झापा ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै झापामा रहेका राजनीतिक दल तथा तिनका उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्न शुरु गरेका छन् ।
आफू निर्वाचित भएसँगै स्थानीय तहलाई समृद्ध बनाउने उद्घोषका साथ दल र तिनका उम्मेद्वारले घोषणा पत्र सार्वजनिक गर्न शुरु गरेका हुन् । यसैक्रममा कृषिलाई प्राथमिकतामा राखेर नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बिर्तामोड नगरस्तरीय घोषणा पत्र सार्वजनिक गरेको छ ।
निर्वाहमुखी कृषि पद्धतिलाई व्यावसायिक पद्धतिमा रुपान्तरण गर्ने, पाँच वर्ष भित्रमा बिर्तामोडमा ३ वटा चिस्यान गृह निर्माण गर्ने, एक वर्षमा माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने साथै आवश्यकता अनुसार कृषि वजारको व्यवस्थापन गर्ने लगायतका योजना अघि सारेको छ ।
नेकपा एमालेले नगरप्रमुख पदमा पवित्रा महतरा प्रसाई र उपप्रमुखमा नगेन्द्र प्रसाद संग्रौलालाई अघि सार्दै कृषिसहित शिक्षालाई दोस्रो प्राथमिकतामा राखेर प्रतिवद्धता–पत्र तयार गरेको छ ।
नेकपा एमालेले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पाँच वर्षभित्र सामुदायिक विद्यालयमा १२ कक्षासम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने, पाँच वर्षभित्रमा स्थानीय भाषामा कक्षा सञ्चालन गर्ने, १५ वर्षमाथिका ९५ प्रतिशत नागरिकलाई साक्षर बनाइने, शिक्षाको गुणस्तर बढाउन अनुगमन प्रणाली थप प्रभावकारी बनाउने लगायतका योजना उल्लेख छन् ।
यो सँगै उद्योग, व्यापार तथा, व्यवसाय प्रवद्र्धनका लागि बिर्तामोडलाई आकर्षक कर्मशियल हव बनाइने घोषणा पत्रमा उल्लेख छ । प्रतिवद्धता–पत्र सार्वजनिक कार्यक्रममा नगरप्रमुख प्रसाई र उपप्रमुख संग्रौलाले पाँच वर्षभित्र आफूहरुले अघि सारेका सबै योजना सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटीको अध्यक्षता तथा नेकपा एमाले झापाका इञ्चार्ज अग्नि खरेलको प्रमुख आतिथ्यमा पार्टीले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।


























