सुरेन्द्र भण्डारी ,
घोडामारा,
गाउँमै लघुउद्यमी कार्यक्रम सञ्चालन भएपछि दक्षिण झापाको बाह्रदशी गाउँपालिकाका अधिकांश बेरोजगार युवा स्वरोजगार बनेका छन् ।
युवालाई लक्षित गर्दै गरिबी निवारणका क्षेत्रमा गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरेपछि त्यस क्षेत्रका बेरोजगार युवा स्वावलम्वी बन्दै गएका हुन् । वेराजगार युवा अहिले बाख्रापालनदेखि सिलाइ बुनाइसम्मका काममा व्यस्त छन् । पुरुषहरुले व्यवसायिक पशुपालनमा जोड दिएका छन् भने महिलाहरु दुना टपरी बनाउनदेखि च्याउखेती, अचार उत्पादन, ढाका बुनाइ, व्युटीपार्लर सञ्चालन, व्याग तथा झोला बनाउने काम र कृष्टलका गहना बनाउने तथा सिलाइ–बुनाइका काममा व्यस्त छन् । व्यक्तिगत फर्म दर्ता गर्दै महिलाहरु उत्पादनमुखी काममा लागेका छन् भने कतिपयले व्यवसायसँगै पशुपालन समेत गरेका छन् ।
बाह्रदशी गाउँपालिका–२की सृजना श्रेष्ठले आफ्नै घरमा श्रेष्ठ व्याग झोला उद्योग सञ्चालनमा ल्याएकी छिन् । गाउँपालिकाले प्रदान गरेको लघुउद्यम विकास तालिममा सहभागी हुँदै बेसिक र एड्भान्स कोर्ष पूरा गरेसँगै उनले घरमै ब्याग उद्योग सञ्चालनमा ल्याएकी हुन् ।

गत चैत महिनाबाट उद्योगकै रुप दिएर सञ्चालनमा ल्याएको उद्योगले अहिले उनलाई स्वावलम्बी बनाएको छ ।
आफूले उत्पादन गरेको झोलाहरु बिक्री गर्दै छोटो समयमा नै मनग्ये आम्दामी गर्न थालेको उनले बताएकी छिन् ।
उत्पादन गरेको झोला बजारसम्म पु¥याउन नपर्ने उनको भनाइ छ । सृजनाले उत्पादन गरेका झोला बाह्रदशी गाउँपालिकाभरिका जनसाधारणले खरिद गर्ने गरेका छन् भने अन्य पालिकाबाट आएका मानिसले समेत चिनो स्वरुप लाने गरेको उनले बताइन् ।
श्रेष्ठले लेडिज आइटमका सबै ब्याग, बालबालिकाका लागि स्कूल ब्याग, सपिङ गर्न साइज
अनुसारका ब्याग, कलेक्सन ब्याग, मनी पर्स, सुर्केथैली, प्लाष्टिकको झोलाको सट्टामा प्रयोग गर्न सकिने वातावरणमैत्री
झोला बनाउँदै बिक्री गर्दै आएकी छिन् । ‘हिजोका दिनमा वेरोजगार भएर बसेकी थिएँ, गाउँपालिकाले सञ्चालन गरेको
लघुउद्यम विकास तालिममा सहभागी भएसँगै अहिले आम्दानीको दर्बिलो स्रोत बनाउन सक्षम भएकी छु’ –श्रेष्ठले
भनिन् ।

उनी जस्तै बाह्रदशी–५का दीपक उप्रेतीले पनि पशुपालन व्यवसाय शुरु गरेका छन् । उनले उप्रेती कृषि तथा पशु
एकीकृत फर्म सञ्चालनमा ल्याउँदै लोकल, बोयर र जमुनापारी प्रजातिका बाख्रापालन गरिरहेका छन् । गत वर्षको माघदेखि
बाख्रापालन शुरु गरेका उनले फर्म सञ्चालका लागि दश लाख रुपैयाँ लगानी गरेका हुन् । योसँगै उनले गाई–भैंसी पालन गरेर दूध बिक्री गर्दै आम्दानी गर्न शुरु गरेको बताइन्छ । आगामी दिनमा यसैलाई बढाएर लैजाने र मासिक एक लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको सोच रहेको छ । उनले पनि गाउँपालिकाले नै प्रदान गरेको तालिम लिएर व्यवसाय शुरु गरेको बताएका छन् ।

सोही ठाउँका रुद्रा सेढाई पनि अहिले व्यवसायिक पशुपालनमा लागेका छन् । उनी अहिले उप्रेती जस्तै स्वावलम्बी बन्न रातदिन मेहनत गरिरहेका छन् । उनले पनि देवेश्वर कृषि फर्म सञ्चालनमा ल्याएका हुन् । गाउँपालिकामा अहिले लघुउद्यमका तालिम सञ्चालनपछि व्यवसायिक फर्म सञ्चालन गर्दै पशुपालन शुरु गरेकाहरुले वडास्तरबाटै पशुचिकित्सक उपलब्ध गराइनुपर्ने माग गरेका छन् । भेटेनरी डाक्टर नहुँदा आफूहरुले चौपाय विरामी हुँदा समस्या झेल्नुपरेको भन्दै गाउँपालिकाले निःशुल्क औषधिको व्यवस्था र पशु बिमाका लागि बजेटको व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् । बाख्रापालन गर्नेहरुका लागि वीऊ बोका नहुँदा समस्या भएको भन्दै गाउँपालिकाले नै बोयर जातका वीऊ बोका खरिद गर्दै समूहगत रुपमा दिनुपर्ने माग गरेका छन् ।

गाउँपालिकाले लघुउद्यम कार्यक्रम सञ्चालन गरेसँगै त्यस ठाउँमा महिलाहरुले दुना टपरी समेत बनाउँदै आयआर्जनको
बाटोमा लागेको उद्यम विकास सहजकर्ता हिमा चापागाँईले बताइन् । चापागाँईका अनुसार बाह्रदशी–६का महिलाहरुले
दुना–टपरीबाटै मनग्ये आम्दानी लिने गरेका छन् । त्यस क्षेत्रका महिलाहरुले दुना–टपरीसँगै अन्य आय–आर्जनका
कार्यक्रम समेत सञ्चालन गरेको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता चापागाँईले बताइन् । यो सँगै अचार उत्पादनमा
बाह्रदशी–५ शान्तिटोलका महिला जुटेका छन् । त्यस्तै च्याउखेती समेत सञ्चालन गरिरहेको उनको भनाइ छ ।
यता बाह्रदशी–५ र ६मा ढाका बुनाइ उद्योग नै सञ्चालनमा आएको छ । गाउँपालिकाले प्रदान गरेको तालिम लिएर सविता
ढाका उद्योग सञ्चालनमा ल्याएको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता चापागाईंले बताइन् । बाह्रदशी–५ र ६मा अहिले ढाका उद्योग सञ्चालमा रहेको बताइएको छ । त्यस्तै वेरोजगार युवा (महिला)ले व्युटीपार्लर सञ्चालन गर्दै आम्दानी गरिरहेको बताइन्छ । वडा नं. १ देखि वडा नं. ७ सम्मकै तालिम लिएका किशोरीहरु अहिले व्युटीपार्लर सञ्चालन गर्दै आम्दानी गरिरहेका छन् । चापागाँईले भनिन्– ‘योसँगै कृष्टलको गहना बनाउने काम सँगै यहाँका महिलालाई स्वरोजगार बनाउन टेवा पुगेको छ ।’ सिलाइ बुनाइका लागि ३, ४, ५ र ६ नं. वडामा विशेष कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ । ती वडामा किशोरीहरु तालिम लिएर लघुउद्यमी बन्न सफल भएको चापागाँईको भनाइ छ ।

गत सालबाट वेरोजगारहरुलाई स्वरोजगार बनाउने अभियानमा पालिका लागीपरेको र जसका लागि बजेटको
व्यवस्थापन गर्दै वडाका प्रत्येक टोल–टोलमा यसखाले कार्यक्रम सञ्चालन गरेको बताइएको छ । नेपाल सरकारले प्रदान
गरेको सशर्त अनुदान र गाउँपालिकाले छुट्याएको बजेटबाट लघुउद्यम विकासका कार्यक्रम सञ्चालनमा रहेको बताइन्छ ।
यसले गरिबी निवारणमा टेवा पुगेको लघुउद्यम विकास सहजकर्ता चापागाँईको भनाइ छ ।

वित्तीय पहुच र बजारीकरणका विषयमा छलफल
गाउँपालिकामा लघुउद्यम विकासका कार्यक्रम सञ्चालन भएसँगै त्यहाँ उत्पादित वस्तुको बजारीकरणमा समस्या हुन
सक्ने भन्दै पालिकाले नै यसको व्यवस्थापनका लागि पहल शुरु गरेको छ । जसका लागि बाह्रदशी गाउँपालिका–५मा
उद्यमी, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी र जनप्रतिनिधिलाई सम्मिलित गराउँदै समस्या र समाधानका उपायको खोजी गरिएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गर्दै बाह्रदशी गाउँपालिकाका नागरिकले उत्पादन गरेको वस्तुलाई कसरी
बजारीकरण गर्ने विषयमा छलफल भएको छ भने लघुउद्यमीका समस्या सम्बोधनका लागि पालिकाले के गर्न सक्ला ? भन्ने विषयमा समेत छलफल भएको सहजकर्ता चापागाँईले बताइन् । त्यस्तै लघुउद्यम सञ्चालनका लागि आर्थिक व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थासम्म पहुँच नपुगिरहेको र उनीहरुलाई पहुँचमा पु¥याउन पालिकाले नै पहल गरेको हो ।
जसका लागि बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग अन्तरसंवाद समेत गराएको छ । कार्यक्रममा जनप्रतिनिधि जय तिम्सिना, पूर्वजनप्रतिनिधि जीवन खरेल, स्वरोजगार बचत तथा ऋण सहकारीका सुरेन्द्र बुढाथोकी, एमाले नेतृ रेणुका भुर्तेल, माछापुच्छ्रे बैंकका प्रतिनिधि लगायतले बोलेका थिए ।
यहाँबाट इ पेपर पढ्न सक्नु हुन्छ । https://purwanchaldaily.com/wp-content/uploads/2019/06/19-asahr-final-1.pdf































