सर्वदलीय बैठक : इजरायलमा फसेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई सुझाव

0
89
काठमाडौँ, 
सर्वदलीय बैठकमा राजनीतिक दलहरुले इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई सुझाव दिएका छन्। स्वदेश फर्किन चाहनेलाई तत्काल हवाईजहाज पठाएर स्वदेश ल्याउने व्यवस्था मिलाउन पनि माग गरेका छन्। इजरायल-हमासको युद्धमा फसेका नेपालीको उद्धारमा ढिलाइ गर्न नहुनेमा दलहरुले जोड दिए।
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकामा सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ । सिंहदबारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्यहाँका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आवश्यक सबै तयारी गरिसकेको जानकारी दिँदै धन्यावाद ज्ञापन गर्नुभएको हो ।
उहाँले सरकारको प्रयासका कारण बङ्करमा फसेका नेपाली विद्यार्थीको आज उद्धार भइसकेको र नेपाल फर्कन चाहनेलाई विमान चार्टर गरी ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताउनुभयो । “चाँडोभन्दा चाँडो सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने राष्ट्रिय दायित्वका हिसाबले सबैलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो”, प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले रासससँग भन्नुभयो, “सङ्कटको यो समयमा राष्ट्रिय सहमति भयो, सबैको एक स्वर रह्यो, त्यसका लागि प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयो ।”
प्रधानमन्त्री दाहालले बोलाउनुभएको उक्त बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडका, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गरेको कामबारे जानकारी दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here