बिर्तामोड ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको एक वर्षे कार्यकाल पुरा गरेर प्रहरी प्रमुख निशेष चापागाईं काठमाण्डौं जाने भएका छन् । गएको वैशाखबाट झापाको नेतृत्व सम्हालेका चापागाईको काठमाण्डौं सरुवा भएको हो । कोरोना कहरको दोस्रो लहर शुरुभएकै समयमा झापाको नेतृत्व सम्हालेका ट्राफिक प्रहरी निरीक्षक चापागाईले दुर्घटना न्यूनिकरणका लागि विभिन्न सचेतना मुलक कार्यक्रमलाई प्राथमिकता दिएका थिए ।
कोरोना कहरको समय अनिवार्य मास्क अभियान सञ्चालन गरेका प्रहरी निरीक्षक चापागाईकै पहलमा जिल्लाभरका ट्राफिक प्रहरी मार्फत विभिन्न संघ संस्थाले मास्क वितरण अभियान सञ्चालन गरे । उनकै पालामा ट्राफिक प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन गर्दै नयाँ भवनबाट सेवा सुचारु समेत भएको छ ।

दुर्घटना न्यूनिकरणका लागि विभिन्न सामाजिक संघ–संस्थासंग समन्व्य गर्दै ट्राफिक प्रहरी निरीक्षक चापागाईले छलफल र अन्तरक्रिया कार्यक्रमलाई निरनतर रुपमा सञ्चालन गरिरहे । सरल स्वभावका प्रहरी निरीक्षक चापागाईं ट्राफिक प्रहरी माझ उदाहरणीय हाकिम बनेका छन् । नाम जस्तै काममा पनि निशेष रहेका उनले सबै ट्राफिक प्रहरीलाई आफ्नो काम प्रति सजग र सचेत बनाउँदै झापाको ट्राफिक ब्यवस्थानमा लागि रहे । बुबा स्व.प्रा.डा.नरेन्द्र चापागाई र आमा सरला चापागाईको कोखबाट जन्मिएका निशेषले स्नाकोत्तर तहसम्म अध्ययन गरेका छन् ।

सबैसंग सल्लाह र सुझाव लिएर काम गर्नुपर्छ भन्ने स्वभाव भएका निशेषले प्रहरी सहायक निरीक्षक पदबाट २०५४ साल चैत १६ गतेबाट राष्ट्र सेवकको रुपमा जागिर शुरुवात गरे । देशको सेवा गर्न उत्सुक निशेष बुबा साहित्याकार तथा आमा प्राध्यापन पेशामा आवद्ध भएपनि उनले भने राष्ट्र सेवकको जागिर रोजे । अन्यायमा परेकालाई न्याय दिनका लागि प्रहरीले काम गर्छ भन्ने बुझेका उनी सानै उमेरबाट प्रहरीमा जागिर खाएर ठूलो अफिस हुने सपना बोकेर अघि बढे ।

उनले तेह्रथुम, उदयपुर,सप्तरी, रसुवा, बारा, प्रहरी प्रधान कार्यालय, काभ्रे र झापामा सेवा प्रदान गरिसकेका छन् । उनको प्रहरी प्रधान कार्यालय परिचालन कक्षमा सरुवा भएको छ । २०५७ साल मंसीर ८ गते अम्बिका दाहालसंग वेबाहिक बन्धनमा बाँधिएका निेशेषका दुई छोराछोरी निपुर्णा र सौभव चापागाईं रहेका छन् ।

झापामा हुँदा सडक दुर्घटना न्यूनिकरणक लागि चेकजाँचलाई तिब्रता दिनुका साथै विभिन्न विद्यालयमा ट्राफिक सचेतना मुलक कार्यक्रम समेत सञ्चालन गरे । १५ वटै स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ संस्था तथा राजनीतिक दल, ब्यवसायी तथा नागरिकसंग सुमधुर सम्बन्ध बनाएका उनले कोरोना कहरका कारण अझ धेरै काम गर्न नसकेको उल्लेख गरे ।

ट्राफिक प्रहरी निरीक्षक चापागाईले झापाबाट आफुले पनि धेरै कुरा सिक्ने मौका मिलेको बताए । पूर्वाञ्चलसंग कुरा गर्दै उनले भने–प्रहरी सेवाको नियमित प्रक्रिया अन्तरगत मेरो सरुवा काठमाण्डौं भएको छ । तर ,झापामा रहँदा झापाली दाजुभाई तथा दिदीबहिनीले दिनुभएको माया र सद्भाव मेरो लागि अमूल्य सम्पत्ति हो । उनले जहाँ गएपनि झापालाई नर्बिसर्ने उल्लेख गरे ।































