
आबुइ मेरो मुबिल फुनको मुसेजमा के नराम्रो सम्चार आयो बाबै । बत्तिसै लक्षिनले परिपूर्ण मेरी साइँलीलाई झण्डै कोरोनाले लागेछा । कसो कुदाएनछन् बगरतिर साइँलीलाई त ।
मेरी साइँलीले मुबिल फुनको मुसेजमा लेखिछन्– ‘हेर साइँला ! म त मर्नु पो आँटे त । खोइ कताबाट हो कोरोना लागि त हालो । खोक्दा खोक्दा तिम्रो माया साँच्ने मुटु नै बाहिर निस्केर झर्ला जस्तो भो । आगो बरु चिसो होला मेरो ज्वरो यति तातो छ कि, ओछ्यान् नै बलिसक्यो । परान धान्न चाहिने खानेकुरा भन्ने चिज केही पनि हेर्न मन लाग्दैन ।
नाकले केही सुँघ्दैन । अरे साँइला ! मलाई मात्तै यस्तो भाको हो की अरुलाई नि यस्तो हुन्छ ? के असत्ती र छ हौ कोरोना भाइरास भन्ने चिज । तर, तिम्रो माया पाउन्ज्याल साइँला ! किन पो मरि जाउँला । भएन म त गाउँमा जन्मी, हुर्की बढेकी, खेतीपाती गरेकी, अग्र्यानिक खानेकुरा, जडिबुटी खाएकी, झरनाको पानी पिएकी, चिसो हावा खाएकी पो हुँ त । कहाँ लान सक्छ र मलाई कोरोनाले हत्तपत्ती तर घरको आगनमा देख्दैछु । म मर्छु भन्ने लागेर होला, मेरो वैतरनी गर्ने तयारी गर्दै पो छन् । मलाई खोला लगेपनि कात्रो उघारेर भागेर आउँछु ।’
नभन्दै कोरोनाले लाँदा लाँदै उम्किइन् मेरी साइँली । नत्र म के गरी पो बाँचिजाउँला मेरीबास्सै । केही गरी मेरी साइँलीलाई कोरोनाले लगिहाल्यो भने मलाई चाहिँ लगिरहनै पर्दैन । म स्वयम् सती जान्छु साइँलीसँगै । साइँलीप्रतिको मेरो मुयापिरती सन्ठी जस्तो कुनै कच्चा चिजले बनेको होइन । यसै भकभकायो साइँला ।
हन कति चाहिँ आइरहन्छ हौ नराम्रो खबर मेरो मुबिलको मुसेजमा भन्दै साइँलाले साइँलीले पठाएको म्यासेज पढ्यो– ‘साइँला मलाई कोरोनाको दोस्रो लहरले नि भेट्यो । टाउको दुखेर पड्केला जस्तो भैराछ । मेरो टाउको पड्क्यो भने तिम्रो गाउँभाको पहाडसम्म नै सुनिन्छ होला हो कि साँइला ? खोइ त सुई लाए पनि कोरोना लागि हाल्दो रछ त । तर दान दिन बाछी ठिक्क पारे पनि यसपाली चाहिँ वैतरनीको सुरसार गरेका छैनन् घरमा । आधाउधी चाहिँ सुइले काम गर्दो रछ ।’

मेरो बुबिल फुनको मुसेजको बक्सामा कस्ले मुसाको नक्सा हालो हँ ? आबुई ! होइना मेरी साइँलीको नक्सा जस्तो पो छ त । तर, मेरी साइँली त झरिलिभरिली पो थिइन् त । कसरी मुसा जस्तो भइन् गाँठे ? ए है म पनि कति हुस्सु । कोरोनाको दोस्रो लहरले दुब्लाएर साइँली त मुसा जस्तो पो भइछिन् ।
साइँला पनि साइँलीलाई म्यासेज लेख्छ– ‘हे मेरी साइँली ! तिमीलाई कस्ले यस्तो पारो ? त्यही कोरोना भाइरासले होइना त ? अर्को पनि सुइ लगाउ त अनि हेरौँला मेरी साइँलीलाई कसरी मुसा जस्तो बनाउँदो रछ । साइँली तिमी यस्ती हुन सक्दिनौ । यति साह्रो कमजोर हुन सक्दिनौ । मेरो मुयापिरती पाउन्ज्याल केही हुँदैन भन्थेउ त । धन्न मन अडियो किनकि यसपाली चाहिँ वैतरणी गर्नु परेन भनेर मुसेज लेख्यौ । नत्र त म तिमीसँगै सती जान्थे । त्यति कच्चा र झुठो नसम्झ है मेरो मुयापिरतीलाई साइँली ।’
डोको भरिभरिको धन्यवाद कोरोनाको सुई तोँलाई । तोँइले मेरी साइँलीलाई कोरोना भाइरासले लानबाट बचाइस् । तोँलाई मुरीको मुरी धन्यवाद । ए है हन हौ के नमिठो खबर आकोआकै गर्छ त मोलाई । लु कोरोनाको तेस्रो लहरले नि भेटेछ मेरी साइँलीलाई । साइँलीले मुबिल फुनको मुसेजमा यस्तो लेखिछन्– ‘साँइला ! मोलाई त ओमिक्रोन भन्ने नौलो कोरोनाले नि भेट्यो । हन हाउ मोलाई कतिबिधि माया गारेको कोरोना भाइरासहारुले ? तर यसो हाँच्छिउँ साच्छिउँ गर्नु बाहेक त्यति सारो चाहिँ पारेन । दुई पटक अथवा पूर्न खोप पाखुरामा घोपेपछि त कोरोना भाइरास पनि मान्छेदेखि हार्दो रछ हौ साइँला । यसपाली पनि कोरोनाले लाँदालाँदै उम्के नि साइँला ! तिमीले पनि पूर्न खोप लगाउनु है मेरो साइँला ! अनि के रे बुस्टार डोजको सुई आओ भने त्यो पनि घोप्नु है । तिमीलाई केही भै गयो भने म के गरि बाँचौला ? तर कोरोनाले लाँदालाँदै उम्केकी साइँली भनेर हेला चाहिँ नगर है ।’
धेरै दिनपछि साइँलाको मोबाइल सेटमा साइँलीले आफ्नो तस्वीर पठाइन् । कोरोनाबाट तङ्ग्रिएपछि त साइँली उही सदाबहार रुपकी झरिलिभरिली नै भइछन् । साइँलीको यस्तो सुन्दर तस्वीर देखेपछि त साइँला औधी नै खुशी भयो । उसको खुट्टो भुइँमै भएन । बुरुक्कै भयो । टाढा–टाढासम्म सुनिने गरी साइँली भनेर चिच्यायो । अनि उसले सामाजिक सञ्जालको भित्तामा दमदार ग्लामरस स्टाटस पोष्ट्यायो ।
‘गुराँस टिपे जस्तै टपक्कै टिपेर शिरमा राखिहालुँ जस्ती । झरनामा बग्ने कञ्चन पानी जस्तै अञ्जुलीमा थापेर पिइहालुँ जस्ती । निलो सागरको गहिराइमा डुबुक्ली मारे जस्तै उनको मायामा डुबिहालुँ जस्ती । सप्तरङ्गी इन्दे्रनीको रुप जस्तै बिछट्टै रुपवती । मेरी साइँली उदुमै राम्री । तराईका मैदानमा सरर चल्ने शीतल बतास जस्ती । आकाशमा चम्किने तारा र जुन जस्ती । मेरी साइँली बहुमूल्य हिरामोती जस्ती ।
गाउँघरमा हुर्केकी, दाउरा–घाँस गरेकी, मेलापात गरेकी, अमपर्म गरेकी, पधेँरीमा पानी भरेकी, गाग्रीमा पानी बोकेकी, खोलामा नुहाएकी, हरियापरिया अग्र्यानिक खानेकुरा खाएकी, तराईको खेतमा खेती किसानी गरेकी, पहाडका पाखाहरुमा अन्न उब्जाएकी, हिमाली भेगमा जौ, उवा र जडिबुटी उमारेकी, कुटो कोदालो हँसिया, डोको नाम्लो, थुन्से, खेतबारी र गाईवस्तुलाई साथी बनाएकी, बीस हिउँद, बीस बर्खा काटेकी, रसिला स्याउका दाना जस्ता राता–राता गाला भएकी, दारिमका दाना जस्ता टलक्क टल्कने दन्त भएकी, चप्लेटी ढुङ्गा जस्तै निधार भएकी, हिमाल जस्ता सलक्क नाक भएकी, शीतका कञ्चन थोपा जस्तै नयन भएकी, झरना जस्तै झरझर केशराशी भएकी, अप्सराको जस्तो जीउडाल र पाउ भएकी अनि संगीतको धुन जस्तै मीठो बोली भएकी ।
जुहारी, दोहोरी, सेलो, पालम गाएकी । नेपाली मौलिक गीतका सुरतालमा छमछम नाचेकी । नेपाली राष्ट्रिय पोशाक र गरगहनाले झिरिझ्याँट्ट परेकी । बिहानीको घाम जस्तै मुसुक्क हाँसेकी । मेरी साइँली यस्ती राम्री । जुनेली रातमा सुटुक्कै पोइल लगिहालुँ जस्ती । न्वागीमा नयाँ अन्न चाखे जस्तै उनको बैँश चाखिहालुँ जस्ती । यिनै त हुन् कोरोनाले लाँदालाँदै उम्केकी मेरी प्यारी साइँली ।



























