विर्तामोड ।

नेपाली कांग्रेसका झापाको आयोजनामा आज सम्पन्न शीर्ष नेताहरुको बैठकले एकताबद्ध भएर स्थानीय तह निर्वाचनमा जान कार्यकर्तालाई निर्देशन गरेको छ ।
पार्टीका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले एकताबद्ध भएर झापाका सबै पालिकामा चुनाव जित्ने उद्घोष गर्नुभएको छ ।
बैठकमा सहभागी नेताद्वयले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुँदा पार्टीको आन्तरिक छनौट प्रक्रियाका कारण निर्वाचनमा कुनै असर नपर्ने बताउँदै झापाको कांग्रेस एकढिक्का रहेको हुँदा उच्च मनोवलका साथ चुनाव प्रचारमा खटिन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकमा सहभागी नेताद्वयले स्थानीय तहका उम्मेदवार सिफारिस गर्दा पार्टीसँग समन्वय गरेर काम गर्न सक्ने सक्षम ब्यक्ति सिफारिस गर्न आग्रह गर्दै पार्टीका उम्मेद्वारलाई सबै मिलेर जिताउन आग्रह गर्नुभयो ।
पार्टीले उठाएको उम्मेद्वारले जित्दा वा हार्दा पार्टीकै जितहार हुने बताउदै पार्टीको निर्देशनमा काम गर्ने पद्धतिको बिकास गर्न आग्रह गर्नुभएका नेताद्वयले अन्तरघात रोकेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने कार्यमा ध्यान दिदै चुनावी गतिविधि तिब्र पार्नसमेत निर्देशन दिनुभएको छ । स्थानीय आवश्यकताका आधारमा विज्ञ समूह गठन गरी घोषणापत्र निर्माण गर्न नेताद्वयले जोड दिनुभयो ।
राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य महेन्द्राकुमारी सुब्बा, १ नं प्रदेश सभापति उद्वव थापा, जिल्ला उपसभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाई र नवीन विमली, सहसचिवद्वय कालेन्द्रप्रसादसिंह राजवंशी र कमल भण्डारी, जिल्ला सदस्य राम कट्टेल, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, जयनारायण शाह, ढुण्डिराज भण्डारीलगायत सहभागी बैठकले सबै पालिका र वडाहरुमा निर्वाचन परिचालन समिति गठन गर्न, सबै पालिका र वडाहरुमा घोषणापत्र तयारी समिति गठन गर्न, स्थानीय आवश्यकताका आधारमा गठबन्धन दलहरुसँग सहकार्यको वातावरण बनाउन एवं केन्द्रीय कार्यतालिका अनुसार वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्रबाट उम्मेद्वार सिफारिस गर्न निर्देशन दिएको छ ।


























