‘हामी गुगलको होइन, भूगोलको उम्मेदवार हौँ’ : धर्मशीला चापागाँई

0
10

शनिश्चरे । नेपाली कम्युनिस्ट पार्टी झापा क्षेत्र नम्बर–२ की प्रत्यक्षतर्फकी उम्मेदवार धर्मशीला चापागाँईले आमूल परिवर्तन र राष्ट्रिय स्वाधीनताको एजेन्डा आफ्नो पार्टीसँग मात्रै रहेको दाबी गरेकी छन्।

अर्जुनधारा नगरपालिका–४ को रातेखालमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले दलित मुक्ति, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी अवधारणासहित संविधान निर्माण प्रक्रियामा कम्युनिस्ट आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको बताइन्। उक्त उपलब्धिलाई संस्थागत गर्दै स्थायित्व दिन देशभर सक्षम उम्मेदवार तयार गरिएको उनको भनाइ थियो।

कार्यक्रममा समानुपातिक उम्मेदवार ममता राजवंशीले वर्तमान उपलब्धिलाई आधार बनाएर समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि आफूहरू जनतामाझ आएको बताइन्।

कोणसभामा निर्वाचन परिचालन समितिका संयोजक हरिकुमार राना, अनुगमन समितिका संयोजक रणध्वज साउदेन, आर्थिक समितिका संयोजक ज्योतिसिंह दर्लामी, अर्जुनधाराकी देवकला प्रसाईं, पार्टी अध्यक्ष नारद दुःखी लगायत वाइसिएल महिला समिति, मजदुर समिति तथा किसान समितिका कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

यसैबीच उम्मेदवार चापागाँईले अर्जुनधारा–५ का विभिन्न बस्तीमा घरदैलो कार्यक्रम गर्दै आफू “भूगोलको उम्मेदवार” भएको बताइन्।

उनले भनिन्, “हामी गुगलको होइन, भूगोलको उम्मेदवार हौँ। यस क्षेत्रका समस्या र समाधानप्रति नेपाली कम्युनिस्ट पार्टीको दृष्टिकोण फरक छ।”

जनतासँगै रहने र जनतासँगै संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफू क्षेत्रको योग्य प्रतिनिधि बन्ने दाबी गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here