झापामा भयावह बन्दै लागूऔषधः ११ महिनामा ४०९ जना पक्राउ,भरिया पक्राउ पर्दा कारोबारी उम्किए

0
49

नरेन्द्र ढकाल,
बिर्तामोड।

झापामा लागूऔषधको कारोबार बढ्दै गएको छ । प्रहरीले लागूऔषधबिरुद्धका विभिन्न कार्यक्रम सञ्चालन गरे भने कारोबारी तथा प्रयोगकर्ताको संख्या घट्न सकेको छैन ।

खुल्ला सीमानाको फाइदा उठाउँदै लागूऔषध कारोबारीहरुले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध नेपाल भित्र्याउने गरेको पाइएको छ । प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा लागूऔषध कारोबारी तथा प्रयोगकर्ता गरी तीन सय ३६ जनालाई पक्राउ गरेर दुई सय छ वटा मुद्दा दर्ता गरिएको थियो ।

त्यस्तै चालू आर्थिक वर्ष २०८०/०८१ को ११ महिनाको अवधिमा चार सय नौ जना पक्राउ परिसकेका छन् भने दुई सय ६५ वटा मुद्दा दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

उनका अनुसार गत वर्षभन्दा यो वर्ष पक्राउ संख्या २८ प्रतिशत र मुद्दा दर्ता संख्या २१ प्रतिशतले वृद्धि भएको छ । लागूऔषध कारोबारीहरुले अधिक मात्रामा ब्राउनसुगरको प्रयोग गर्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा एक किलो पाँच सय ५८ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले चालू आर्थिक वर्षको ११ महिनामा दुई केजी ८५ ग्राम ब्राउनसुगर बरामद गरिसकेको बताइएको छ ।

गत वर्षभन्दा ८१.७० प्रतिशत बढी ब्राउनसुगर बरामद गरिसकेको बताइएको छ । गत वर्ष १५ केजी सात सय ग्राम गाँजा बरामद गरेको प्रहरीले यो आर्थिक वर्षको ११ महिनामा २८ केजी छ सय दुई ग्राम गाँजा बरामद गरिसकेको छ । लागूऔषध प्रयोगकर्ताले गाँजा लगायतका लागूऔषधभन्दा ब्राउनसुगरको प्रयोग धेरै गर्ने गरेको पाइएको छ ।

झापाको १४४.२ किलोमिटर खुल्ला सीमाना रहेकाले प्रत्येक ठाउँमा प्रहरी पुग्न नसक्ने र जनशक्ति समेत कम भएकाले लागूऔषध कारोबारीले जिल्लाका अनेक नाकाहरु प्रयोग गर्दै लागूऔषध भित्र्याउने गरेको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए । बेरोजगारी, अशिक्षा तथा छिटो धनी हुने लोभमा लागूऔषध प्रयोग गर्नेहरु तथा कारोबारीको संख्यामा वृद्धि भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषध प्रयोगकर्ता पक्राउ गर्ने गरे पनि ठूलो संख्यामा कारोबारीहरुलाई पक्राउ गर्न नसकेको स्वीकार गरेको छ । कारोबारीहरुले प्रयोगकर्ता तथा केही व्यक्तिलाई पैसाको प्रलोभन देखाइ भरियाको रुपमा प्रयोग गर्दा खास कारोबारी अझै पनि पक्राउ पर्न नसकेको प्रहरी नायव उपरीक्षक चन्दले स्वीकार गरेका छन् । उनले भने– खुल्ला सीमानाको फाइदा उठाउँदै कारोबारीहरुले भरियाको रुपमा धेरैलाई प्रयोग गर्ने गरेका छन् । हामीले कारोबारीलाई पक्राउ गर्न विभिन्न अपरेशनहरु भने गरिरहेका छौं ।

पछिल्लो समय १५ वर्षदेखि १९ वर्षसम्मका उमेर समूहका किशोर–किशोरी बढी यसको जोखिममा देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाल मष्तिस्कलाई छिटै प्रभावमा पार्न सकिने भएकाले लागूऔषध कारोबारीहरुले उनीहरुको प्रयोग गर्ने गरेको पाइएको हो । अन्तर्राष्ट्रियस्तरमा नै सञ्जाल रहेको लागूऔषध कारोबारीहरुले विभिन्न माध्यमबाट लागूऔषध भित्र्याउने गरेको पाइएको हो ।

झापाको बिर्तामोड, काँकरभिट्टा, दमक, भद्रपुर लगायतका स्थान लागूऔषधको कारोबारी तथा प्रयोगकर्ताको केन्द्र रहेको प्रहरी नायव उपरीक्षक चन्दको भनाइ छ । पछिल्लो समय भारतीय नागरिकहरुले समेत नेपालमा नै आएर कारोबार गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

लागूऔषध कारोबारीहरुले महिलालाई समेत प्रभाव तथा प्रलोभनमा पारेर कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । लागूऔषधबिरुद्ध १५ वटै स्थानीय तहसँग मिलेर तथा विभिन्न संघ–संस्थासँग सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नेपाल र भारतका सुरक्षा निकायसँगको बैठकमा समेत लागूऔषध नियन्त्रण सम्बन्धी छलफल हुने गरेको भन्दै प्रहरी नायव उपरीक्षक चन्दले भने– ‘यो विषयमा भारतीय पक्ष पनि गम्भीर देखिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here