४० वर्षपछि इन्द्रेणी तालले काँचुली फेर्दै

0
567

विष्णु पोखरेल,दमक।

झापाको नै पुरानो र डेढ दशकअघि एउटा राम्रो पर्यटकीय गन्तव्य मानिएको इन्द्रेणी ताललाई लामो समयपछि व्यवस्थित गर्ने र पार्कको रुपमा विकास गर्ने काम शुरु भएको छ ।

दमक–१० मा रहेको जरुवा पानीबाट बनेको इन्द्रेणी तालको केही बर्षयता अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेपछि संघीय सरकारको सहयोगमा स्थानीय सरकारको पहलमा पुनः निर्माण तथा सौन्दर्यकरणको काम शुरु भएको हो ।
झापामा कही पनि डुंगा चढ्ने पर्यटकीय स्थल नभएको अवस्थामा यहाँ रहेको थियो । स्थानीय डिल्लीराम न्यौपानले भने– ‘झापाका बिभिन्न ठाउँसहित यहाँ पूर्वका बिभिन्न जिल्लाका समूहहरु वनभोज खान समेत आउने गरेकोमा एक दशकयता भने तालको बेहालले गर्दा पर्यटकहरु आउनै छाडे ।’

स्थानीयहरुका अनुसार यसको ऐतिहासिक तथा पौराणिक कुनै महत्व नरहे पनि मानव निर्मित झापाको पुरानो ताल भएको बताइन्छ । स्थानीय भालु खोलालाई बाँध बाधेर ताल बनाइएको हो । एकातिर पर्यटकीय आकर्षण र अर्कातर्फ बाँध बाँधेर किसानहरुले सिँचाइमा यहाँ जमेको पानी उपभोग गर्दा त्यो समय तालको बिषयमा चर्चा रहेको थियो ।

२०४० सालमा बाँध बाँधेर यसलाई तालको रुपमा विकास शुरु गर्न थालिएको र २०५६ सालमा इन्द्रेणी ताल भनेर नामकरण गरिएको स्थानीय सामाजिक अगुवा देवीप्रसाद दाहालले बताए । त्यसपछि ताल संरक्षणका लागि विभिन्न प्रयास भए पनि आर्थिक अभावका कारणले गर्दा समस्या भएको समेत उनले बताए ।

एक किलोमिटर लामो तालको विस्तृत गुरुयोजना बनाएर काम शुरु गरिएको र पुरानो पर्यटकीय स्थललाई नमूना बनाउनका लागि आफूहरुले काम शुरु गरिसकेको वडा नं. १० का वडाध्यक्ष बोधराज न्यौपानेले बताए । ‘एक बर्षभित्रमा पूर्वको एउटा आकर्षण यो ताल बनाउने गरिकनको काम हामीले शुरु गरेका छौं’ –उनले भने ।

यो १० विगाह जमिनमा फैलिएको बताइएको छ । उनका अनुसार तालको दुई साइडमा नै चक्रपथको रुपमा सडक निर्माण, तालसम्म पुग्ने सडक कालोपत्रे, ताल वरिपरि हरियाली विकासका लागि बोटबिरुवा लगाउनेदेखि लिएर फुलबारी बनाउने कार्य, इन्द्रेणी तालको बीचमा आकर्षक आधुनिक डिजाइनको पुल बनाउने कार्य भइरहेको छ ।

अहिले करिब डेढ करोडको लागतमा इन्द्रेणी तालको सौन्दर्यकरणको काम भइरहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । यसमा तालको वारपार गर्ने आकर्षक पुल, तालघुम्दा बालबालिका तथा पर्यटकहरुको सुरक्षाका लागि घेराबारा, ताल वरिपरिको सडक निर्माण लगायतको काम तीव्ररुपमा भइरहेको न्यौपानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here