प्रकृति सर्वमान्य छ, सर्वोपरी हुन्छ र रहन्छ । त्यसैले मानिस प्रकृतिसँग जुध्न सक्दैन र आफूलाई प्रकृति अनुकूल बनाउने प्रयासमा रहन्छ । त्यही विशेषताको प्रकृति र प्रकृतिद्वारा सिर्जित अनेक विध्न एवम् प्रकोपबाट जोगिन हामी पूर्व तयारी गर्छौं र सतर्कता अपनाउँछौं । विश्वका विभिन्न ठाउँमा दिनहुँजसो आइपर्ने भूकम्प, आँधी, बाढी, पहिरो, ज्वालामुखी जस्ता प्राकृतिक विपत्तिले आर्थिक, भौतिक एवम् मानवीय क्षति गरिरहेको छ । कस्तै समृद्ध भनिने देशहरु पनि प्रकृतिको यो विनाशकारी प्रकोपबाट सुरक्षित हुन सकेका छैनन् । पृथ्वीको भूगोल र हरेक कुनामा यस्ता प्राकृतिक प्रकोपको सम्भावना छ र जोखिम बढाएको छ । यद्यपि कतिपय प्रकोपहरुका लागि मानवीय क्रियाकलाप दोषी छन् जसले जलवायु परिवर्तनसँगै जोखिम पनि बढाएको छ ।

प्राकृतिक विपद्को जोखिम र त्यसले पु¥याएको क्षतिको पीडाबाट विश्व र सम्पूर्ण मानव समुदायलाई जोगाउन संयुक्त राष्ट्र संघको साधारणसभाले अक्टोवर १४ लाई विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । सन् १९८९ मा राष्ट्रसंघको महासभाले पारित गरेको यो दिवसमा आज सचेतना कार्यक्रम गर्ने गरिएको छ । त्यसकै निरन्तरताका रुपमा आज हाम्रो देशमा पनि यो दिवस मनाइँदैछ र अत्यन्त जोखिमयुक्त भूगोलमा रहेका हाम्रा लागि प्राकृतिक विपद्बिरुद्धको जागरण, सिप र शिक्षाको झन् बढी खाँचो छ । छोटो दूरीमा भएको भौगोलिक विविधताले पूर्ण नेपालमा यस्ता प्राकृतिक प्रकोपहरु आइनै रहेका छन् । त्यसमा पनि नेपाल भूकम्पीय जोखिमको उच्च तहमा पर्ने भूगर्भविद्हरुको भनाइ छ ।
कतिपय विपद् मानिसको कुनै सचेतताले रोक्न वा न्यूनीकरण गर्न सकिँदैन । तर, कतिपयका लागि मानवीय क्रियाकलाप जिम्मेवार छन् । बाढीपहिरो, अधिक वर्षा, खडेरी, डढेलो, पहिरो लगायतका घटनामा मानवीय गतिविधिलाई कारक मानिन्छ । जलवायु परिवर्तनका कारण बढेका कतिपय विपद्लाई ज्ञान, सिप, होशियारीले केही कम गर्न सकिन्छ । भौगोलिक अध्ययन बिना गरिने विकास निर्माणका कार्यमा वैज्ञानिक अध्ययन नगरिँदा, जथाभावी संरचना निर्माण गर्दा क्षति हुने गरेको छ । त्यसैले वैज्ञानिक भू–उपयोग नीति बनाएर मानवीय गतिविधि सञ्चालन गरिनुपर्दछ । यसका लागि सरकारले अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । त्यसैगरी आमनागरिकलाई प्राकृतिक विपद् सम्बन्धी ज्ञान प्रवाह गर्दै प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्नुपर्छ । आजको दिनले विश्वलाई त्यसतर्फ सचेत गराओस् ।



























