भदौ १ गतेदेखि झापामा निषेधाज्ञा अनौपचारिक रूपमा सकिएको छ । यद्यपि कोरोनाको दोस्रो काल झापामा नाम मात्रको बन्देज थियो । गत वर्ष संघीय सरकारले नै देशभरि बन्दाबन्दी गरेको थियो । त्यसैले कोरोनाको पहिलो कालमा दोस्रोको तुलनामा मानवीय क्षति कम भएको थियो । पछिल्लो समय सरकारले निषेधाज्ञा जारी गरेपछि र त्यसको प्रभावकारी अनुगमन नहुँदा क्षति बढ्दै गएको छ । यस्तै अवस्थामा डीसीएमसी झापाको सोमबारको बैठकले आम जनताको सरोकारका सबै क्षेत्र खुल्ला गर्ने निर्णय गरेको छ । यतिबेलै कोरोनाको उपचार गरिरहेका अस्पतालहरू बिरामीले भरिएका छन् । संक्रमण र मृत्युदर घट्नुको साटो बढ्दै गइरहेको छ ।
निरन्तरको बन्द र निषेधाज्ञाले देशको समग्र व्यवस्था प्रभावित भएको छ। जनताको जीवन कष्टकर पनि भएको छ । शिक्षा, यातायात, भौतिक निर्माण, अर्थ, उद्योग तथा वाणिज्य क्षेत्र थला परेका छन् । तिनलाई संरक्षण गर्ने दायित्व सरकारको हो । सरकारले सहुलियत र सुविधा उपलब्ध गराउनुपर्ने हो । तर, बन्द रहेका ती क्षेत्रलाई जबर्जस्ती कर तिराउनु त्यो पनि पूर्ववत् र दवावपूर्ण व्यवहार गर्नु अन्याय हो । स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार जनजीवन सञ्चालन भइरहेको छ– छैन त्यसको अनुगमन र नियमन नगर्दा, जनमानस स्वच्छन्द हुँदै जाँदा उत्पन्न विषम् परिस्थिति आजको परिणाम हो । यस्तोमा चौतर्फी दवाव थेग्न नसकेर शायद जिल्ला विपद् व्यवस्थापन केन्द्र झापाले आर्थिक जीवनसँग सम्बन्धित सबै क्षेत्र खुल्ला गरेको हो । यसले पार्न सक्ने असरको व्यवस्थापन गर्ने कार्ययोजना र तयारी सार्वजनिक भएको छैन, त्यसैले मानव जीवनको सुरक्षा स्वयम्को चेतना र व्यवहारको जिम्मा आएको बुझ्न जरूरी छ ।

सम्भावित संक्रमण न्यूनीकरण गर्ने सबैभन्दा प्रभावकारी उपाय भनेको व्यक्ति–व्यक्तिबीच दूरी कायम गर्नु हो । त्यसतर्फ स्थानीय सरकार र जिल्ला प्रशासन पूर्णतः असफल भएको छ । आवागमनलाई निषेध गर्न नसक्दा संक्रमण व्यापक भइसकेको छ । संक्रमण रोक्न थालिएको खोप कार्यक्रम पनि अनियमित र अव्यवस्थित भएकाले मानवीय जीवन झनै सङ्कटमा छ । त्यसो त मुख्य बजारका सडक बाहिरका धेरै व्यवसाय सधैँ खुल्लै भए । यसले समान प्रकृतिका व्यवसायी अन्याय नै भयो, अब औपचारिक रूपमै हाटबजार खुल्ला भए पछि बन्द रहने क्षेत्र भनेको देशको भविष्य मात्रै हो । अर्थात् लाखौँ विद्यार्थी भने शिक्षालय जान पाउने छैनन् । जसका कारण देशको सुदूर भविष्य प्रभावित हुने पक्का छ । अहिले पनि संक्रमण बीस प्रतिशतभन्दा तल झरेको छैन । मृत्युदर समान छ, अस्पताल कोरोनाका बिरामीले भरिभराउ छन् । अब खुल्ला भएको परिणामले थपिएकाहरूले बेड नपाउने, अक्सिजन, भेन्टिलेटर नपाउने र उपचार नै नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाका लागि कोही जिम्मेवार हुने छैन । त्यसैले विषयको गाम्भीर्यलाई अनुभूत गरौँ, कम्तीमा परिवारका लागि भए पनि घरै बसौँ र जीवन रक्षाको चुनौतिको सामना गरौँ ।



























