ठूला दलले महिलालाई टिकट नै दिएनन् : वडाध्यक्षमा महिला शून्य

0
382

झापाका पालिकामा महिला:दुई पालिकामा प्रमुख, १२ वटामा उपप्रमुख

सुरेन्द्र भण्डारी,
बिर्तामोड।

आठ नगरपालिकासहित १५ स्थानीय तह रहेको झापामा १३१ वटा वडा छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचनबाट बिर्तामोड नगरपालिकाको नेतृत्व पवित्रादेवी महतरा प्रसाई र गौरीगञ्ज गाउँपालिकाको नेतृत्व फूलवती राजवंशीले सम्हाले पनि वडाको नेतृत्व सम्हाल्नबाट महिला बञ्चित भएका छन् ।

सातवटा पालिकाको उपप्रमुख र ५ वटा पालिकाको उपाध्यक्षमा महिला निर्बाचित भएकोमा वडाध्यक्षमा एक जना पनि महिला निर्वाचित भएका छैनन् । उनीहरुले सोमवारबाट वडाको कार्यभार समेत सम्हालेका छन् । सात पालिकामा वडाध्यक्ष पदका लागि महिलाको उम्मेदवारी नै नपरेको जिल्लाा निर्वाचन कार्यालय झापाले जनाएको छ । उम्मेदवारी परेका पालिकामा समेत महिला निर्वाचित हुन सकेनन् । जसका कारण झापामा महिलाले वडाध्यक्षको जिम्मेवारी सम्हाल्ने कोही भएनन् ।

नेपाली कांग्रेससहितको गठबन्धन दलले कुनै पनि पालिकामा महिलालाई वडाध्यक्ष पदमा प्रतिष्पर्धा गराएन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भद्रपुर–३मा मात्रै कमला थुलुङलाई वडाध्यक्ष पदमा प्रतिष्पर्धा गरायो । तर, थुलुङ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हेमबहादुर कार्कीसंग पराजीत भइन् । बाँकी वडामा नेकपा (एमाले)ले महिलालाई वडाध्यक्षको उम्मेदवार नै बनाएन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका अन्य केही दलले महिलालाई वडाध्यक्षको उम्मेदवार बनाए पनि उनीहरु निर्वाचित हुन सकेनन् । वडाध्यक्ष पदका लागि आठ पालिकाबाट जम्मा १३ जना महिलाको मात्रै उम्मेदवारी परेको थियो । जसमा भद्रपुर नगरपालिकामा दुई जना महिलाको वडाध्यक्ष पदका लागि उम्मेदवारी थियो । भद्रपुर–२को वडाध्यक्ष पदका लागि शर्मिला राय (राप्रपा) र नेकपा (एमाले) बाट कमला थुलुङको मात्रै उम्मेदवारी रहेको थियो ।

त्यस्तै मेची नगरपालिकामा चार जना महिला वडाध्यक्ष पदका उम्मेदवार रहेका थिए । जसमा वडा नम्वर ४मा मनिषा प्रधान (राप्रपा), १३ मा शान्ता राजवंशी (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल), १४ मा अमृता विक (मंगोल नेशनल अर्गनाइजेशन) र १५ नम्वर वडामा चन्द्रकला साँवा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) को तर्फबाट उम्मेदवारी रहेको थियो । बिर्तामोड नगरपालिकामा वडा नम्वर ४का लागि सुमित्रा श्रेष्ठ (नेपाल कम्युनिष्ट पार्टी माक्सवादी लेलिनवादी)को एक मात्र उम्मेदवारी परेको थियो ।

त्यस्तै बाह्रदशी गाउँपालिकामा समेत एक जनाको मात्रै उम्मेदवारी परेको थियो । बाह्रदशी–३को वडाध्यक्ष पदका लागि जनमत पार्टीबाट चन्द्रकला राजवंशीले उम्मेदवारी दिएकी थिइन् । अर्जुनधारा नगरपालिकामा तीन जनाको उम्मेदवारी परेको थियो । अर्जुनधारा–५मा राप्रपाबाट विन्दू थापा, ७मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट इन्दिरा दंगाल र १०मा नेपाल लोकतान्त्रिक पार्टीबाट चम्पामाया राईको उम्मेदवारी रहेको थियो ।

त्यस्तै कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा एक÷एक जना महिलाको मात्रै वडाध्यक्ष पदका लागि उम्मेदवारी रहेको थियो । कमलमा निर्मला आङ्देम्वे (लोकतान्त्रिक समाजवादी पार्टी) र शिवसताक्षी नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीबाट सन्तमाया माझीको उम्मेदवारी परेको थियो ।

वडाध्यक्ष पदका लागि एक जना पनि महिलाको उम्मेदवारी नपर्ने पालिकाहरुमा गौरीगञ्ज, झापा, कचनकवल र हल्दिवारी गाउँपालिका रहेका छन् भने नगरपालिका तर्फ कनकाई, दमक र गौरादह रहेका छन् । त्यसो त झापामा पुरुषको तुलनामा महिला मतदाता धेरै छन् ।

२० हजार ६ सय ६६ जना पुरुषको तुलनामा बढी महिला मतदाताले यो निर्वाचनमा मतदान गरे । हालै सम्पन्न निर्वाचनमा पुरुष मतदाता मध्ये २ लाख १७ हजार ४ सय ५ जनाले मतदान गर्दा २ लाख ३८ हजार ७१ जना महिला मतदान प्रक्रियामा सहभागी बने ।

जिल्ला निर्बाचन कार्यालय झापाका अनुसार जिल्लाका कूल मतदातामध्ये ७० दशमलब ४८ अर्थात् ४ लाख ५५ हजार ४ सय ७६ जना मतदाताले मात्रै यस पटकको निर्बाचनमा भाग लिए । निर्वाचनमा महिलाको सहभागिता उल्लेख्य रह्यो । जिल्ला निर्बाचन कार्यालय झापाका अधिकृत तुलसीकुमार नेपालका अनुसार पुरुषको तुलनामा झापामा तीन हजार ४ सय ४१ जना महिला मतदाता बढी छन् ।

झापामा पुरुष मतदाताको संख्या ३ लाख २१ हजार ५ सय २० रहेको छ भने महिला मतदाताको संख्या ३ लाख २४ हजार ७ सय ६ र अन्य ९ समूहमा ९ जना गरी जम्मा ६ लाख ४६ हजार २ सय ३४ जना मतदाता छन् । त्यसमा यो वर्ष १ लाख ९० हजार ७ सय ५८ जनाले मतदान प्रक्रियामा भाग नै लिएनन् ।

१५ स्थानीय तह रहेको झापामा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १७ ,नेपाली कांग्रेसले ९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट जितेको छ । वडा तर्फ नेकपा (एमाले)ले ६१, नेपाली कांग्रेसले ५१, नेकपा (माओवादी केन्द्र) ७, राप्रपा ७, नेकपा (एकीकृत समाजवादी) १ र स्वतन्त्रबाट ४ जनाले वडाध्यक्ष जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here