टेम्पो चलाएर मासिक ५० हजार

0
427

झापा, वैशाख १३ । अर्जुनधारा नगरपालिका–७का अम्विकाप्रसाद घिमिरे वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा आठ वर्ष तीन महिना र कतारमा आठ वर्ष ९ महिना वसेर स्वदेश फर्किए ।
२० महिना अघि स्वदेश फर्किएका उनी अहिले टेम्पो चलाउँछन् । झापाका ग्रामीण क्षेत्रदेखि शहरका गल्ली गल्लीमा उनी टेम्पो गुडाउँछन् । टेम्पो चलाएरै उनले विदेशको भन्दा राम्रो कमाई गरिरहेका छन् । पुनः विदेश फर्किने सोचका साथ छुट्टीमा घर आएका घिमिरेले शुरुमा एउटा टेम्पो किने । बजाज कम्पनीको टेम्पो किनेर चलाउन शुरु गरेका उनले तीन महिना अघि पुनः अर्काे टेम्पो किनेका छन् ।
दैनिक दुई हजारको हाराहारीमा कमाई हुन थालेपछि उनको विदेशप्रतिको मोह टरेर गयो । घरमै बसेर मासिक ५० हजार भन्दामाथि कमाई गर्न थालेपछि १७ वर्ष विदेशमा श्रम र पसिना बगाएका घिमिरे नेपाललाई नै स्वर्ग देख्न थालेका छन् । विहान आठ नबज्दै टेम्पो लिएर निस्किएका उनी बेलुका घर फर्कदा गोजीभरि पैसा लिएर पुग्छन् । खर्च कटाएर मासिक ५० हजारमाथि कमाई गर्न थालेपछि उनी अहिले दंग छन् ।
घिमिरेकी श्रीमती रञ्जनाका दुवै मृगौला खराब छन् । १५ महिना अघिदेखि उनकी श्रीमती विरामी परेपछि श्रीमतीको ओषधि उपचारका लागि उनले १० लाख रुपैयाँ खर्च पनि टेम्पो कुदाएरै जुटाए । श्रीमतीको उपचार उनी अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिरहेका छन् । उनले १० वर्षीया छोरीलाई निजी विद्यालयमा अध्ययनका लागि आवश्यक पर्ने खर्च समेत टेम्पोबाटै जुटाएका छन् ।
मृगौला खरावीका कारण श्रीमतीको रेखदेखसंगै घरमै बसेर मनग्य आम्दानी गर्न थालेपछि उनले विदेशिने युवालाई स्वदेशमै रोजगारीको बाटो खोज्न सल्लाह दिए । आफ्नो सफलतामा बजाज कम्पनीका तीन पाङ्ग्रे टेम्पोका बिक्रेता हलेंसी ट्रेड लिङ्कका सञ्चालक चूडामणि पौडेलको हात रहेको उनले बताए । म विदेश फर्किने सोचमा घर आएको थिएँ घिमिरेले भने–यही टेम्पो चलाउन चूडामणि दाइले सल्लाह दिएपछि मैले टेम्पो चलाउन शुरु गरेको हुँ ।
स्वदेशमा रोजगारी पाइएन भनेर विदेशिने युवाको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा अर्जुनधाराका पौडेल प्रतिनिधि पात्र मात्रै हुन् उनी जस्ता धेरैले यही टेम्पो कुदाएरै जीवन निर्वाह गरिरहेका छन् भने भाडामा टेम्पो चलाउँदै आएका कतिपयले आफैं टेम्पो किनेर मनग्ये आम्दानी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here