सुरुङ्गा ।

कनकाई मावि सुरुङ्गाको सहायक प्रधानाध्यापकमा तीर्थराज खरेल नियुक्त भएका छन् ।
गत असार १६ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षतामा बसेको विव्यसको बैठकले उनलाई सहायक प्रधानाध्यापकमा नियुक्त गरेको हो । प्रअ कर्णबहादुर डाँगीको सिफारिसका आधारमा खरेललाई सहायक प्रअमा नियुक्त गरेको सोही विद्यालयका शिक्षक–अभिभावक संघ (पीटीए) का अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । सो विद्यालयमा सूचना अधिकारीको रूपमा रहेका खरेलले लामो समयदेखि प्रअ डाँगीलाई प्रशासनिक कार्यमा सहयोग पु¥याउँदै आएका थिए ।
भृकुटी मावि दुर्गापुरबाट प्राथमिक र कनकाई माविबाटै माध्यमिक तहको शिक्षा पूरा गरेका खरेल बिराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातक पूरा गरी २०४९ सालदेखि सुरुङ्गास्थित पशुपति अंग्रेजी माविमा माध्यमिक शिक्षकको रूपमा शिक्षण सेवामा प्रवेश गरेका थिए । ३ वर्ष पशुपतिमा सेवा गरी त्यसपछि २०५९ सालसम्म सुरुङ्गामै सञ्चालित श्री हरिकुल नमूना माविमा कार्यरत उनी २०५९ सालदेखि कनकाई माविमा माध्यमिक तहमा अंग्रेजी शिक्षकको रूपमा सेवा प्रवेश गरेका थिए ।
एक महिने विद्यालय व्यवस्थापन सम्बन्धी प्रधानाध्यापकको तालिम, एक महिने पेशागत विकास तालिम लगायतका तालिम लिएका खरेलसँग प्रधानाध्यापक चलाएको अनुभव समेत रहेको छ । उनले मेचीनगरको धाइजनस्थित बलभद्र जनता माविमा प्रधानाध्यापकको जिम्मेवारी लिई विद्यालयलाई स्तरोन्नति गरी कक्षा १२ सम्म पु¥याउन स्थानीय शिक्षा सेवीहरूसँग मिली महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
उनी २०६६ सालदेखि पुनः कनकाई माविमै सरुवा भई हालसम्म कनकाईमै कार्यरत रहेका छन् । २०७६ सालमा शिक्षक सेवा आयोगबाट लिइएको परीक्षामा माध्यमिक तह द्वितीय श्रेणीमा पदोन्नति भएका खरेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा एम्.ए, एम्.एड्.सम्मको शिक्षा हासिल गरेका छन् ।
हाल उनी कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस सभा सदस्य तथा सुरुङ्गास्थित युनिक बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्षका रूपमा क्रियाशील छन् । दर्शन र राजनीतिक चिन्तनमा हरदम चासो राख्ने खरेल शिक्षा क्षेत्रमा नवीनतम् प्रविधिको उपयोग गर्नुपर्ने र सहभागितामूलक शिक्षामा विश्वास राख्छन् ।
खरेल शिक्षण पेशामा संलग्न रहँदै कनकाई सुरुङ्गा प्रेस क्लबको संस्थापक अध्यक्ष समेत रही पत्रकारिता क्षेत्रमा आबद्ध छन् । उनी स्थानीय तथा खोज अनुसन्धानमूलक समाचार सम्प्रेषण गरी कनकाई नगर क्षेत्रका आम नागरिकहरूको भावना र संघसंस्थाहरूको समर्थन र सहकार्यमा लोकतन्त्र र जनताको पक्षमा सदैव दृढतापूर्वक उभिंदै आएका छन् । कनकाई नगरलाई बन्द–हडतालमुक्त शान्तिक्षेत्रका रूपमा स्थापित गर्न व्यापारी, व्यवसायी र राजनीतिकर्मीसँगै खरेल पनि एक सञ्चारकर्मी र बुद्धिजीवीका रूपमा दृढतापूर्वक उभिएका थिए ।
हाल उनी सुरुङ्गाबाट प्रकाशित कनकाई खबर साप्ताहिक र विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल राष्ट्रिय दैनिक तथा आमसञ्चार डटकमसँग आबद्ध रहेका छन् । सहायक प्रअको रूपमा नियुक्त भइसकेपछि खरेलले विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक, व्यवस्थापकीय क्षेत्रमा समस्त अग्रजहरूको निर्देशनलाई शिरोपर गर्दै प्रधानाध्यापकको भरपर्दो सहयोगीको रूपमा विद्यालय व्यवस्थापन समिति र पीटीएले दिएका जिम्मेवारीहरू पूरा गर्दै विद्यालयको उन्नयनमा क्रियाशील रहने खरेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।






























