बिर्तामोड–बसपार्क समन्वय समितिको आन्दोलन फिर्ता : ५१ विगाहामा दल र उम्मेदवारलाई प्रवेश खुल्ला

0
58

 

झापा । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेको ५१ बिगाह जग्गाको रोक्का फुकुवा गर्ने र आन्दोलनरत् पक्षले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा अर्जुनधारा नगरपालिकाको कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले ६ बुँदे समझदारी गर्दै लामो समयदेखिको विवादलाई निकास दिएको हो ।


सहमतिसँगै बसपार्कको ५१ विगाहा क्षेत्रमा राजनीतिक दल र उम्मेदवारहरुलाई ‘प्रवेश निषेध’ लेखिएका होर्डिङ बोर्ड तथा व्यानरहरु हटाइएको छ । बोर्ड हटाइएसँगै दल र उम्मेदवारहरुलाई अब उक्त क्षेत्रमा मत माग्न र राजनीतिक गतिविधि सञ्चालनका लागि प्रवेश खुल्ला भएको छ । त्यहाँ शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने गरी आन्दोलनरत् पक्षले सहमति जनाएका हुन् । राजनीतिक दलहरुले पीडितलाई न्याय दिलाउन जस्तोसुकै परिस्थितिमा पनि साथ दिने प्रतिबद्धता जनाए ।

विगत लामो समयदेखि बिर्तामोड नगरपालिका–५ र अर्जुनधारा नगरपालिका वडा नम्बर ११मा रहेको जग्गा विभागीय कार्यालयबाट रोक्का भएपछि स्थानीयबासीहरू आन्दोलित थिए । उनीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गरी राजनीतिक दल र उम्मेदवारहरूलाई क्षेत्र प्रवेशमा रोक लगाउने तथा निर्वाचन सम्बन्धी गतिविधिमा निषेध गर्ने घोषणा गरेका थिए । संवाद समूह कोशीको संयोजन र सहजीकरणमा भएको बैठकमा दुवै नगरपालिकाका जनप्रतिनिधिहरूले सो जग्गा कानून बमोजिम फुकुवा गर्न सम्बन्धित निकायहरूमा विशेष पहल गर्ने र पीडितहरूको माग पूरा गर्न सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहमतिको मुख्य उपलब्धिका रूपमा बसपार्क समन्वय समितिले आजैका मितिदेखि आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिएको छ । निर्वाचन लोकतन्त्रको आधार भएको र मतदान गर्ने नागरिकको अधिकारलाई सम्मान गर्दै बसपार्क क्षेत्रमा निर्वाचन गतिविधि सञ्चालनका लागि सहज वातावरण बनाउन आन्दोलनरत पक्ष सहमत भएको हो । यससँगै ५१ बिगाह क्षेत्रभित्र राखिएका ‘प्रवेश निषेध’ सम्बन्धी सम्पूर्ण होर्डिङ बोर्ड, ब्यानर र निषेधात्मक सामग्रीहरू आजैका दिनदेखि हटाउने भएको थियो ।

यदि यो समस्या आगामी दिनमा पनि समाधान नभएमा राजनीतिक दलहरूले कानूनी उपचारको प्रक्रियामा आवश्यक साथ र सहयोग गर्ने सामुहिक ऐक्यबद्धता समेत जनाएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाहरूले आफ्नो तर्फबाट पूर्ण प्रतिबद्धता जनाएपछि क्षेत्रको तनाव मत्थर भएको हो । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र आन्दोलनका अगुवाहरूले हस्ताक्षर गरेका छन् ।

सर्वपक्षीय सहमतिमा हस्ताक्षर गर्नेहरु

उक्त सहमतिमा राजनीतिक दल, स्थानीय दलका प्रतिनिधि तथा आन्दोलनरत् पक्षले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेहरुमा प्रजिअ गेलाल, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेपाली कम्युनिष्ट पार्टी झापाका नेता भाष्कर काफ्ले, राष्ट्रिय स्वतन्त्र पार्टी अनुसन्धान आयोगका जिल्ला प्रमुख अर्जुन उप्रेती, राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा, जसपा झापा अध्यक्ष समर राई, जनमत पार्टीका झापा अध्यक्ष भोटलाल राजवंशी, लोसपा झापा अध्यक्ष अनुतसिंह राजवंशी, नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का झापा इञ्चार्ज सुमन सिंह, श्रम संस्कृति पार्टी झापा उपाध्यक्ष सम्पूण्नी लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च झापाका अध्यक्ष राजा आङ्थुपो, उज्यालो पार्टी नेपाल झापा संयोजक श्याम पाठक रहेका छन् ।

त्यस्तै बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा, अर्जुनधारा नगरपालिकाकी प्रमुख बलदेव सिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईं, अर्जुनधारा–११का वडाध्यक्ष खगेन्द्र इङ्नाम, वडासदस्य केशव अधिकारी, नापी कार्यालय झापाका प्रतिनिधि लक्ष्मणकुमार यादव र प्रमोद दाहालले समेत हस्ताक्षर गरेका छन् । आन्दोलनरत् बसपार्क समन्वय समितिकोतर्फबाट संयोजक सुजन शिवाकोटी तथा सुदीप दंगाल, संजोगी चेम्जोङ, हरि भण्डारी, भवानी कार्की, रोशन सुवेदी, पदमबहादुर तामाङ, रामकुमारी निरौला लगायतले हस्ताक्षर गरेका छन् ।
सर्वपक्षीय बैठकमा जिल्ला प्रहरी कार्यालय झापा प्रमुख बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वाटर झापाका प्रमुख अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख उमेश पाण्डे लगायतको सहभागिता थियो ।
यस्तो छ

६ बु“दे सहमति

१) झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ र अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित बसपार्क क्षेत्रको ५१ बिगाह जग्गा कानून बमोजिम खरिद गरी लामो समयदेखि नागरिकहरु बसोबास भइरहेको बारेमा सरोकारवालाहरु सबै जानकार छौं, अहिले सो क्षेत्रको जग्गा रोक्का अवस्थामा रहेकोले घडेरी तथा घरजग्गाहरु यथाशीघ्र फुकुवा गर्न माग गर्ने, पीडितहरुको माग पूरा गर्ने पहलका लागि राजनीतिक दलहरुबाट सामुहिक प्रतिवद्धता व्यक्त गर्दछौं ।

२) बिर्तामोड नगरपालिका वडा नं. ५ तथा अर्जुनधारा वडा नं. ११ को समस्या समाधान गर्न दुबै पालिकाका जनप्रतिनिधिहरूले ५१ बिगाह जग्गा तत्काल फुकुवा गर्न सम्बन्धित निकायहरूमा विशेष पहल गर्ने ।

३) लामो समयसम्म पनि समस्या समाधान नभएमा कानूनी उपचारको प्रक्रियामा राजनीतिक दलहरुबाट आवश्यक साथ, सहयोगकालागि ऐक्यबद्धता रहेको छ ।

४) निर्वाचन लोकतन्त्रको आधार भएको हुनाले मत माग्ने र मतदान गर्ने नागरिकको अधिकारको सम्मान गर्दै, आन्दोलनरत पक्ष (५१ विगाह क्षेत्रका नागरिकहरु)ले आजैदेखि आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिने, बस पार्क क्षेत्रमा निर्वाचन गतिविधि सञ्चालनका लागि नेपालको प्रचलित कानून बमोजिम शान्तिपूर्ण तथा मर्यादित राजनीतिक गतिविधि सञ्चालन गर्न सहज बनाउने ।

५) बसपार्क तथा ५१ बिगाह क्षेत्रभित्र राखिएका ‘प्रवेश निषेध’ सम्बन्धी सम्पूर्ण होर्डिङ्ग बोर्ड, ब्यानर तथा प्रतिबन्धात्मक सामग्री तथा सूचनाहरू आन्दोलनरत् पक्षबाट बसपार्क समन्वय समितिद्वारा आजै हटाइनेछ ।

६) आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहीत सम्पन्न गर्न सबै सरोकारवालाहरु प्रतिबद्ध रहेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here