बिर्तामोड।

जनआन्दोलन साप्ताहिकका प्रकाशक यज्ञप्रसाद पाठकले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
नेपाल प्रेस युनियन झापाका केन्द्रीय पार्षद समेत रहेका यज्ञप्रसाद र शकुन्तला पाठकले उनीहरुका दिवंगत मातापिता टंकप्रसाद र रमादेवी पाठकका नाममा एक लाख रकम बराबरको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको स्थापना गरेका हुन् ।
नेपाल प्रेस युनियन मातहतमा रहने गरी आफ्ना दिवंगत आमा बुबाका नाममा स्थापित अक्षयकोषको रकम शुक्रबारै युनियनका अध्यक्ष इन्दु पूर्वेली, निवर्तमान अध्यक्ष कृष्ण हुमागाँई, सल्लाहकार राजेन्द्र गौतमसहितको टोलीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
युनियनका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा शुक्रवार बसेको कार्यसमिति तथा सल्लाहकार र पार्षदसहितको बैठकले उक्त कोष सञ्चालन सम्बन्धि कार्यविधि पारित गरेको सचिव डिल्लीराम घोर्साईँले जानकारी दिए ।
सन्तानको समृद्धि, सामाजिक सेवा र आध्यात्मिक चिन्तनमा रमाउने दम्पतीमध्ये टंकनाथको २०७३ कात्तिक १५ गते निधन भएको थियो भने रमादेवी पाठकको २०७८ साल जेठ ५ गते निधन भएको थियो ।
यसअघि टंकप्रसाद र रमादेवीका माइला छोराबुहारी हेमप्रसाद–सरिता पाठकले राष्ट्रियस्तरमा प्रदान गर्ने गरी टंकप्रसाद–रमादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरिसकेका छन् ।






























