अखण्ड दीप प्रज्ज्वलन शुरु

0
904

रत्नबहादुर बस्नेत/बिर्तामोड ।

बिर्तामोड नगरपालिका–३ विराटपोखरस्थित पञ्चमुखी ज्योतिर्लिङ्ग पशुपति मन्दिरमा अखण्डदीप प्रज्वलन शुरु गरिएको छ ।

धार्मिक तथा ऐतिहासिक विराटपोखरीसँगै रहेको विश्वहिन्दू महासंघको परिसरमा अवस्थित मन्दिरमा अन्तिम साउने सोमबार पारेर दीप प्रज्ज्वलन शुरु गरिएको थियो । अनन्तकालसम्म अखण्ड रुपमा निरन्तर दीप प्रज्ज्वलन गरिने उद्देश्यका साथ शुरु गरिएको दीप प्रज्ज्वलन कार्यको औपचारिक उद्घाटन पछि भव्यरुपमा गरिने मन्दिरका अखण्ड दीप प्रज्ज्वलन व्यवस्थापन समितिका अध्यक्ष टीकामाया शिवाकोटीले बताइन् ।

विगतमा पञ्चमुखी ज्योतिर्लिङ्ग पशुपतिनाथको प्रतिमा प्राणप्रतिष्ठापन गरिएको समयलाई शुभसाइतका रुपमा मानेर दीप प्रज्ज्वलनको आरम्भ गरिएको बताइएको छ । काठमाडौंको पशुपतिबाट उनकै स्वरुपमा ल्याइएको पञ्चमुखी शिवलाई वि.स.२०७६ मंसीर ६ गते प्राणप्रतिष्ठापन गरिएको थियो ।

‘जलथल क्षेत्रका लागि ल्याइएको भए पनि सर्वशक्तिमान भगवानले त्यहाँ विराजमा हुन नमानेपछि उनको इच्छा अनुसार धार्मिक तथा ऐतिहासिक विराटपोखरीमा विराजमान गराएका हौं’ –विश्वहिन्दू महासंघ झापाका अध्यक्ष समेत रहेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहन उप्रेतीले भने । उनले निकट भविष्यमा नै महावीर हनुमानको प्रतिमा स्थापनासँगै दीप प्रज्ज्वलन विशेषरुपमा औपचरिक उद्घाटन गरिने जानकारी दिए ।

विशेष पूजापाठसहित वैदिकविधि अनुसार गरिएको दीप प्रज्ज्वलन अनुष्ठानमा समितिका पुण्यप्रसाद उप्रेती, सीतादेवी कार्की, राधिका संग्रौला, विराटचोक किर्तन मण्डलीका अर्जुन उप्रेती, याम खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here