११ हजार,अमन फार्मेसी १२ लाख,कन्काई माई ड्रग हाउस १६ लाख ४९ हजार ७९९ रुपैयाँ ९७ पैसा र पुष्पलता मेडिकल हलले ३६ लाख रुपैयाँको शिलबन्दी दर भाउ पत्र पेश गरेको जानकारी दिनुभयो ।
उपसचिव तिलचन भण्डारीको संयोजकत्वमा बोलपत्र मुल्यांकन समिति गठन गरेको नगरपालिकाले हालसम्म कसैसंग पनि संझौता गरिसकेको छैन ।यसका लागि आवश्यक प्रक्रिया अनुसार संझौता हुने नगरपालिकाले जनाएको छ ।

बिर्तामोड नगरपालिकाले नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा सञ्चालनका लागि स्वास्थ्य विमा वोर्डका निर्देशक दामोदर बसौला र नगरप्रमुख ध्रुवकुमार शिवाकोटी बीच २०७७ फागुन २७ गते संझौता भएको थियो । गत जेठ १ गतेदेखि सेवा सुचारु गर्ने भनिए पनि कोरोना संक्रमणका कारण आन्तरिक व्यवस्थापनमा ढिलो भएको नगरपालिकाका शाखा अधिकृत देवराज कार्कीले बताउनुभयो । उहाँले अब चाँडै सेवा सुचारु गर्ने जानकारी दिनुभयो ।































