बर्तामोड ।
झापामा निषेधाज्ञाा खुकुलो भएसँगै बजारमा हुने भिडभाड तथा ट्राफिक जामलाई सहज बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले नियम उल्लंघन गर्नेलाई कारवाही तीव्र बनाएको छ ।
बिर्तामोड, दमक, काँकरभिट्टा लगायतका शहरहरुमा जथाभावीरुपमा सवारी पार्किङ गर्ने क्रम बढेको भन्दै नियम उल्लंघन गर्नेहरुलाई कारवाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाँई जानकारी दिए ।
उनले भने– ‘सडक अवरुद्ध हुने गरी सडकमा सवारी पार्क गर्ने क्रम बढेपछि ‘ह्विल लक’ लगाउन शुरु गरेका छौं ।’ उनले नियम मिच्ने कसैलाई पनि नछोड्ने बताए । पछिल्लो समय ट्राफिक प्रहरीले सडकमा पार्किङ गर्ने सवारीसाधनमा ह्वील लक लगाउने गरेको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरु बाहिर निस्कने र जथाभावी रुपमा सवारी पार्क गर्दा बिर्तामोड लगायतका क्षेत्रमा ट्राफिक जाम हुन थालेपछि ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारीलाई ह्वील लक लगाएर कारवाहीको दायरामा ल्याउन शुरु गरेको हो । ट्राफिक नियम उल्लंघन गरे कारवाहीमा पर्ने थाहा हुँदाहुँदै पनि कतिपयले अटेरी गरेर जथाभावी रुपमा सवारी पार्किङ गरेको पाइएको छ ।
समाजका प्रतिष्ठित व्यक्तिहरुले नै नियम उल्लंघन गरेर चारपाङ्ग्रे सवारी जथाभावी रुपमा पार्किङ गर्ने गरेको पाइएको छ । ट्राफिक प्रहरीले मंगलबारबाट सार्वजनिक सवारी सञ्चालनमा आएसँगै स्वास्थ्य मापदण्ड पालना भए नभएको तथा बढी भाडा लिए नलिएको विषयमा अनुगमन थालेको छ ।
मंगलबारबाट जोर–विजोर प्रणाली लागू गरेर सवारी सञ्चालनमा ल्याइएको हो । अझै पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अनावश्यक हिँडडुल नगर्न ट्राफिक प्रहरी निरीक्षक चापागाँईले आग्रह गरे । यसैबीच बिर्तामोड लगायतका शहरहरुमा सवारी पार्किङ गर्ने स्थान नहुँदा समस्या भएको छ । सडक किनारमा जथाभावी रुपमा सवारी पार्किङ गर्दा शहरहरु पनि कुरुप देखिने गरेको छ ।