खाद्य सामग्रीको प्रयोगमा सावधानी अपनाउन आग्रह

0
655

बिर्तामोड।

बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले खाद्य सामग्रीमा सामान्य सावधानी मात्रै अपनाए विषादिको मात्रा घटाउन सकिने बताएका छन् ।

बिर्तामोडमा आयोजित उपभोक्ता अधिकार तथा स्थानीय बजार व्यवस्थापन सम्बन्धी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारीले एक लिटर पानीमा एक चम्चाका दरले आयोनुन राखी आधा घण्टा डुबाएर खाए फलफूल र सागसब्जीमा भएको विषादिको ७० प्रतिशत अवशेष हट्ने बताए । नेपाल सरकार संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम मार्फत गरिएको एक अनुसन्धानबाट त्यस्तो तथ्य आएको उनले जानकारी दिए ।

यसअघि घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेको बजार अनुगमनको जिम्मेवारी समेत आगामी आर्थिक वर्षदेखि स्थानीय निकायलाई प्राप्त हुने बताउँदै भण्डारीले स्रोत, साधन र दक्ष जनशक्तिको अभावका कारण बजार अनुगमन चुनौतिपूर्ण रहेको बताए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि ध्रुवकुमार शिवाकोटीले बिर्तामोड नगरपालिकाले विषादिमुक्त नगर बनाउन पहल थालेको बताउँदै अधिकारको समुचित बाँडफाँडले मात्रै लोकतन्त्रको प्रत्याभूति हुने बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श प्रदेश नं. १ का अध्यक्ष राजेन्द्र घिमिरेले कार्यान्वयन पक्ष हेरेर मात्रै नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. १० का अध्यक्ष दूर्योधन गुरुङ, कर्मचारी देवराज कार्कीलगायतले मन्तव्य राखेका थिए । पवित्रा पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन काजी दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here