कनकाई नदीबाट ठूलो परिमाणमा तस्करी गरिएका सालका काठ बरामद

0
614

झापा,

तस्कर समूहले इलामको वन जंगलबाट सखुवाको(साल) काठ चोरी निकासीको माध्यमबाट झापा ल्याउने गरेको पाइएको छ।

सशस्त्र प्रहरीले कनकाई नदीबाट ठूलो परिमाणमा सखुवा जातको गोलिया बरामद गरेपछि काठ तस्कर गिरोह यस्तो धन्दामा सक्रिय रहेको भेटिएको हो। सशस्त्रले कनकाई नगरपालिका-४ र शिवसताक्षी नगरपालिका-१ सीमाबाट बग्ने कनकाई नदीबाट करिब १५ लाख मूल्य बराबरको गोलिया काठ बरामद गरेको छ।

तस्करले कनकाई नदीबाट बगाएर गोलिया काठ ल्याइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डे नेतृत्वमा खटिएको टोलीले ३९७.१९ क्युफिट काठ बरामद गरेको हो।

सशस्त्र प्रहरीले सोमबार दिउँसो नदीमा काठ फेला पारेको थियो। नदीबाट ठूलठूला गोलिया काठ निकाल्न सशस्त्र प्रहरीलाई रातभर लागेको एसपी पाण्डेले बताए। बरामद गरिएको काठलाई आवश्यक कारबाहीका लागि सबडिभिजन वन कार्यालय सुरुङ्गामा मंगबालर बुझाएको उनले बताए।

त्यस्तै गत शनिबार प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका-१ होक्सेबाट अवैध सखुवाको काठ बरामद गरेको थियो। बुद्धशान्ति १ होक्सेबाट मे१त २७४७ नम्बरको ट्याक्टरबाट प्रहरीले गोलिया १८ थान २६.७१ क्यूफिट र चिरान फेन्टा ९ थान १५.८६ क्युफिट गरी जम्मा ४२.५६ क्यूफिट काठ बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ।

त्रिपालले छोपेर बुधबारेतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त काठ फेला पारेको हो। सादा पोसाकमा खटिएका प्रहरीलाई देखेर चालकले ट्याक्टर छाडेर भागेका थिए। बरामद गरिएको काठलाई आवश्यक कारबाहीका लागि माई सब डिभिजन वन कार्यालय माई इलाम बुझाएको जनाइएको छ।

बरामद गरिएको उक्त काठ इलामको वनजंगलबाट तस्करीको माध्यमबाट झापा ल्याउने खोजिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here