शान्त बिद्रोह र अपेक्षा

0
210

मंसीर ४ गते सम्पन्न निर्वाचनको परिणाम लगभग आइसकेको छ । यद्यपि प्रत्यक्ष तर्फको तीन वटा क्षेत्रको नतिजा सार्वजनिक भइसक्न अझै दुई–चार दिन लाग्न सक्छ । सँगै समानुपातिक तर्फको मतगणनाको परिणामले सरकार गठनमा योग पु¥याउने कारणले सम्पूर्ण नतिजाको प्रतिक्षा गर्नैपर्छ । यसैबीच सत्तारुढ गठबन्धन दलले सरकार गठनका लागि पहल थालेको छ । तर, गठबन्धनकै मुख्य दल नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व गर्ने सवालमा मतभिन्नता देखिएको छ । त्यसमाथि आममतदाताको नयाँ अनुहार र नयाँ दलप्रतिको आकर्षणले परम्पराको निरन्तरतामा सन्देह उत्पन्न गरेको छ । यसपटक पुराना र स्थापित दलहरुप्रति विकर्षण र नयाँ जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण देखिनु मतदाताको चेतना बढ्नु हो । यसलाई शुभ संकेत र मतदाताको शान्त र शालीन बिद्रोही मान्नु पर्दछ ।
पुराना र परम्परागत दल र नेताहरुबाट मतदाताले नयाँपन नपाएकै कारण यस्तो विद्रोह गरेका हुन् । त्यही दलले समानुपातिकतर्फ प्राप्त गरेको मतले पनि जनादेश नवीनताकै पक्षमा छ भन्ने अर्थ दिन्छ । एक त यसपटक विगतभन्दा कम प्रतिशत मत खसेको छ, अर्को नयाँ पात्र, विचार आशाका केन्द्र बनिएका छन् । पटक–पटकको आन्दोलनमा सहभागी मतदाता व्यवस्था बदलिएर पनि अवस्था नबदलिएका कारण दिक्क थिए । बेथिति, विकृति, विसंगति, भ्रष्टाचार र कुशासन चुलिएका थिए । त्यही कारण पनि मतदाता कुशासनको साम्राज्य तोड्न शान्त विद्रोहको बाटो रोज्न बाध्य भए ।
मतदाताको यावत असन्तुष्टिले स्वतन्त्र लगायतका नयाँ अनुहारलाई संसद यात्राको अवसर प्राप्त भएको छ । त्यसैले अनुहारले मात्र नेपालीको इच्छा, सपना र आवश्यकतालाई पूरा गर्न सक्दैन । परिवर्तनको आभाष पनि गराउने छैन । नयाँ दल, अनुहार, नयाँ ऊर्जा र सामथ्र्य यथास्थितिको अन्त्यका लागि उपयोग हुनुपर्दछ । उनीहरुको उपस्थितिले कांग्रेस, एमाले लगायतका दलहरुको निरंकुशता र एकाधिकारको अन्त्य गर्दै देशलाई सुशासनतर्फ उन्मुख गराउनु पर्दछ । देशमा विद्यमान विकृतिहरु हटाएर स्वस्थ र समृद्ध समाज निर्माण गर्न नयाँ दल र अनुहार परिवर्तनकारी नेतृत्वका रुपमा अघि बढ्नुपर्छ, यो नै बिद्रोही मतको सन्देश पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here