बिर्तामोडका ममता मिष्ठान्न र धिमाल खाजा घरमा किरा फेला

0
457

झापा।

बिर्तामोडमा सञ्चालित ममता मिष्ठान्न भण्डार र धिमाल खाजा घरमा किरा फेला परेको छ । बिर्तामोडका विभिन्न होटलमा सरोकारवाला निकायबाट भएको अनुगमनका क्रममा किराफेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले जानकारी दिए ।

उनका अनुसार ममता मिष्ठान्न भडारमा भान्सा फोहोर रहेको र जेरी बनाउन प्रयोग गरिने मैदामा किरा फेला परेको थियो । वनस्पति घिउको बट्टामा भिजाएर राखिएको मैदामा किरा फेला परेको बताइएको छ । फोहोर बट्टालाई पटक–पटक प्रयोगमा ल्याइएका कारण यस्तो भएको हुन सक्ने प्रमुख अधिकृत पुरीले बताए । ममताले भन्सा कोठामा नै लुगा समेत सुकाउने गरेको अनुगमनका क्रममा फेला परेको थियो ।


त्यस्तै धिमाल खाजा घरमा फ्रिजमा किरा भेटिएको थियो । भान्सा सफा गर्नु पर्नेमा भान्सामा नै प्रयोगमा रहेको फ्रिजमा किरा फेला पर्नु अत्यन्तै नराम्रो भएको खाद्य अधिकृत पुरीले बताए । उनले किरा फेला परेका होटलहरुलाई तुरुन्त सफा गर्न निर्देशन दिएको र केही दिनमा गरिने अनुगमनमा सुधार नगरेको पाइएमा कडा कारबाही गर्ने बताए । अनुगमनका क्रममा आशिर्वाद फ्रेण्ड क्याफेको भान्सा फोहोर र अव्यवस्थित फेला परेको थियो ।

भान्सामा प्रयोगमा आएका खाद्य वस्तुबाट संक्रमणको जोखिम धेरै रहेकोले तत्काल सुधार गर्न निर्देशन दिएको पुरीले बताए । केही होटलमा मासु पकाउन प्रयोग गरिएका तेलहरु लामो समयदेखि एउटै प्रयोग गरिएका पाइएकाले तत्काल नष्ट गर्न लगाएको र एकपटकलाई सचेत गराइएको उनले जानकारी दिए ।

बिर्तामोडमा वैशाख १६, १७ र २० गते विभिन्न होटलहरुमा अनुगमन गरिएको थियो । बिर्तामोडका ३३ वटा होटलको अनुगमन गर्दा अधिकांश होटलले खाद्य स्वच्छताका लागि न्यूनतम् मापदण्ड समेत पूरा नगरेको पाइएको खाद्य अधिकृत पुरीले बताए । अनुगमनका क्रममा होटलमा राखिएका फ्रिजमा पाकेको र पकाउनुपर्ने सबै खानेकुरा एकै ठाउँमा राखिएको, भान्सामा न्यूनतम् मापदण्डको कमी रहेको, फोहोर राख्ने डस्टविन खुल्ला राखिएको, सरसफाईमा समेत कमी देखिएको पाइएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने निर्देशिका बमोजिम झापामा स्थानीय खाद्य स्वच्छता समूह बनाएर अनुगमन थालिएको हो ।


कार्यालयका प्रमुख पुरीका अनुसार होटलको बर्गीकरण गर्ने तथा खाद्य स्वच्छतामा कुन स्तरको छ भनी अनुगमन गरिएको होटलमा स्टीकर लगाइन्छ । यदि कुनै होटलले अति उत्तम र उत्तम स्टीकर पाएमा त्यहाँको खानाको स्वच्छता सुनिश्चित मानिने उनले बताए । होटलमा गुणस्तरीयता र ताजा खानेकुरा पाउनुपर्नेमा जोड दिँदै अनुगमन टोलीका संयोजक होटल व्यवसायी संघ झापाका अध्यक्ष भोलानाथ उप्रेतीले उपभोक्ता सचेत हुनुपर्नेमा जोड दिए । सुरक्षाकर्मीसहित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, बिर्तामोड नगरपालिका प्रतिनिधि, उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधि, उद्योग वाणिज्य संघ बिर्तामोडका प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेको खाद्य अधिकृत पुरीले जानकारी दिए ।

बिर्तामोडमा मात्र दुई हजारभन्दा बढी र झापामा दश हजारभन्दा बढी होटल रहेको तर, अधिकांश होटलले खाद्य स्वच्छताको मापदण्ड समेत पूरा नगर्दा समस्या देखिएको बताइएको छ । होटलहरुलाई अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य लेखिएको खाद्य स्वच्छता स्तर मापनको स्टीकर प्रदान गर्ने बताइएको छ । होटलले पाएको स्टीकरको आधारमा उपभोक्ता सचेत बनी कुन होटलमा खान ठीक छ या छैन भनी निक्र्यौल गर्न सक्ने बताइन्छ । अति उत्तमले तीन वटा तारा, उत्तमले दुईवटा र सन्तोषजनकले एउटा तारासहितको हरियो स्टीकर पाउने छन् भने सन्तोषजनकले पहेंलो स्टीकर पाउने छन् ।

टोलीले बिर्तामोडको कलकत्ता मिष्ठान्न भण्डार, श्याम मिष्ठान्न भण्डार एण्ड गेष्ट हाउस, न्यूसेन्टर पोइन्ट थकाली किचन एण्ड पार्टी प्यालेस, ओसियन रेष्टुरेन्ट लज एण्ड पार्टी प्यालेस, काराभास रेष्टुरेन्ट एण्ड बार, होटल कमलको अनुगमन गरेको थियो । त्यस्तै इलामेली बुढाथोकी होटल एण्ड लज, झापा होटल एण्ड लज, फिक्कल होटल, न्यूग्लोबल होटल एण्ड लज, ग्रीन एप्पल सेकुवा कर्नर, इलाम–पाँचथर–ताप्लेजुङ क्याटरिङ लगायतका होटलको पनि अनुगमन गरिएको बताइएको छ ।

कतिपय होटलले आन्तरिक राजश्व कार्यालयमा नवीकरण नगरेको, स्थानीय तहमा दर्ता समेत नगरेको, बिना अनुमति मदिरा बिक्री गरेको पाइएको अनुगमनमा संलग्न बिर्तामोड नगरपालिकाकी सदस्य भागीरथा आचार्यले बताइन् । बिर्तामोडमा अनुगमन गरिएका होटलहरुलाई एकपटक सचेत गराइएको र अब स्टीकर बितरण गर्दा समेत सुधार नगरे कानून अनुसार ५० हजार जरिवना, ५ वर्ष कैद वा दुवै सजाय हुने ऐनमा ब्यवस्था रहेको बताइएको छ । झापाका सबै होटलहरुको खाद्य स्वच्छता समूह बनाएर अनुगमन गर्ने खाद्य अनुसन्धान अधिकृत पुरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here