बिराटनगर ।

मोरङको बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच शुरु गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सिमावर्ती इलाकामा तालिम प्राप्त कुकुरसहित थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो ।
कोशी प्रदेशको मुख्य नाका रहेको बिराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोलीद्वारा सिमा नाकामा आवत जावत गर्ने शंकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदै आएको छ ।
उसैबीच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (पीआईटी) बाट खटिएको प्रहरी टोलीले अबैध समान बरामद गरी भन्सार कार्यालय बुझाएको छ ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–६ मा भारतबाट अबैध रुपमा भन्सार छली गरेर ल्याएर राखेको अवस्थामा अन्दाजी एक लाख ९६ हजार रुपैयाँ बराबरको बिभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरेको हो ।
अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागी बिराटनगर भन्सार कार्यालय बुझाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































