व्यवसायी मैनाली एक महिनादेखि वेपत्ता

0
185

बिर्तामोड ।

झापाको अर्जुनधाराका एक व्यवसायी एक महिनादेखि बेपत्ता भएका छन् । बिर्तामोड–५ स्थित शनिश्चरे रोडको गरुवा स्टेण्ड नजिकै मोबाइल फोनको पाट्र्सको होलसेल र झापाकै गोलधापमा निर्जला एग्रो भेट्स कृषि फर्म सञ्चालन गर्दै आएका अर्जुनधारा–६ का ३८ वर्षीय टीकाप्रसाद मैनाली एक महिनादेखि बेपत्ता भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

‘गत माघ १५ गतेदेखि श्रीमान् बेपत्ता हुनुभयो । सबैतिर खोजतलाज गरिसक्यौ कतै अत्तोपत्तो छैन’ – मैनालीकी श्रीमती बालकुमारी मैनालीले भनिन् । परिवारका सदस्यलाई जानकारी नै नदिई माघ १५ गते दिउँसो १२ः३० बजेबाट मोबाइल पसलबाट निस्किएका मैनाली घर नफर्किएपछि उनको खोजी शुरु भएको थियो । उनले राति ८ः३० मा वार्टसएप मार्फत छोरालाई सम्पर्क गरेर आफू बजारतिर रहेको र घर आउने बताएको भए पनि उनी नफर्किएको मैनालीकी श्रीमती बालकुमारीले बताइन् ।

श्रीमान नफर्किएपछि इलाका प्रहरी कार्यालय अनारमनीमा हुलियासहित जाहेरी दिनुका साथै सबै आफन्तमा खोजतलास गरिसकेको उनको भनाइ छ । शनिबार पूर्वाञ्चल दैनिकको कार्यालयमा आएकी मैनालीले आफ्नो श्रीमान खोजी गरिदिन सबैसँग आग्रह गरेकी छन् । मैनालीले बोक्ने ९८४२६४७८९२ नम्बरको मोबाइल फोन अफ रहेको बताइएको छ । उनले सोही दिन कालो ज्याकेट, निलो पाइन्ट र टोपी लगाएको तथा कालो ब्याग भिरेको उनका दाजु राजेन्द्रप्रसाद मैनालीले बताए ।

पूर्वाञ्चलकर्मीसँग राजेन्द्रले भने– ‘भाइ टिकाको कतै रिसीइबी पनि थिएन, कतैबाट अपहरण भएको पनि जानकारी आएको छैन । कता गयो अहिलेसम्म परिवारको सम्पर्कमा छैन ।’ उनले इलाका प्रहरी कार्यालय अनारमनीमार्फत खोजी गरिदिन प्रहरीलाई आग्रह गर्नुका साथै सबै जानकारी गराइसकेको भए पनि महिनादिन बितिसक्दा पनि भाइको अत्तोपत्तो नभएपछि सञ्चारमाध्यममा जानकारी गराउन आएको उल्लेख गरे । मैनालीका एक छोरा र एक छोरी रहेका छन् ।

यता इलाका प्रहरी काार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले मैनालीको खोजी काार्य जारी रहेको बताए । उनले मैनालीसंग सम्पर्क भएका सबैलाई सोधीखोजी गर्ने काम जारी रहेको र अहिलेसम्म उनको अवस्था थाहा हुन नसकेको उल्लेख गरे । मैनाली वेपत्ता हुनुमा आर्थिक पक्ष देखिएको भएपनि अनुसन्धान भइरहेकाले उनको कारण खुल्न नसकेको जानकारी दिए । कार्कीले भने– मैनालीको खोजीका लागि प्रहरीले सबै संयन्त्र प्रयोग गरेको छ । अहिलेसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन् ।

उनले परिवारमा अन्तिम कल वार्टसएप मार्फत गरेकाले उनी सीमापारी पुगेको आशंकामा त्यस तर्फ पनि अनुसन्धान थालिएको प्रहरी नाायब उपरीक्षक कार्कीले बताए । एक महिनादेखि वेपत्ता भएकाले उनी अपहरणमा परेको आशंका नगरिएको आफैं निस्किएकााले उनी आफैं कतै हिडेको आशंका गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here