भारतीय निर्वाचन र अपेक्षा

0
4

छिमेकी देश भारतमा यस वर्षको लोकसभाको आवधिक निर्वाचन सम्पन्न भएको छ । शनिबार सम्पन्न सातौं चरणको अन्तिम निर्वाचनमा आठ राज्य र केन्द्र शासित प्रदेशका ५७ सिटसहितका लागि भएको निर्वाचन विश्वभरकै लागि चासोको विषय बनिएको छ । किनकि सत्तारुढ दल भारतीय जनता पार्टीको भविष्य यही अन्तिम चरणको निर्वाचन परिणामले निर्धारण गर्नेछ । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी सत्ता यात्रा निर्धारण गर्ने यो निर्वाचन यसकारण पनि महत्वपूर्ण मानिएको छ कि उनको दलले बहुमत ल्याए उनी तेस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित छ ।

भारत सरकारले अघि बढाएको परराष्ट्र सम्बन्ध र छिमेकी देशहरुसँग सोझै जोडिने कतिपय विषयले पनि यस पटकको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । यही निर्वाचनमा विपक्षी दल कांग्रेस पार्टीले भने वर्तमान सरकारले नेपालसँग लिएको नीतिलाई परिवर्तन गर्ने घोषणा गरेको छ । तेस्रो कार्यकालको आकांक्षा प्रकट गरेका प्रधानमन्त्री मोदी चुनावी प्रचारप्रसार सकिएसँगै आध्यात्मिक साधनामा लागेका छन् । उनले निर्वाचन लक्षित अवधारणा पत्रमा सम्मान, शान्ति, संवाद, सहयोग र समृद्धिलाई प्रमुखताका साथ समेटेका छन् । छिमेकीलाई प्राथमिकता दिने उनको उक्त अवधारणामा व्यक्त विचारमा त्यसकै आधारमा विदेश नीतिलाई निरन्तरता दिने र बलियो बनाउने प्रतिबद्धता जनाइएको छ ।

यसपटकको संसदीय निर्वाचनमा विपक्षी कांग्रेस पार्टीले पनि सत्ता पुनरागमन हुने विश्वास गरेको छ । कांग्रेसले अत्यन्त निकट देश नेपालसँग ‘अधिक ध्यान’ दिने भन्दै वर्तमान सरकारको छिमेकी प्रतिको कमजोर सम्बन्धलाई बलियो बनाउँदै पुनस्र्थापित गर्ने जनाएको छ । नेपाल र भारतका बीचको परम्परागत तथा ऐतिहासिक सम्बन्ध पछिल्लो समय कमजोर भएको टिप्पणी भइरहेका बेला सम्पन्न निर्वाचनको परिणाम नेपालका लागि पनि अर्थपूर्ण रहन्छ । नेपालमा विगतमा भएका राजनीतिक परिवर्तनका आन्दोलनहरुमा भारत सरकारको भूमिका रहेकाले पनि यो निर्वाचन चर्चा र विवादमा रहँदै आएको छ । नेपालको पुरानो र शक्तिशाली देश भारतसँगको खुल्ला सीमाना, धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय समानताका कारण पनि त्यहाँको चुनाव नेपालका लागि चासोको विषय बनिने गरेको छ । अबको चार दिनमा निर्वाचन परिणाम आउने छ र सत्ता यात्राको अनिश्चयको टुङ्गो लाग्नेछ । जसले नेतृत्व गरे पनि नयाँ बन्ने सरकार नेपालको विकास र समृद्धिमा सहायक बनिनुपर्छ, नेपालीको अपेक्षा त्यत्ति हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here