सेतीदेवी मन्दिर जाने सातपत्रे खोलामा नवनिर्मित पुलको उद्घाटन गरियो

0
657

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित सातपत्रे खोलामा नवनिर्मित फलामको पुलको शनिबार एक कार्यक्रमकोबिच उद्घाटन गरिएको छ ।

स्थानीय सेतीदेवी मन्दिर व्यवस्थापन समितिको तेस्रो वार्षिक साधारण सभाको सन्दर्भमा उक्त पुलको जग्गादाता एवम् ज्येष्ठ नागरिक देवकुमारी बुढाथोकी(८८)ले उद्घाटन गरेकी थिइन् ।

वडाको बजेट दुई लाख र समितिद्वारा संकलन गरिएको तीन लाख ८८ हजारसहित जम्मा पाँच लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई ३४ फिट रहेको समितिका सचिव तुलसीराम गौतमले जानकारी दिए ।

स्थानीय सरकार र जनताको संयुक्त लगानीमा पुल निर्माण सम्पन्न भएपछी स्थानीय र मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको लागि सहज भएको नारायण कटुवाल “दिपेन्द्र”ले बताए ।

समितिका अध्यक्ष अविनारायण गौतमको अध्यक्षता र संरक्षक पृथ्वीबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समितिका सदस्य यामनाथ अधिकारीले संस्थाको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नेत्रकुमारी नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा समितिले आगामी दिनमा आकर्षक प्रवेशद्वार निर्माण गर्ने, माताको मन्दिर निर्माण गर्ने, त्यहाँ रहेको नाग पोखरीमा नागको मूर्ति स्थापना गर्ने, विभिन्न प्रजातिका बिरुवाहरु रोप्ने, भवन निर्माण गर्नेलगायतका योजनाहरु उल्लेख गरिएको छ ।

अर्जुनधारा–८ वडा समितिका अध्यक्ष गोपीचन्द्र गौतमलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा स्वागत मन्तव्य सदस्य अधिकारीले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव गौतमले गरेका थिए ।

सोही सभाले आगामी तीन वर्षे कार्यकालको लागि पुनः अविनारायण गौतमको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक भवानीप्रसाद गौतमले जानकारी दिए ।

नवगठित समितिका उपाध्यक्षमा तुलसीराम गौतम, सचिवमा यामनाथ अधिकारी, सहसचिवमा मनप्रसाद दाहाल र कोषाध्यक्षमा नेत्रकुमारी नेपाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गोपाल श्रेष्ठ, जोबा राजवंशी, टिकादेवी अधिकारी, डम्बरकुमारी सत्याल, नारायण कटुवाल “दिपेन्द्र” र रीना पुरी चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here