सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल
बिर्तामोड,
कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिन तीन सातादेखि मुलुक लकडाउनमा छ । मुलुक लकडाउन भएसंगै सबै तिर ठप्प छ । सरकारले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सबै नागरिकलाई घर– घरमै बस्न आग्रह गरिरहेको छ ।
लकडाउनको समयमा विपन्न समुदायका नागरिकलाई भने दैनिक गुजारा चलाउन समस्या परेको भन्दै सबैजसो स्थानीय तहले अहिले विपन्न परिवारको पहिचान गर्दै घर– घरमै राहतका सामग्री पु¥याइरहेका छन् । गत चैत ११ गतेदेखि एक साताका लागि गरिएको लकडाउनको समय लम्बिदै जाँदा बितरण गरिएको राहतका सामग्री सकिएपछि अहिले मजदुर लकडाउनको समयमा पनि दैनिक ज्यालादारी गर्न बाध्य भएका छन् ।

अर्जुनधारा नगरपालिका वडा नम्वर ५ सुकुम्वासी टोलकी ५८ वर्षीया कुञ्जमनी राजवंशी लकडाउनको यो समयमा पनि अहिले उखु गोडेर परिवारको गर्जाे टार्नु हुन्छ । अर्जुनधारा – ५ स्थित ज्ञानवहादुर भारतीले लगाएको उखु वगानमा उखु गोड्नु उहाँको दैनिकी हो । उखु गोडेर पाएको दैनिक तीन सय ५० रुपैयाँ ज्यालाले परिवारको अत्यावसकीय गर्जाे टार्नु उहाँको बाध्यता हो ।
विहीवार मध्यान्नको टन्टलापुर घाममा उखु गोड्दै गरेको अबस्थामा भेटिनुभएकी राजवंशीले यो उमेरमा पनि फरुवा चलाएर (उखु गोडमेल ) पेट पाल्नु आफ्नो बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘दिनदिनै काम नगरी खान पाइदैन, सबैतिर बन्द भन्छन् अस्ती वडाले चामल त दिएको थियो तर, सात दिनमै सकिएपछि काम गर्न आएकी हुँ ।’
वडाका मान्छे भन्छन् घरबाट बाहिर नजानु, हामी गरिवलाई उनीहरुले दिएको त्यो १० किलो चालमलले यत्रो दिन पुग्छ, खाने अन्न नभएपछि काम गर्न आएकी हुँ राजवंशीले भन्नुभयो – ‘विहान चिया पनि नखाई आएकी छु १२ बज्यो अब घर गएर केही रहेछ भने खान्छु ।’

उहाँको जस्तै समस्या छ अर्जुनधारा – ५ सुकुम्वासी टोलका मणिकुमार रसाइली र तीर्थवहादुर लोहारको पनि । उहाँहरु पनि परिवार पाल्नकै लागि अहिले दैनिक ज्याला मजदुरी गर्नु हुन्छ । फरुवा खनेरै सात जनाको परिवार पाल्दै आउनुभएका मणिकुमारले भन्नुभयो – उखु वगानमा एक दिन पनि काम गर्न छुटाएभने परिवारलाई के खुवाउने भन्ने चिन्ताले पिरोल्छ । २०४८ सालदेखि आफूले यसैगरी ज्याला मजदुरी गर्दै परिवार पाल्दै आएको उहाँले बताउनुभयो । छोराहरु सानै छन् काम नगरी सुख छैन मणिकुमारले भन्नुभयो –‘हामी सुकुम्वासीलाई कस्ले हेर्छ र हाम्रो साहरा भनेकै फरुवा हो ।’
राजवंशी, लोहार र रसाइली अर्जुनधाराका सुकुम्वासी समुदायका प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्ता धेरैजना अहिले कलडाउनको समयमा पनि जिविका चलाउन दैनिक ज्याला मजदुरी नै गरिरहेका छन् । अझ ग्रामीण क्षेत्रका विपन्न समुदायका नागरिक यो समयमा उखु, मकै गोडमेल जस्ता काममा व्यस्त हुने गरेका छन् ।
झापाका १५ वटा स्थानीय तहले तीस हजार भन्दा बढी परिवारलाई राहतका सामग्री वितरण गरेपनि केही स्थानीय तहले एक साताका लागि मात्र राहत सामग्री विरण गरेकाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई यो सयमा समस्या भएको छ । मजदुरलाई दैनिकी चलाउन नै समस्या परेपछि केही स्थानीय तहले पुन ः दोस्रो चराणको राहत सामग्री बितरणको तयारी गरिरहेका छन् । गौरादह नगरपालिकाले भने विपन्न समुदायका लागि दोस्रो चरणको राहत सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिनुभयो ।
उता उखु किसानको पीडा पनि उस्तै छ । ३५ विगाह क्षेत्रफलमा लगाएको ग्यामेरा प्रजातिको (जुस बनाउने) उखु काट्ने र विक्री गर्ने समयमा लकडाउन भएपछि मजदुर लगाएर उखु फाड्नु पर्ने अबस्था आएको कृषक ज्ञानवहादुर भारतीको भनाई छ ।

उखु बेच्नु पर्ने समयमा लकडाउन हुँदा वारीमै उखु सुकेको भन्दै लकडाउनका कारण आफूलाई ३५ लाख रुपैयाँ घाटा भएको उहाँको भनाई छ । काठमाडौं, पोखरा लगायतका ठाउँमा उखु विक्री गर्ने आफ्नो मुख्य बजार भएको र लकडाउनका कारण उखु विक्री गर्न नपाउँदा मजदुर लगाएर उखु फाड्नु पर्ने अवस्था आएको ज्ञानवहादुरले बताउनुभयो ।
कडाउनका कारण उखु नबिकेपछि कतिपय कृषकले भने अहिले उखु बगानमै आगो लगाएर उखु मासेका छन् । नयाँ सालका लागि उखुका बिरुवा लगाउने समय भएको भन्दै उनीहरुले उखु मासेका हुन् । भारतीले पनि ३५ विगाह क्षेत्रफलमा लगाएको उखु यो वर्ष बेच्न नपाएपनि अर्काे वर्षका लागि पुन १५ विगाह क्षेत्रफलमा उखु लगाउनुभएको छ ।































