उदयपुर ।
ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सघाउने उद्देश्यले नेपाली सेनाले उदयपुरगढी पदयात्रा गरेको छ ।
नेपाली सेनाको पशुपति प्रसाद गणको आयोजनामा उदयपुरगढी गाउँपालिकाको नेपालटार बजार देखी उदयपुरगढी दरबार सम्मको पदयात्रा गरेको हो ।
नेपाली सेना १८ नम्बर बाहिनीपति सहायक रथी गौरव गुरुङ, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, प्रहरी उपरीक्षक हरीहरनाथ योगी, शसस्त्र प्रहरी उपरीक्षक सरोज बस्नेत लगाएतको ६० जनाको टोलीले ऐतिहासिक उदयपुरगढी परिसरसम्म ८ किलोमिटर भन्दा बढि पैदल यात्रा गरेको थियो ।
पदयात्रामा रहेका टोलीलाई उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर मगर र उपाध्यक्ष जीत बहादुर खड्काले स्वागत गर्नु भएको थियो । उदयपुरगढीको इतिहास र सो क्षेत्रमा जाने पदमार्गको संरक्षण गरि आगामी पुस्तालाई समेत ऐतिहासिक क्षेत्रको महत्वको सन्दर्भमा जनचेतना दिन पदयात्रा गरिएको नेपाली सेनाका पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी शिव प्रसाद वाग्लेले बताउनु भयो ।
समुद्री सतहदेखि ११ सय ६० मिटरको उचाईमा पर्ने उदयपुरगढीमा विस १३८२ मा उदयचन्द्र नाम गरेका सेनवंसी राजाले शासन गरेको कुरा ईतिहासमा पाईन्छ । उनै उदयचन्द्र सेनको नामबाट उदयपुर जिल्ला रहन गएको किंवदन्ती रहेको छ ।
नेपाली सेनाले विभिन्न समयमा पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको नीति तथा कार्यक्रममा समावेश भएबमोजिम ऐतिहासिक एकीकरण पदमार्ग तथा किनलक पदमार्गमा पदयात्रा गर्ने कार्यक्रम सेनाले राख्दै आएको छ ।