लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

0
27
गोरखा, 
जिल्लाको पालुङटार नगरपालिकाले सञ्चालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ देखि सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाका अधिकांश किसान आबद्ध रहेका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रमअन्तर्गत पालिकाले कृषक, कृषि समूह तथा कृषि सहकारीलाई शतप्रतिशत अनुदानमा बीउ उपलब्ध गराउँदै आइएको छ । पालिकाले किसानको इच्छाअनुसार विभिन्न प्रकारको खाद्यान्न, रैथाने र मसला बालीको बीउ उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।
“खाद्यान्नअन्तर्गत धान र मकै, रैथाने बालीअन्तर्गत कोदो, फापर, मास र कागुनो तथा मसला बालीअन्तर्गत अधुवा र हलेदोको बीउ उपलब्ध हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत बिसीले भन्नुभयो । बीउ पैँचो कार्यक्रममा कृषकको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ ।
पालिकाले उपलब्ध गराएको बीउबाट किसानले बीउ उत्पादन गर्नुपर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताउनुभयो । “निश्चित समयपछि किसानले पालिकाले अनुदानमा उपलब्ध गराएको बीउ पालिकामै फिर्ता गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “किसानले पालिकाले जतिमात्रामा बीउ उपलब्ध गराएको थियो, त्यति पालिकालाई फिर्ता गरेर बाँकी आफूखुसी बेच्न सक्नुहुन्छ ।” यसरी किसानले फिर्ता गरेको बीउ पुनःअन्य किसानलाई उपलब्ध गराएर बीउ पैँचो कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
“सुरुको वर्षमा किसानलाई आवश्यकपर्ने बीउ बाहिरबाट ल्याउनुपर्ने हुन्छ । विस्तारै यही उत्पादन बढ्न थालेपछि किसानबीच बीउ पैँचोको अभ्यास सुरु हुन्छ”, उहाँले भन्नुभयो । पालुङटारले किसानसँग बीउ पैँचो कार्यक्रमका लागि चालु आव २०८२/८३ मा रु दुई लाख विनियोजन गरेको छ । पालिकाले हाल कार्यक्रम जारी गरेर इच्छुक किसानलाई कार्यक्रममा आबद्ध हुन सूचना प्रकाशन गरिसकेको छ ।
गत वर्ष कार्यक्रममा आबद्ध भएका किसानले बीउसमेत फिर्ता गरिसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसीले उल्लेख गर्नुभयो । कार्यक्रम किसानको मागमा आधारित हुन्छ । विशेषगरी पालिकाको रैथाने बाली प्रवर्द्धन गर्न, कृषकको जीविकोपार्जनमा सहयोग पुर्‍याउन र पालिकालाई बीउमा आत्मनिर्भर बनाउन ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here