सुरुङ्गा ।

नेकपा एमालेको आगामी स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गरी अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
झापाको कनकाईमा नेकपा एमाले नगर कमिटीको निर्वाचन अभियान परिचालन समितिले आयोजना गरेको सो अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी समिति सदस्य एवम् नेपाल सरकारका पूर्व न्याय तथा कानुन मन्त्री तथा पूर्व महाधिवक्ता अग्निप्रसाद खरेलको प्रमुख आतिथ्य र कनकाई नगर अध्यक्ष खड्गप्रसाद प्रसाईको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरूले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि खरेलले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेले न्यायप्रेमी जनतासँग हातेमालो गर्ने बताए । विकास र समृद्धिको सम्बाहकका रुपमा रहेको एमालेका विरुद्धमा केही राजनीतिक दलहरूले गठबन्धनको नाटक गरेर जनतालाई झुक्याउने काम गर्न थालेको उनले बताए । आँफैमा विचार नमिल्ने शक्ति नेपाली कांग्रेस र माओवादीले अहिले लाच पचाएर गठबन्धनको नाममा जनतालाई झुक्याउने काम गर्न थालेकाले न्यायप्रेमी जनतालाई सचेत हुन नेता खरेलले सुझाए ।
त्यसै गरी, संविधानसभा सदस्य एवम् एमाले झापा उपाध्यक्ष प्रेम गिरीले गठबन्धनकारी दलहरू आफ्नो पार्टीको चुनाव चिन्ह बिर्सिएर अर्को पार्टीको प्रचारमा लाग्नुले ती पार्टीहरू कमजोर भएको प्रष्ट हुने बताए ।
निर्वाचन अभियान परिचालन समिति कनकाईका संयोजक रविन्द्र लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले कोरिया काण्डलाई मसला बनाएर जनताको आँखामा छारो हाल्न विपक्षीहरू खाजिरहेको बताएका थिए ।
कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष एवम् नगर प्रवक्ता गोविन्दप्रसाद पौडेलले नगरपालिकाको पाँच वर्षे विकास गतिविधि सार्वजनिक गरेका थिए ।
प्रदेश सभा सदस्य एवम् एमाले क्षेत्र नं.४ झापाका इञ्चार्ज हीराकुुमार थापाले पाँच दलको गठबन्धनदेखि सचेत हुनु पर्ने बताउँदै यसले एमालेलाई समेत फाटो ल्याउने षडयन्त्र गरिरहेको बताए ।
शेरबहादुर देउवाको दौराको फेरो समातेर बैशाखीको भरमा हिडेको गठबन्धनका कारण एमाले झन शक्तिशाली बन्दै गएको नेता थापाले प्रष्ट पारे । कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले पाँच वर्षमा भएका प्रगति प्रस्तुत गरेका थिए ।
एमाले जिल्ला सदस्य ओमप्रसाद पाठकले स्वागत गरेको कार्यक्रममा पार्टीका स्थानीयदेखि माथिल्लो निकायका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एमाले नगर उपाध्यक्ष बिनोद रानामगरले गरेका थिए ।


























